काठमाडौँ । एप्पलले आफ्ना सफ्टवेयर अपडेटको नाम राख्ने तरिकामा ठुलो परिवर्तन गर्ने तयारी गरेको छ । ब्लुमबर्गले बुधबार एक रिपोर्ट प्रकाशित गर्दै एप्पलले अपरेटिङ सिस्टमको नाममा ल्याउन लागेको परिवर्तनबारे खुलासा गरेको हो ।
ब्लुमबर्गका पत्रकार मार्क गर्म्यानका अनुसार विन्डोजको सिको गर्दै एप्पलले आफ्ना अपरेटर सिस्टममा वर्षको अन्तिमका दुई अङ्क राख्ने तयारी गरेको छ । यो परिवर्तन लागु भएको खण्डमा सन् २०२५ को अन्त्यतिर आउने एप्पलको नयाँ मोबाइल अपरेटिङ सिस्टम आईओएस १९ नभई सोझै आईओएस २६ हुनेछ ।
NEW: Apple will announce its biggest ever software rebrand at WWDC, tied to operating system redesigns. Apple is moving from version numbers to years (like Windows in the 90s). The new OSs: iOS 26, iPadOS 26, macOS 26, visionOS 26, tvOS 26, watchOS 26. https://t.co/bS4CksGkqW
यो नयाँ प्रणाली सन् २०२६ लाई लक्षित गरी २०२५ मा सार्वजनिक गरिने ब्लुमबर्गले उल्लेख गरेको छ । जसरी नयाँ कार मोडल एक वर्षअगाडि नै घोषणा गरिन्छन्, त्यसरी नै एप्पलले आफ्नो सफ्टवेयर अपडेट घोषणा गर्ने योजना बनाएको छ ।
ब्लुमबर्गले अज्ञात स्रोतलाई उद्धृत गर्दै ‘यो परिवर्तन आईओएसमा मात्र सीमित नभई एप्पलका अन्य अपरेटिङ सिस्टमहरूमा पनि लागु हुने’ उल्लेख गरेको छ । यसअनुसार आईप्याडओएस २६, म्याकओएस २६, वाचओएस २६, टिभीओएस २६ र भिजनओएस २६ जस्ता नाम प्रयोगमा आउनेछन् ।
एप्पलका सबै उत्पादनको नाममा एकरूपता ल्याउन र प्रयोगकर्तामा नामलाई लिएर हुने भ्रमलाई हटाउन कम्पनीले यस्तो रणनीति अपनाउन लागेको हो । हाल एप्पलका विभिन्न अपरेटिङ सिस्टमका भर्सन नम्बर फरक-फरक छन् । जस्तै आईफोनका लागि आईओएस १८, वाचका वाचओएस १२, म्याकका लागि म्याकओएस १५ र भिजन प्रोका लागि भिजनओएस २ छ । यी सबै सफ्टवेयर समयको मागसँगै फरक फरक समयमा सुरु भएका हुन् । त्यसैले हरेकको नाम भर्सन अनुसार फरक फरक हुँदै आएको छ ।
कम्पनीले यो नाम परिवर्तन र आफ्ना विभिन्न डिभाइसमा नयाँ युजर इन्टरफेसको घोषणा आगामी वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा गर्ने अपेक्षा गरिएको छ । सामसङ र माइक्रोसफ्टले पनि पहिले नै वर्षमा आधारित नामकरण प्रणाली प्रयोग गरिसकेका छन् ।
यद्यपि ब्लुमबर्गको रिपोर्टमा आईफोनको नाम परिवर्तन गर्नेबारे केही उल्लेख गरिएको छैन । हालको आईफोन १६ पछि सेप्टेम्बरमा आईफोन १७ नै आउने अपेक्षा गरिएको छ । पछिल्लो समय सोही मोडेलको सबैभन्दा पातलको फोन आईफोन १७ एयर आउने चर्चा छ ।