close

दूरसञ्चार संस्थानको पैसा जोगाउँदा उल्टै तक्मा खोसियो

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १४:५२

दूरसञ्चार संस्थानको पैसा जोगाउँदा उल्टै तक्मा खोसियो

श्री ५ को सरकारको २०४२ आसार १२ गतेको निर्णयअनुसार नेपाल दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम) मा महाप्रबन्धकमा दुई वर्षका लागि मेरो नियुक्ति भयो । नियुक्तिपत्र पाएपछि म दूरसञ्चार संस्थानमा काम गर्न थालेँ । 

काम विभिन्न प्रकृतिका थिए । विश्व बैङ्कको ऋण सहयोग, जाइकाको सहयोग, बेल्जियम, फ्रान्स र डेनमार्क सरकारबाट प्राप्त हुने सहयोगसम्बन्धी कार्यहरू अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न गर्नुपर्ने थियो ।

अर्कोतर्फ टेलिफोन लाइन वितरणका र उनीहरुका मान्छे भर्ना गर्न मन्त्रीको तोक लगाउनेदेखि दूरसञ्चार सेवा नपुगेका ठाउँमा दूरसञ्चार सेवा पुर्‍याउन विभिन्न राजनीतिक नेताहरूको दबाबअनुसारको काम गर्नुपर्ने बाध्यता पनि छँदै थियो ।

संस्थानको केन्द्रीय कार्यालयमा धेरै वर्ष बसेर काम गरेको, विश्व बैंकको ऋण सहयोगअन्तर्गतका कार्यहरू हेर्ने गरेको, क्षेत्रीय कार्यालय काठमाडौंको प्रबन्धक भई काम गरेको, दूरसञ्चार तालिम केन्द्रको निर्देशक भई जनशक्तिको सीप विकासमा भूमिका खेलेको आदि कारणले मलाई काम गर्न त्यति गाह्रो भएन । 

मैले मेरा सबै मित्रबाट भरपूर सहयोग पाएँ । सामान उपलब्ध गराउने सम्बन्धमा कठिन निर्णय भइसकेकाले मैले नियमित प्रक्रियाका काम मात्र समयमै सम्पन्न गर्ने गरी सञ्चालन तथा रेखदेख गर्नुपर्ने थियो । 

मेरो सबैभन्दा गाह्रो काम नै मन्त्रीको टेलिफोनको तोकसम्बन्धी काम थियो । त्यो पनि टेलिफोन वितरणसम्बन्धी मापदण्ड पारित गराएपछि केही सजिलो भयो । 

टेलिफोन महसुल वृद्धि गर्ने काम पनि गर्नुपर्ने भएकाले कुन किसिमबाट वृद्धि गर्दा संस्थानको हित पनि हुने र कम सेवा लिने ग्राहकलाई आर्थिक भार पनि कम परोस भन्ने विचार गरी विभिन्न विकल्पका प्रस्तावहरू बनाएर निर्णय गर्नुभन्दा पहिले मन्त्री र सचिवको सहमतिका लागि छलफल सुरु गरेँ ।

संस्थाको बजेट समयमा तयार गर्ने, समयमै पारित गराउने, लेखापरीक्षण समयमा सम्पन्न गराउन समयमै चनाखो हुने, वार्षिक प्रतिवेदन तयार गर्ने जस्ता काम समय तालिका बनाएर गर्ने गरेकाले कुनै समस्या झेल्नु परेन ।

महाप्रबन्धक भएको केही दिनमै मन्त्री ज्यूले विदेशी मुलुकको अमुक प्रस्तावअनुसार हामी तिम्रो प्रस्ताव मान्दछौं भनेर पत्र लेखिदिनुहोस् भन्दै आफ्ना निजी सचिवमार्फत पत्रको मस्यौदासमेत मलाई पठाउनुभएको थियो ।

प्रक्रिया नपुर्‍याई पत्र लेख्नु हुँदैन भन्ने लाग्दालाग्दै पनि मन्त्री ज्यू भने जोडदार रूपबाट त्यो काम गराउन कस्सिनु भयो । मन्त्रीले भनेको काम गरौं भने आफ्नो मनले नमान्ने, नगरौं भने जागिरको खतरा ।

‘हुन्छ, गरौंला’ भनेर मन्त्रीज्यूका पीएलाई फर्काएँ । भोलि बिहानसम्म पत्र तयार गरिदिनुपर्ने थियो । रातभरि सोच्न पाउँछु, सपना के-कस्तो देख्छु, विचार गरी घर फर्किएँ । समयमै सुतेँ, तर सपना नराम्रो देखिनँ ।

भोलिपल्ट बिहान कार्यालयमा त्यही पत्रको विषयमा सोचेर काम गर्दै थिएँ । एघार बजिसकेछ । मन्त्रीज्यूको फोन आउने पो हो कि भनेर डराइरहेको थिएँ । १२ बजेसम्म पनि फोन आएन ।

के भएछ भनेर मन्त्रालयमा बुझ्दा त मन्त्रीज्यू अस्पताल भर्ना हुनुभएको रहेछ । मन्त्रीज्यू अस्पतालमा रहँदै मैले प्रक्रिया पुर्‍याउन बोर्डमा प्रस्ताव पेस गरी बोर्डको निर्णयानुसार काम अघि बढाउने मौका पाएँ ।

मन्त्रीको आदेशानुसार त्यही दिन पत्र काटेको भए के हुन्थ्यो भनेर अहिले पनि सोच्छु । राम्रो विचारले काम गरे परमात्माले पनि सघाउँछन् भन्ने कुरा मेरा लागि चरितार्थ भयो ।

विभिन्न कार्यालयमा प्रमुखहरूको हेरफेर गर्नुपर्ने थियो । सूची बनाइसकेको थिएँ । मन्त्रीकहाँ खबर पुगेछ । जुन व्यक्तिलाई सरुवा गर्न खोजेको थिएँ, उसैलाई अहिले सरुवा नगर्नु भन्ने मन्त्रीको अनौपचारिक आदेश भयो ।

सरुवा गर्ने मनस्थिति भइसकेपछि सरुवा गर्न नसक्ता काममा शिथिलता आउनु स्वभाविक नै थियो । तैपनि पर्खनै पऱ्यो । संयोगले मन्त्रिमण्डल परिवर्तन भयो र त्यही दिन पहिले सोचेअनुसार सरुवाको काम सिध्याएँ ।

मन्त्री बहाली भएको २-३ दिनपछि मलाई ब्रिफ गर्न बोलाइयो । मैले त्यही समय सरुवा गरेको बारे पनि ब्रिफ गरें । मन्त्रीज्यूलाई कान फुक्ने अवसर कसैले पनि प्राप्त गरेका रहेनछन् ।

मन्त्रीज्यूको मुख्य विचार सेवाको गुणस्तर सुधार गर्नुमा नै केन्द्रीत हुने खालको आभास पाएँ ।मन्त्रीज्यूलाई कार्यालयका समस्या, कार्यालयका कमी-कमजोरी, समस्या सुल्झाउने उपाय, मन्त्रीज्यूले सहयोग दिने क्षेत्रबारे एक कार्यपत्र तयार गरेर दिएँ ।

उहाँले पढेर ‘मलाई तपाईंको कार्यपत्र मन पर्‍यो, आई थिङ्क यू आर स्टेट फरवार्ड एण्ड हार्डवर्किङ, आई लाइक ईट’ भन्दा मलाई हौसला भिल्यो । मैले मन्त्रीज्यूलाई दिएको कार्यपत्रमा कर्मचारीले मन्त्रीलाई के-के भनेर झुक्याउँछन् र के-के कुरा लुकाउँछन्, के कुरामा बढाइचढाइ पेस गर्छन् भनेर उदाहरणसहित उल्लेख गरेको थिएँ ।

हुन त मलाई तालिम केन्द्रमा काम गर्ने आईटीयू विशेषज्ञ डा. एसके हजेलाले ‘मन्त्रीलाई सबै साँचो कुरा गरे आफै फसिन्छ, तसर्थ सतर्कतासाथ सबै भेद खोल्नु हुँदैन’ भन्ने सल्लाह दिएका थिए । तर मेरो विचारमा मन्त्री भनेको मन्त्री नै हो ।

मन्त्रीलाई गुमराहमा राखेर काम गर्न सकिंदैन भन्ने मेरो मान्यता थियो । सचिव र मन्त्रीको आदेशलाई संस्थानको हित हुने गरी कार्यान्वयन गर्ने अठोटका साथ अघि बढ्दै गएँ ।

होटल याक एन्ड यतीमा भारतको आईईटीई संस्था र नेपाल दूरसञ्चार संस्थानको संयुक्त सहयोगमा आयोजना भएको डिजिटल स्विचिङसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्रीज्यूले दूरसञ्चार सेवाको गुणस्तर नराम्रो भएकाले दूरसञ्चारका कर्मचारीहरूलाई सेवाको गुणस्तरमा सुधार गर्न विशेष अनुरोध गर्नुभयो ।

सुधारको लक्षण नदेखिएमा आवश्यक कदम चालिने भनेर चेतावनी पनि दिनुभयो । सार्वजनिक रूपमा मन्त्रीज्यूको निर्देशनले मलाई आफ्ना कर्मचारीहरूलाई थप जिम्मेवारी दिन सजिलो भयो ।

नियुक्ति पाएको केही दिनमा नै पुडासैनी धेरै टिक्तैनन् भन्ने हल्ला चलाउने जमातलाई मेरो काम कारबाही गर्ने तरिकाले धक्का दियो । मेरो एउटा इच्छा थियो, कुनै दिन म एउटा योजनाको प्रमुख होऊँ ।

काम राम्ररी गरूँ । काम सम्पन्न भएपछि राजाबाट त्यसको उद्घाटन गराऊँ । उद्घाटन शत्रमा आफूले अनुभव गरेका र भोगेका कुराहरू बताउन पाऊँ ।

यस्तै सोच मनमा आइरहन्थ्यो । तर विधिको विधान, म महाप्रबन्धक भएकाे सालको चैतमा राजाको मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न कार्यालयहरू र योजनाको निरीक्षण हुने कार्यक्रम तय भएको रहेछ । 

नेपाल दूरसञ्चार संस्थानको क्रियाकलापले राजाको स्वदेश तथा विदेश भ्रमणलाई पनि प्रत्यक्ष रूपले प्रभाव पार्ने भएकाले राजाले दूरसञ्चारसम्बन्धी कार्यालयको निरीक्षण गर्ने गरी कार्यक्रम तय भएको जानकारी मन्त्रालयमार्फत थाहा पाएँ ।

राजालाई विस्तृत रूपमा ब्रिफिङ गर्न एक घन्टा समय मिल्ने भयो । चार वटा कार्यालयहरूको निरीक्षण र नक्साल एक्सचेज रहेको भवनमा ब्रिफिङ गर्ने गरी कार्यक्रम तय भयो । 

श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव तथा श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहको दूरसञ्चार भ्रमण २०४२ साल चैत्र १ गते हुने निश्चित भयो ।

महाप्रबन्धकको उपस्थिति सबै ठाउँमा सम्भव नहुने देखेर सगरमाथा अर्थस्टेसन र नक्साल एक्सचेन्जमा मात्र मेरो उपस्थिति हुने र अन्य ठाउँमा अन्य वरिष्ठ अधिकृतहरु रहने चाँजोपाँजो मिलाइयो ।

तोकिएको समयमा राजारानीको भ्रमण सगरमाथा अर्थस्टेसनमा भयो । त्यहाँका स्टेसन इन्चार्ज दमनराज कोइरालाले विस्तृत रूपमा स्टेसनको अवलोकन गराउनुभयो ।

भ्रमणदलमा मन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष र राजदरबारका सचिवहरू पनि भएकाले भ्रमण निकै भव्य थियो । बीचबीचमा राजाबाट प्रश्न सोद्धा म पनि जवाफ दिन्थें ।

स्वागत गर्दा राजाले हामी सबैको परिचय माग्नुभएको थियो । सगरमाथा अर्थस्टेसनको अवलोकनपछि केन्द्रीय टेलिग्राफ कार्यालय र टेलिफोन एक्सचेन्जको अवलोकन हुने भएपछि म भने राजारानीलाई पुनः नक्साल एक्सचेन्जमा स्वागत गर्ने उद्देश्यले नक्सालतिर हिँडें ।

नक्साल एक्सचेन्जमा स्वागतका लागि विशेष व्यवस्था मिलाइएको थियो । ब्रिफिङ पनि त्यहीँ हुने हुनाले स्वागतपछि ब्रिफिङ र ब्रिफिङपछि अवलोकनको कार्यक्रम थियो । राजाले केन्द्रीय टेलिग्राफ कार्यालय, सुनधारा टेलिफोन एक्सचेन्जको अवलोकन पूरा गरिसकेपछि भ्रमणदल नक्साल आइपुग्यो ।

केही बेरपछि राजारानीको सवारी भयो र हामी लाइनमा बसेका सबै कर्मचारीले आ-आफ्नो परिचय दिँदै फूलमालाले स्वागत गर्यौं । राजारानीलाई बाटो देखाउँदै ब्रिफिडकक्षमा पुर्‍याएँ ।

राजाल सबैलाई बस्न र मलाई ब्रिफिङ सुरु गर्न आदेश दिनुभयो । राजाका अगाडि ब्रिफिङ गर्नु भनेको मेरा लागि ज्यादै जटिल काम थियो ।

तर मैले राजालाई ब्रिफ गर्ने सबै विवरण फिलिप चार्टमा ठूला अक्षरले लेखी स्ट्यान्डसहितको बोर्डमा राखेको थिएँ । प्रिजेन्ट गर्ने तरिका पनि आईटीयूको प्रोजेक्ट सञ्चालन भएकाले अन्तर्राष्ट्रिय स्तरको सरह नै थियो ।

दूरसञ्चारको इतिहास, हालको अवस्था चालु योजनाहरू, योजनाहरु सम्पन्न भएपछिको अवस्था, भविष्यमा गरिने योजनाहरूको प्रारूप, योजना सञ्चालन गर्दा अपनाउनुपर्ने प्रक्रिया र भेल्नुपरेका समस्या, महसुल उठाउँदा बेहोर्नुपर्ने समस्या, आफैं कमाई गरी आफैंले व्यवस्था गर्नुपर्ने जिम्मेवारी, जनशक्तिको अवस्था, तालिम कार्यक्रम आदिबारे एक-एक गरेर प्रस्तुत गरेँ ।

बीचबीचमा राजाबाट प्रश्न सोधिन्थ्यो । योजना आयोगका उपाध्यक्ष मोहनमान सैंजू पनि रोचक ढङ्गबाट प्रश्न सोध्नुहुन्थ्यो ।

मैले जवाफ दिँदा सबै खुशी भएको भान हुन्थ्यो । मेरो प्रस्तुतीकरणपश्चात राजा, मन्त्री र योजना प्रयोगका उपाध्यक्षबीच केही बेरसम्म छलफल चलिरह्यो ।

आफ्नो प्रस्तुतीकरणमा म सन्तुष्ट नै थिएँ । त्यहाँको वातावरण हेर्दा सबैजना सन्तुष्ट भएको जस्तो लाग्यो । राजाले चाख लिएर प्रश्न गरेको देख्दा र आफूले जवाफ दिन पाउँदा, अनि आफ्नो जवाफले राजा सन्तुष्ट भएको पाउँदा म भित्रभित्रै हर्ष विभोर हुन्थें ।

ब्रिफिङपश्चात एक्सचेन्ज निरीक्षण हुँदा हामी त प्राविधिक भयौं भनेर राजाबाट हुकुम भएको पाउँदा ज्यादै खुसी लाग्यो । अवलोकनपछि आगन्तुक पुस्तिकामा बाहुली दस्तखत गराई मूल लोकन ढोकासम्म आई राजारानीलाई बिदा गर्दाको समयको पनि अझै झझल्को आउँछ ।

गाडीभित्र पस्नुअगाडि ‘लौ त बस्नुहोस्, हामी जान्छौं, सबै विशेष कर्मचारीलाई धन्यवाद दिनुहोस्’ भन्ने आवाज मेरो कानमा अझै गुन्जिरहेको महसुस हुन्छ । मेरो धोको पूरा भएकोमा म आफूलाई निकै भाग्यमानी ठानीरहेको थिएँ ।

राजाको मध्यमाञ्चल विकास क्षेत्रको भ्रमणका सिलसिलामा राजाको दृष्टिमा राम्रो काम गरेका राष्ट्रसेवकहरूलाई तक्मा, पदक, नगद पुरस्कार दिने परम्पराअनुसार मैले पनि ‘सेवापदक पाउँदा मलाई मैले राजाको भ्रमणको सिलसिलामा गरेको मिहिनेतको मीठो फल पाएको र मेरो कामको कदर भएको महसुस गरेको थिएँ । त्यो मेरा लागि निकै ठूलो खुसीको कुरा थियो ।

सार्क शिखर सम्मेलन सार्कराष्ट्रका विभिन्न मुलुकमा पालैपालो आयोजना गर्ने परम्पराअनुसार काठमाडौंमा गर्ने तय भएको थियो । सार्क शिखर सम्मेलनको समयमा आउने पाहुनाहरूलाई राम्रो दूरसञ्चार सेवा उपलब्ध गराउनु र नेपालबाट टेलिभिजन अन्य मुलुकमा सिधा प्रसारण गर्न सक्ने व्यवस्था मिलाउनु मेरो जिम्मेवारी थियो ।

सगरमाथा अर्थस्टेसनको क्षमता विस्तार गरी टेलिभिजन सिग्नल अन्य मुलुकुमा पठाउने व्यवस्था गर्न थप उपकरण चाहिने र त्यसका लागि ठूलो रकम आवश्यक पर्ने थियो । मसँग दुईवटा विकल्प थिए ।

पहिलो अर्थ मन्त्रालयबाट सार्क शिखर सम्मेलनको विशेष कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराई उपकरण सप्लाई गर्ने निर्माता कम्पनीसँग नै प्रेप्राइटरी सामानसरह मानी मालसामान खरिद गर्ने । दोस्रो चाहिँ सगरमाया अर्थस्टेसनको विस्तारका लागि भनेर विश्व बैङ्कको ऋण सहयोगअन्तर्गतको उपयुक्त शीर्षकको रकम खर्च गरी सामान खरिद गर्ने ।

पहिलो विकल्प सजिलो थियो । कोटेसन माग्ने, अर्थ मन्त्रालयबाट लिने र सञ्चालक समितिबाट निर्णय गराएर खरिद गर्ने । यसो गर्दा नियम कानुन मिचिदैनथ्यो ।

तर सिधा खरिद गर्ने भएकाले कम्पनीले बढी रकम कोट गर्ने सम्भावना भएको, रकमको अङ्कलाई हेरी प्रोप्राइटरी वर्गीकरणमा पारेर खरिद गर्दा बोर्डले निर्णय लिन पनि आनेकानी गर्ने, विश्व बैङ्कको कार्यक्रमअन्तर्गत पर्दापर्दै अर्थ मन्त्रालयबाट रकम लिई खर्च गरेमा बदनियत गरेको ठानिने सम्भावनालाई दृष्टिगत गरी कुन निर्णय गरे सार्क शिखर सम्मेलन अगावै टिभी अपलिङ्कको व्यवस्था हुन सक्छ भन्ने बारेमा अध्ययन भइरहेको थियो ।

पहिलो विकल्पअन्तर्गत गर्न पाए कुनै प्राविधिक जोखिम पनि व्यहोर्नु नपर्ने, किनकि जसले उपकरण सप्लाई गरी जडान गरेको उसैले गर्दा समस्या आउने सम्भावना कम थियो । दुई विकल्पअनुरूप काम गर्न सक्ने गरी एकातिर अर्थ मन्त्रालयमा पेस गरेको बजेट मागपत्र र अर्कोतिर विश्व बैङ्कको कार्यक्रमको बजेटमा रकमको व्यवस्था थियो ।

पहिलो विकल्पअनुसार सिद्धान्ततः स्वीकृतिका लागि बोर्डमा पेस गर्न लाग्दा सचिवलाई नसोधी एजेन्डा तयार गरेकोमा उहाँलाई मन परेन र मैले सुरुमा नै सचिवले मन नपराएपछि त्यो काम पछिपछि गराउन कठिन हुने ठानेँ । अनि दोस्रो विकल्पमा जाने अठोट गरें ।

संस्थानका विभागीय प्रमुखहरूसँग छलफल गरी कार्यतालिका बनाएर काम गरेमा राष्ट्र बैंङले बोलपत्र आह्वान गर्ने डकुमेन्टमा चाँडै सहमति जनाएमा कुनै समस्या पनि नआउने । स्पेसिफिकेसन तयार गरी विश्व बैंकको सहमति प्राप्त गर्न र त्यहाँबाट यो कार्यक्रमको महत्वलाई बुझिदिन विशेष अनुरोधसमेत गर्न चिफ इन्जिनियर गजेन्द्रसिंह बोहरालाई विश्व बैंक पठाएँ ।

विश्व बैंकका नेपाल डेस्क हेर्ने अधिकृत मिस्टर लान्जकेको निवासमै बसी स्पेसिफिकेसन परिमार्जन गर्नुका साथै बोलपत्र आह्वान गर्न तयार गरेको बोलपत्रसम्बन्धी डकुमेन्टमा विश्व बैंकको सहमति प्राप्त गरी गजेन्द्रसिंह बोहरा काठमाडौं फर्किए ।

त्यसपश्चात् समयमै टिभी अपलिङ्क कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भयो । अर्थ मन्त्रालयसित बजेट पनि माग्नुनपर्ने र बोर्डबाट निर्णय गराउन पनि झन्झट नहुने भएकाले म ढुक्क भएँ ।

काठमाडौंका सडक-सडकमा रहेका लठ्ठा र झेलिएका केबलहरू व्यवस्थित गर्ने, मिडिया सेन्टरमा चाहिने विभिन्न सेवाका लागि आवश्यक मालसामान उपलब्ध गराउन, सार्क शिखर सम्मेलनमा आउने पत्रकारहरूका लागि दूरसञ्चार सेवा उपलब्ध हुने स्थान, समय, ट्यारिफ आदिको प्रस्ट जानकारी दिन पुस्तिका तयार गर्ने काम जोडतोडका साथ भइरहेको थियो ।

राजदरबार, मन्त्रालय, सूचना विभागमा नियमित रूपमा बैठक भइरहन्थ्यो । प्रधानमन्त्री मरिचमान सिंहले काठमाडौं उपत्यका भित्र सहरी क्षेत्रका सडक, विद्युत, दूरसञ्चार, खानेपानीको क्षेत्रमा देखिएका अस्तव्यस्तता हटाउने काम के-कति भयो वा भएन भनेर हेर्न प्रधानमन्त्री कार्यालयमा एक टोली गठन गर्नुभएको थियो ।

टोलीले सहयोग गर्नुको साटो यसो भएन, उसो भएन भनेर विभिन्न तहमा टीकाटिप्पणी बढी गर्ने गर्दथ्यो । टेलिफोन नेटवर्क सुधार गर्ने काममा क्षेत्रीय प्रबन्धकको अहम् भूमिका हुने भएकाले क्षेत्रीय प्रबन्धकको सक्रिय सहभागिता बिना सो काम हुन सक्ने संभावना थिएन ।

शाही शासनकालको शाही आयोगमा प्रमुख आयुक्त भएका भक्तबहादुर कोइराला टोली संयोजक थिए । सबैलाई हाच्याउने र सबैलाई यसो गर, उसो गर भनेर मात्र भन्ने, तर सिर्जनात्मक सल्लाह दिने बानी भने उनमा थिएन ।

उनैले प्रधान्त्रीलाई एक दिन बराएर रिपोर्टिङ गर्ने भएकाले र उनले जे भन्यो प्रधानमन्त्रीले त्यही कुरा पत्याउने अवस्था भएकाले काम गर्नुभन्दा कुराले ठिक्क पार्दा मात्रै पनि काम गरेको ठहरिने ठानी मैले पनि भक्तबहादुर कोइरालालाई यहाँ-यहाँ काम भएको छ, समय मिल्छ भने निरीक्षण पनि गरिदिनुहोला भनेर अनुरोध गर्न थालें ।

उद्देश्य पवित्र भए पो निरीक्षण गर्ने समय नियमित रूपमा मिल्दथ्यो । प्रधानमन्त्रीलाई मैले के-के न यति बढी काम गरेको छु भनेर देखाउने प्रमुख उद्देश्य भएकाले निरीक्षण गर्ने सम्भावना कमै हुन्थ्यो ।

मेरो यो तरिकासे कमसेकम काम गर्ने रफ्तारमा कसैले बाधा दिन पाएन । अर्थात् गाली खानु परेन । प्रधानमन्त्रीसँग हुने बैठकमा दूरसञ्चारको प्रगति उनले बताइदिन्थे ।

मलाई कुनै किसिमबाट काम ढिलो भयो वा नहुने हो भन्ने दोष दिने बाटो खुल्न पाएको थिएन । समयमा काम सक्ने हाम्रो उद्देश्य थियो । हामी जति सतर्क भएर गयौं, त्यसैबाट हामी आफ्नो मूल्याङ्गन आफैं गर्न सक्थ्यौं ।

सबैले दूरसञ्चार संस्थानको सेवाको तारिफ गरे । यस्तो बढी सह्राहनीय काम गरेकोमा तक्मा पाउने त पक्कापक्की नै थियो । तर त्यसमा पनि ग्रहण लाग्यो । ग्रहण लाग्दाको प्रसङ्ग पनि यहाँ कोट्याऊँ ।

बीटीएम कम्पनीसँग सम्झौता भएअनुसारको नपुग हुने रकम पाँच मिलियन अमेरिकी डलर सीटी बैंकबाट लिएर कम्पनीलाई भुक्तानी दिनुपर्ने थियो । सीटी बैङ्बाट डलर ऋण लिन अपनाउनुपर्ने प्रक्रियाले निकै समय लियो । सम्झौता पहिलेका महाप्रबन्धकले गरेका थिए ।

तर कार्यान्वयनको पूरा जिम्मा मेरो हुन पुगेको थियो । पाँच मिलियन डलरको ऋण मिलाउने सम्बन्धमा विभिन्न चरणमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रकसँग बैठक भयो ।

त्यस बखत महालेखा नियन्त्रक भुवनेश्वर खत्री हुनुहुन्थ्यो । उहाँ सुरुमा छुच्चोजस्तो देखिनुहुन्थ्यो । तर पछि घुलमिल हुँदै जाँदा उहाँको चरित्र राम्रो छ भन्ने कुरा थाहा भयो ।

उहाँले पाँच मिलियन डलर लिने सम्बन्धमा सुरुमा त नकारात्मक सोच बनाउनुभएको थियो । पछि नेपाल दूरसञ्चार संस्थानले उहाँले भनेअनुसारको विवरण तयार गरिदियो ।

मन्त्रिपरिषद्को बैठकमा पेस गर्न महालेखा नियन्त्रक, सञ्चार सचिव र महाप्रबन्धक गरी तीनजनाको सिफारिस चाहिने थियो । त्यसपछि सिफारिसपत्रमा दस्तखत गर्न उहाँ हिचकिचाउनु भएन र त्यो काम सम्पन्न भयो ।

पाँच मिलियन डलर रकम तोकिएको समयमा उपलब्ध नगराउँदा बीटीएम कम्पनीसँग भएको सम्झौता एकातिर धरापमा परेको थियो भने अर्कोतिर बीटीएमले स्पेसिफिकेसन अनुरूप सबै सेवा उपलब्ध हुने गरी सफ्टवेयरको विकास गर्न अरू केही समय लाग्ने भएकाले केवल हार्डवेयर मात्र पठाई जडानकार्य सुरु भएको थियो । 

सीमित सेवा उपलब्ध हुनेगरी एउटा एक्सचेन्ज मात्र चालु भएको थियो । अन्तरआबद्धता, एसटीडी सेवा, अपरेटर सेवा सञ्चालन गर्न पूर्णरुपमा सफ्टवेयर विकास नभई सम्भव थिएन । सबै हार्डवेयर उपकरण पठाएपछि बीटीएमले प्रतीतपत्रमार्फत रकम बैंकबाट प्राप्त गर्ने तर उपकरण जडान भइसकेपछि पनि एक्सचेन्ज पूर्ण रूपमा सञ्चालन नहुने अवस्था थियो ।

काठमाडौं उपत्यका र बाहिरका मुख्य-मुख्य सहरहरूमा गरी १७ वटा एक्सचेन्जका लागि २२ हजार ५०० लाइन विस्तार गर्ने उपकरण आउनुपर्ने थियो । केही एक्सचेन्जका उपकरणहरू उपलब्ध भए पनि सफ्टवेयरको अभावमा पूर्ण रूपमा सञ्चालनमा आउने अवस्था थिएन ।

बाँकी उपकरण आउनुभन्दा पहिले सफ्टवेयर कहिलेसम्म विकास भइसक्छ, त्यसको निरूपण गर्नुपर्ने थियो । अर्कोतर्फ वार्षिक कार्यक्रममा उपकरण उपलब्धिको लक्ष्य रहेकाले उपकरण प्राप्त नभए प्रगति लक्ष्यअनुसार नहुने र मन्त्रालय र राष्ट्रिय योजना आयोगको नजरमा नेपाल दूरसञ्चार संस्थान लक्ष्यपूर्ति नगर्ने संस्थानको सूचीमा पर्ने निश्चित थियो ।

लक्ष्यपूर्ति गर्न लाग्दा उपकरण पठाएबापत कम्पनीले प्रतीतपत्र खोलिएको बैङ्कमार्फत जुन रकम लिन्थ्यो, त्यो रकम लिएका बखतदेखि सफ्टवेयर विकास भई एक्सचेन्ज चालु नहुन्जेलसम्मको अवधिसम्मको व्याज मात्र ३० लाख रुपैयाँ लाग्ने अनुमान थियो ।

३० लाख रुपियाँ अनाहकमा खर्च हुने, लक्ष्य देखावटी रूपमा मात्र पूरा हुने तर एक्सचेन्ज चालु हुन नसक्ने भएकाले मैले जे जे पर्ला पर्ला भनेर ३० लाख रुपैयाँ बचाउने उद्देश्यले कम्पनीलाई जबसम्म सफ्टवेयरको विकास पूरा भएर सेवा चालू गर्ने मितिको निश्चितता हुँदैन, तबसम्म उपकरण नपठाउनु भनी टेलेक्स पठाएँ ।

फलस्वरूप आर्थिक वर्षको अन्त्यमा वार्षिक प्रगति प्रतिवेदन पठाउँदा ५० प्रतिशतभन्दा कम लक्ष्य पूर्ति भएका आयोजनाको सङ्ख्या धेरै हुन पुग्यो।

प्रगति प्रतिवेदनमा खर्च भएको रकमको भार प्रणालीमा तयार गर्नुपर्ने भएकाले प्रगति प्रतिशत कम हुनु स्वाभाविकै थियो । दूरसञ्चार संस्थानले सञ्चालन गरेका आयोजनाहरूको प्रगति ५० प्रतिशतभन्दा कम हुनुको कारण पत्ता लगाई सम्बन्धित अधिकृतहरूलाई कारवाही गर्न सहायक मन्त्री चन्दा शाहको अध्यक्षतामा कमिटी गठन भयो । 

ममाथि पनि छानबिन सुरु भयो । लक्ष्यपूर्ति नभएको शतप्रतिशत सत्य भएको तर लक्ष्यपूर्ति लिएर काम अघि बढाउँदा ३० लाख रुपियाँजति घाटा पर्ने विषयलाई कसैले पनि बुझ्न नचाहेकाले र सजाय पाउने अधिकृतहरूको सूचीमा मेरो नाम पनि रहेकाले तक्मा दिनु हुँदैन भन्ने तर्क विभूषण समितिले लिएर तक्मा पाउने सम्भाव्य अधिकृतहरूको सूचीबाट मेरो नाम हट्यो ।

झन् अवकाश दिनुपर्ने अधिकृतहरूको सूचीमा पो मेरो नाम दर्ता हुन पुग्यो । ती योजनाहरूको लक्ष्य र प्रगतिको प्रतिशतको कार्यबाहेक अरू कामहरू राम्ररी सञ्चालन गरिराखेको कुरा सबै पक्षलाई थाहा थियो ।

चन्दा शाहले पेस गरको सूचीअनुरूप अवकाश दिने कार्य अघि बढाउनुभन्दा पहिले दूरसञ्चार संस्थानको महाप्रबन्धकको हकमा पुनः छानबिन गर्ने भनेर प्रधानमन्त्रीले त्यस बखतका अर्थमन्त्री भरतबहादुर प्रधान र मन्त्रिपरिषद् सचिवालयका सचिव भुवनेश्वर खत्रीलाई सो काम सुम्पिनु भएको रहेछ ।

मन्त्रीलाई फुर्सद नहुने भएकाले सबै काम भुवनेश्वर खत्रीले गर्नुपर्ने हुँदा मलाई २-३ पटक उहाँकै कार्यालयमा बोलाएर सबै कुरा बुझ्नुभयो । खानेपानी आयोजनाको काम दूरसञ्चार संस्थानले गरेको भन्दा उल्टो भएको रहेछ ।

सामान मगाएको र भुक्तानी भएको तर पाइप जडान नभएको । मैले गरेको निर्णयले संस्थानलाई घाटाबाट जोगिन मद्दत पुगेकाले अवकाश दिन उचित नहुने किसिमबाट उहाँले प्रतिवेदन तयार गर्नुभएको रहेछ ।

तर प्रतिवेदन पेस नहुँदै उहाँ एडीबीको कार्यालय मनिला जानुभएकाले उहाँले हेर्ने काम विष्णुप्रताप शाहलाई सुम्पिएको रहेछ । चन्दा शाह भने मप्रति के कारणले हो रिसाएकी थिइन् ।

त्यसैले उनी अवकाश दिने पक्षमा नै रहिछन् । तर पुडासैनीलाई अवकाश दिने भए म पनि दोषी ठहरिन्छु भनेर विष्णुप्रताप शाहले अडान लिएको र भरतबहादुर प्रधान पनि बुझ्ने खालका मन्त्री भएकाले मेरो अवकाश हुने हल्लाले पूर्णविराम पायो ।

तसर्थ साइत नजुरेको बेला मरेकाटे कुनै राम्रो काम हुँदैन भन्ने कुरा सत्य सावित भयो । त्यसपछि मैले पनि हरेस नखाई काम गर्न थालें ।

क्रमश…

(सुरेशकुमार पुडासैनीको पुस्तक आफ्नै पाइला पछ्याउँदैबाट साभार)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०