काठमाडौँ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले हालै एप्पलका पूर्व मुख्य डिजाइनर जोनी आइभको स्टार्टअप आईओ (io) किन्न लागेको घोषणा गर्दै प्रविधि क्षेत्रलाई आश्चर्यचकित पारे । ओपनएआईले आईओ किन्न ६.५ अर्ब डलर खर्च गर्ने जानकारी दिइएको छ ।
यस घोषणापछि एप्पलको शेयर मूल्यमा २.३ प्रतिशतले गिरावट आएको छ । प्रविधि क्षेत्रमा प्रभावशाली व्यक्तित्व मानिने अल्टम्यान र आइभबिचको सहकार्यलाई विश्लेषकहरूले अनौठो र आशाजनक ठानेका छन् ।
जोनी आइभले आईपड, आईफोन, आईप्याडदेखि एयरपड्ससम्मका चर्चित एप्पल उत्पादनहरूको डिजाइनमा भूमिका खेलेका थिए । उनले एप्पलका सह-संस्थापक स्टिभ जब्ससँग मिलेर विश्व बदल्ने उत्पादनहरूमा काम गरिसकेका छन् ।
२०१९ मा एप्पलबाट अलग भएपछि आइभले ‘लभफ्रम’ (LoveFrom) नामक आफ्नै डिजाइन कम्पनी स्थापना गरेका थिए । हाल ओपनएआईले ‘लभफ्रम’ नकिन्ने तर आइभकै नेतृत्वमा रहेको ‘आईओ’ नामक स्पिन-अफ कम्पनीलाई खरिद गर्ने बताएको छ ।
‘आईओ’ मा एप्पलका तीन पूर्वकर्मचारीसहित ५५ कर्मचारी छन् । अब उनीहरूले ओपनएआईको नयाँ हार्डवेयर डिभिजनमा काम गर्नेछन् । सो डिभिजनको नेतृत्व पिटर वेलिन्डरले गर्नेछन् ।
ओपनएआईले निर्माण गर्न लागेको नयाँ उत्पादन कस्तो हुनेछ भन्ने खुलाइएको छैन । तर कम्पनीले यसलाई सन् २०२६ को अन्त्यमा सार्वजनिक गर्ने योजना बनाएको छ । अल्टम्यानका अनुसार यो नयाँ एआई उपकरण पूर्ण रूपमा प्रयोगकर्ताको परिवेशबारे सचेत रहने र अघिल्लो पुस्ताका कुनै पनि उपकरणभन्दा फरक तथा प्रभावशाली हुने अपेक्षा गरिएको छ ।
प्रारम्भिक संकेतअनुसार यो उत्पादन न त स्मार्टफोन, न चस्मा, न घडीजस्तो हुनेछ । कतिपयले यसलाई ‘Humane AI Pin’ जस्तै स्क्रिनविहीन उपकरणको परिकल्पना गरेका छन् । तर आइभले यस्ता उपकरणहरूलाई निकै कमजोर भनेका छन् । एआईमा ओपनएआईको अनुभव र हार्डवेयरमा आइभको डिजाइन क्षमताले यस परियोजनाप्रति ठुलो उत्सुकता देखिएको छ । तर प्राविधिक चुनौतीहरू पनि छन् ।
क्लाउडमा आधारित प्रणाली हुने हो भने उपकरण इन्टरनेट नहुँदा प्रयोग गर्न नसकिने र ढिलाइ देखिने सम्भावना प्रबल छ । प्रविधि विश्लेषकहरूका अनुसार अल्टम्यान–आइभको सहकार्यले स्मार्टफोनको विकल्प बन्न सक्ने नयाँ युगको सुरुवात हुन सक्छ । तर मोबाइल फोनको बलियो उपस्थितिलाई हटाएर नयाँ मापदण्ड स्थापित गर्न सक्नेछ वा सक्दैन भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।