काठमाडौं । आजकाल अनलाइन बजारमा निकै सस्ता र उच्च क्षमताका स्टोरेज डिभाइस बिक्रीका लागि राखेको देखिन्छ । खासगरी मोबाइल र कम्प्युटरमा सपोर्ट हुने पेनड्राइभ, हार्ड डिस्कहरू सस्तोमा बिक्रीका लागि राखिएको पाइन्छ ।
केहीले मूल्य नै कम राखेका हुन्छन् भने केहीले अत्यधिक छुट अफरमा उपलब्ध गराइरहेका हुन्छन् । यस्ता अफर हेर्दा आकर्षक लागे पनि यी प्रायः वास्तविकता भन्दा धेरै टाढा हुन्छन् ।
धेरै उपभोक्ता यस्ता आकर्षक अफर देखेर लोभिन्छन् । उनीहरूले यी डिभाइस खरिद गरिसकेपछि आफ्नो कम्प्युटरमा जोड्दा विज्ञापन गरे अनुसारकै क्षमता पनि देखिन्छ । सुरुमा केही साना फाइल सजिलै राख्न सकिन्छ । यसले गर्दा उनीहरूलाई यो डिभाइस सक्कली नै हो भन्ने भ्रम पर्छ र तुरुन्तै फाइभ स्टार रिभ्यु दिन्छन् ।
तर, जब उनीहरूले उक्त डिभाइसको उल्लेख भएको सबै स्टोरेज खपत गर्न खोज्छन् त्यतिबेला वास्तविक समस्या देखिन्छ । वास्तवमा त्यस्तो डिभाइस एकदमै कम क्षमताको हुन्छ । त्यसभन्दा बढी स्टोरेजको डेटा राख्न खोज्दा फाइल बिग्रिन (corrupt) थाल्छन् । उदाहरणका लागि ‘२ टीबी’ स्टोरेज भनिएको हार्ड डिस्कको क्षमता जम्मा १५ जीबी मात्र हुन सक्छ । साथै यूएसबी ३.० भनेर विज्ञापन गरिए पनि त्यसको भित्री भागमा सक्कली यूएसबी ३.० पोर्टमा हुनुपर्ने आवश्यक पिन नै नहुन सक्छन् । यस्ता किसिमका ठगी बाहिरी देशमा अत्यधिक बढेका छन् ।
नेपालमा पनि स्टोरेज डिभाइस खरिद गर्दा प्रयोगकर्ता ठगीको जोखिममा पर्ने सम्भावना छ । त्यस्तै उच्च स्टोरेज क्षमताको डिभाइस सस्तोमा उपलब्ध गराउन थालेको छ भने शङ्का गर्नुपर्छ । ती डिभाइस परीक्षण गर्नका लागि ‘एचडी ट्युन’ र भ्याली ड्राइभ जस्ता सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ । यी सफ्टवेयरले तपाईंले परीक्षण गर्न लागेको स्टोरेज डिभाइसको वास्तविक स्टोरेज कति हो, त्यसमा कति प्रयोग गर्न मिल्छ, कति मिल्दैन भन्ने देखाइदिन्छन् ।
यस्ता ठगीबाट बच्न सधैं आधिकारिक वितरक वा विश्वसनीय बिक्रेताबाट मात्र सामान खरिद गर्नुहोस् । त्यस्तै कुनै पनि सामान किन्नुअघि त्यसको समीक्षा हेर्नुहोस् । खासगरी नकारात्मक रिभ्यु (जसमा फाइल बिग्रिएको कुरा उल्लेख गरिएको हुन्छ) लाई ध्यान दिएर पढ्नुहोस् । केहीगरी कम क्षमता र गुणस्तरको स्टोरेज डिभाइस खरिद गर्नुभयो र त्यसलाई प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो महत्त्वपूर्ण डेटा राख्नुअघि त्यसको आधिकारिकता र स्वास्थ्य जाँच गर्न भेरिफिकेसन सफ्टवेयरको प्रयोग गर्नुहोस् ।