काठमाडौँ । नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा राइड शेयरिङ शब्दलाई गलत रूपमा परिभाषित गरिएको अभिव्यक्ति दिएका छन् । टेकपानासँगको कुराकानीमा उनले नेपालमा राइड शेयरिङको नाममा व्यावसायिक सेवा प्रवाह भइरहेको प्रति आपत्ति जनाएका हुन् ।
"राइड शेयरिङ भनेको एप अन गरेर सडकमा यात्रु कुर्ने सेवा होइन," अध्यक्ष स्वाँरले तर्क गरे, "यो त एउटा सुविधा हो, जसमा आफ्नो गन्तव्यतर्फ जाँदै गर्दा खाली सिटमा सोही दिशामा जाने कोही यात्रुलाई लिएर जानु हो । तर नेपालमा यसलाई पूर्ण रूपमा व्यावसायिक रूपमा अँगालिएको छ ।"
महासङ्घ राइड शेयरिङको विरोधमा नभएको तर रातो नम्बर प्लेटलाई पेसागत रूपमा सार्वजनिक सवारीको रूपमा प्रयोग गर्न दिने निर्णयको विरोध गरिएको उनले स्पष्ट पारे । "मन्त्रीदेखि मिडिया सबैले यो त राम्रो प्रविधि हो, यसलाई ल्याउनुपर्छ भन्छन् । तर नेपालमा भने यसको परिभाषा नै गलत रूपमा गरिएको छ । पेसाको हिसाबले जाने हो भने सार्वजनिक सवारीको जस्तै नीति नियम मानेर जानुपर्छ । रातो नम्बर प्लेट प्रयोग गरेर सेवा दिन पाइँदैन," उनले थपे ।
अध्यक्ष स्वाँरका अनुसार महासङ्घले सङ्घ, प्रादेश र स्थानीय सरकारबिच समन्वय गरी राइड शेयरिङसम्बन्धी नीति बनाउन र फास्ट ट्रयाकमा कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । अहिलेको अव्यवस्थित प्रणालीले व्यावसायिक यातायात क्षेत्रलाई अप्ठ्यारोमा पारेको महासङ्घको ठहर छ ।