एआई र रोबोटिक्स सिकाउँदै विद्यार्थीलाई वास्तविक समस्या समाधान गर्ने बनाउनु अबको आवश्यकता
चैत ३०, २०८२ १५:१६
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केवल दुई अक्षरमा सीमित छैन । यो त हाम्रो जीवनको अभिन्न हिस्सा भइसकेको छ । बिहान उठेदेखि राति नसुत्दासम्म हामी कुनै न कुनै रूपमा एआईको प्रयोग गरिरहेका नै हुन्छौँ । यसरी एआई हाम्रो जीवनको विलासिता नभएर अनिवार्य आवश्यकता भइसकेको छ ।
प्रविधिले फड्को मारिरहँदा कक्षाकोठामा पनि सिकाइ पद्धतिमा निकै परिवर्तन भएको छ । केही वर्ष पहिलेसम्म कक्षाकोठामा शिक्षकको भूमिका ८० प्रतिशत र विद्यार्थीको भूमिका केवल २० प्रतिशत रहने गर्थ्यो । शिक्षकले बोलेका कुरा सुन्नु र घोक्नु नै सिकाइको मुख्य आधार थियो । तर, आज यो अनुपात पूर्ण रूपमा उल्टिएको छ । किनभने अब विद्यार्थीले शिक्षकले पढाएको कुरा बुझेर मात्रै सिक्नु पर्दैन ।
विद्यार्थीहरू शिक्षकभन्दा बढी सक्रिय र प्रविधिसँग जानकार छन् । कक्षाकोठामा नबुझेका र पाठ्यपुस्तकभन्दा फरक कुरा पनि उनीहरू युट्युब, गिटहब, विभिन्न एआई टुल प्रयोग गरेर आफूलाई जसरी सजिलो तरिका लाग्छ त्यसरी सिक्न सक्छन् । अब शिक्षकको भूमिका घोकाउने नभएर विद्यार्थीहरूको सिकाइमा सहजकर्ताको भूमिकामा परिवर्तन भएको छ ।
अहिलेको समयमा प्रविधि ऐच्छिक विषय मात्र रहेन, यो अनिवार्य भइसकेको छ । त्यसैले विद्यालय शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, एज कम्प्युटिङ, फ्युचर स्किल्स र इनोभेसन लगायतका कुरामा ध्यान पुर्याउन पर्छ ।
विश्वभर अहिले १८ अर्बभन्दा बढी आईओटी (इन्टरनेट अफ थिङ्स) डिभाइसहरू प्रयोगमा छन् । यी डिभाइसले ठुलो मात्रामा डेटा जेनेरेट गरिरहेका छन् । यी डेटालाई बुझ्ने र प्रयोग गर्ने क्षमता भएका विद्यार्थी नै भविष्यका लागि योग्य मानिनेछन् ।
वास्तविक समस्या समाधान गर्न विद्यार्थीलाई सिकाउनुपर्छ
हामीले विद्यार्थीहरूलाई क्रिटिकल थिङ्किङ र समस्या समाधानका विधि पत्ता लगाउन सिकाउनुपर्छ । एआईले विद्यार्थीलाई केवल किताबमा सीमित नराखी वास्तविक जीवनका समस्याहरू समाधान गर्न सिकाउँछ ।
हरेक विद्यार्थीको फरक-फरक क्षेत्रमा फरक किसिमको रुचि हुन सक्छन । नौदेखि पाँच बजेसम्मको विद्यालय समयबाहेक पनि विद्यार्थीका दिमागमा हजारौँ कुरा आइरहेका हुन्छन् । उनीहरूको दिमागमा आउने सिर्जनशीलताको प्रविधिको उचित प्रयोग गरेर व्यवहारिक सीपको विकास गर्नुपर्छ ।
हामीले विद्यार्थीलाई आफ्नो वरपरका वास्तविक समस्या पहिचान गरी तिनको व्यवहारिक समाधान खोज्न सिकाउनुपर्छ । चाहे त्यो फोहोरमैला व्यवस्थापन होस् वा ट्राफिक समस्या, स्थानीय चुनौतीको समाधानका लागि उनीहरू आफैँले रचनात्मक उपाय सोच्ने र आवश्यक प्रविधिको विकास गर्न सक्ने क्षमता निर्माण गर्नु आजको आवश्यकता हो ।
तर वास्तविक समयमा समस्या समाधान दिन सक्ने तरिका विद्यार्थीलाई सिकाउने शैक्षिक पद्धति हामीले विकास गर्न बाँकी नै छ । र, यी क्षमता कुनै टेक्स्टबुकबाट आउँदैन । विद्यार्थीलाई नै क्रिटिकल भएर सोच्न र काम गर्ने खुला वातावरण बनाउने अवसर प्रदान गर्नुपर्छ ।
यस्ता काम केही विद्यार्थीले गरेका पनि छन् । एक नगरपालिकामा स्नातक र प्लस-टु तहका विद्यार्थीले गाउँघरमा हुने स-साना झै-झगडा र विवादलाई मेलमिलाप गराउन ‘नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ’मा आधारित एउटा ड्यासबोर्ड बनाएका छन् । विवादमा परेका पक्षले यस प्रणालीमा आफ्ना समस्या राख्छन् । प्रणालीले ती समस्याको विश्लेषण गरी तत्काल समाधान वा मध्यस्थताका विकल्पहरू प्रस्तुत गर्छ । सुरुमा विवाद मिलाउने ड्यासबोर्ड बनाएको कुरा सुन्दा धेरैले उनीहरूलाई हाँसोमा उडाएका थिए । तर अहिले यो प्रविधि सफल साबित भएको छ ।
एकजना विद्यार्थीले काठमाडौँ विश्वविद्यालय वरपरको वास्तविक समस्या देखेर ‘हाम्रो निवास’ नामक प्रोजेक्ट सुरु गरे । यो एपले कुन घरमा कोठा खाली छ, भाडा कति छ, कोठा कस्तो छ र कति दिनमा कोठा खाली हुँदैछ भन्ने जानकारी दिन्छ । यसले घरबेटी र कोठा खोज्ने विद्यार्थी दुवैलाई एउटै प्लेटफर्ममा जोडिदिएको छ ।
यो एपमार्फत ती विद्यार्थीले अहिले आम्दानी पनि गरिरहेका छन् । बाहिरबाट पढ्न आउने विद्यार्थीहरूले कोठा खोज्न भोग्नुपर्ने सास्तीलाई उनले व्यापारिक अवसरमा बदलेका छन् । यसरी विद्यार्थीहरूले समस्या पहिचान गरेर समाधान प्रस्तुत गर्न सक्ने बनाउनु नै अबको एआईको युगको सही शिक्षण विधि हो ।
आजका विद्यार्थीलाई एआई र आधुनिक प्रविधि सिकाउनु भनेको उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्नु पनि हो । त्यसैले अब शिक्षा प्रणालीमा अब परम्परागत ‘टिच, टेस्ट र फर्गेट’ शैलीलाई त्याग्नुपर्छ । यसको सट्टा ‘एक्स्प्लोर, बिल्ड र सल्भ’ शैलीमा जोड दिनुपर्छ । विद्यार्थीहरूलाई सानैदेखि साना-साना रोबोटिक्स वा सफ्टवेयर परियोजनाहरूमा आधारित सिकाइमा संलग्न गराउनुपर्छ । विद्यार्थीहरूलाई प्रविधिको आत्मविश्वासका साथ प्रयोग गर्न सिकाउन आवश्यक छ ।
विद्यालयहरूमा रोबोटिक्स क्लबहरू स्थापना गरेर विद्यार्थीलाई प्रविधिसँग जोड्न सकिन्छ । यस्तै शिक्षकहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउने कार्यक्रम र एआई सचेतना सत्रहरू सञ्चालन गर्न सकिन्छ । अब हामीले रोजगारी खोज्ने भन्दा पनि उद्यमशीलता रोज्ने जनशक्ति तयार पार्ने उद्देश्यले विद्यार्थीहरूलाई तयार पार्नुपर्छ ।
अर्कोतर्फ, शिक्षकहरूले एआईलाई आफ्नो प्रतिस्पर्धी नभई सहयोगीको रूपमा लिनुपर्छ । एआईले शिक्षकलाई विस्थापित गर्दैन । तर, एआई प्रयोग गर्ने शिक्षकले एआई प्रयोग नगर्ने शिक्षकलाई पक्कै पनि पछाडि पार्न सक्छ । कठिन विषयलाई सरल बनाएर बुझाउन एआई प्रयोग गर्न सकिन्छ । गणितका जटिल सूत्रदेखि विज्ञानका सिद्धान्त बुझाउन यसको सहायता लिन सकिन्छ ।
विद्यार्थीहरूलाई बुझाउन एक घण्टा लाग्न सक्ने समयमा एआईबाट चार्ट वा भिडिओ बनाएर एक मिनेटमा सिकाउन सकिन्छ । हरेक विद्यार्थीको सिक्ने क्षमता फरक हुन्छ । एआई टुलहरूको प्रयोग गरेर शिक्षकले प्रत्येक विद्यार्थीको आवश्यकता अनुसारको सामग्री तयार गरेर बुझ्ने तरिकाले कक्षाकोठामा पढाउन सक्छन् ।
(डा सुदन झा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक हुन् । उनी हालै राष्ट्रिय योजना आयोगको सदस्य पदमा समेत नियुक्त भएका छन् ।)
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १५:३५
