close

गर्मीको घरेलु समाधान ! नेपाली इन्जिनियरले बनाए बत्ती नभएको बेलामा पनि चल्ने ‘घैँटे कुलर’

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

जेठ २१, २०८२ २०:०

गर्मीको घरेलु समाधान ! नेपाली इन्जिनियरले बनाए बत्ती नभएको बेलामा पनि चल्ने ‘घैँटे कुलर’

काठमाडौँ । नेपाली इन्जिनियरहरूले स्थानीय सामाग्री प्रयोग गरेर कुलर बनाएका छन् । घरेलु तथा व्यावसायिक प्रयोजनका सामग्री बनाउँदै आएको पर्साको कम्पनी ‘हस्क पावर नेपाल’ का इन्जिनियरले घैँटो, गाईको गोबर र ब्याकअप ब्याट्री प्रयोग गरेर कुलर निर्माण गरेका हुन् । 

ब्याट्री फुल चार्ज गरेर प्रयोग गर्दा यस कुलरले चार घण्टाभन्दा लामो समयसम्म ठन्डा बनाइराख्ने कम्पनीका प्रबन्ध निर्देशक मनोज कुमार गुप्ताले बताए । वायुपङ्खी चुलो निर्माण गर्दै आएको यस कम्पनीले पहिलो पटक घैँटो प्रविधि तयार पारेको हो ।

गुप्ताले भने, “यो कुलर हामीले स्थानीय स्रोत र सामाग्री प्रयोग गरेर तयार गरेका हौँ । यसलाई घरमा पनि मानिसहरू आफैँले बनाउन सक्छन् ।”

पर्साको अत्यधिक गर्मी र बारम्बार बत्ती जाने समस्याले गर्दा यस्तो कुलर निर्माणको आवश्यकता महसुस भएको उनले सुनाए । “जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि खोजिन्छ । हामीले गर्मीको समाधानका लागि यो बनाएका हौँ,” उनले थपे । 

गुप्ताका अनुसार प्रारम्भमा यो कुलर परीक्षणका लागि मात्र बनाइएको थियो । तर, यसको प्रभावकारिता र सस्तो मूल्यका कारण बजारमा माग बढ्न थालेको छ । “सुरुमा परीक्षणकै लागि बनाएका थियौँ । अहिले भने करिब २०० ओटा अर्डर भइसकेको छ । मागअनुसार उत्पादन गरेर बिक्री गरिरहेका छौँ ।” कम्पनीले यसको मूल्य करिब दुई हजार रुपैयाँ राख्ने योजना बनाएको छ । 

कस्तो छ घैँटे कुलर 

घैँटोको सतहमा स-साना छेद बनाएर चिसो हावा बाहिर आउने व्यवस्था गरिएको यो कुलरको बाहिरी भागमा गाईको गोबरको पेस्ट लगाएर रङ दलिएको छ । गुप्ताका अनुसार यसले कुलरलाई फङ्गसबाट सुरक्षित राख्छ । “गोबरको पेस्टले गर्दा अन्य इलेक्ट्रिक कुलरहरूमा देखिने फङ्गस र स्वास्थ्यमा पर्ने असरबाट जोगिन सकिन्छ,” उनले भने ।

वासना र स्वच्छताका लागि पानीमा ग्रास लेमन राख्न सकिने सुझाव पनि उनले दिए । हाल उपलब्ध कुलरले करिब आधा घण्टादेखि ४५ मिनेटभित्र कोठा चिसो बनाउने गर्छ । यदि फ्रिजमा राखिएको बरफ प्रयोग गरियो भने यो अझ प्रभावकारी हुन्छ ।

सामान्यतः १०x१२ फिटको कोठाका लागि एउटा कुलर पर्याप्त हुन्छ । यदि कोठा ठुलो भएमा थप कुलर प्रयोग गर्न सकिने उनले बताए । गुप्ताका अनुसार यो कुलर विद्युत नहुँदा पनि चार घण्टासम्म चल्न सक्छ । “बजारमा ३०-४० हजार रुपैयाँ खर्च गरेर ल्याइने कुलरभन्दा यो धेरै सस्तो, प्रभावकारी र सहज विकल्प हो,” उनले भने ।

यस्तै, आफैसँग सीप भएमा घरमै पनि यस्तो कुलर बनाउन सकिने उनले बताए । गुप्ता अगाडि भन्छन्, “ब्याकअप ब्याट्री अलि महँगो पर्न जान्छ । अरू सामान घरकै प्रयोग गरेर पनि यस्तो कुलर बनाउन सकिन्छ ।”

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २०:१८