close

फाइभजीका लागि यस्तो छ नेपालको तयारी

टेकपाना टेकपाना

मंसिर १२, २०७७ २०:१७

फाइभजीका लागि यस्तो छ नेपालको तयारी

काठमाडौं । सरकारले फाइभजी मोबाइल प्रविधिका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने भएको छ । हाल नेपालमा उपलब्ध फ्रिक्वेन्सी मध्येबाट फाइभजीका लागि उपयुक्त फ्रिक्वेन्सी फिसारिस गर्ने तयारी अगाडि बढेको हो ।

त्यसका लागि सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य चुडाणी (सीमणी) चौलागाईंको संयोजनमा फ्रिक्वेन्सी व्यवस्थापन मञ्च गठन गरेको छ । जसमा मन्त्रालयका सूचना प्रविधि विज्ञ तथा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, सूचना तथा सञ्चार मन्त्रालयका उप–सचिव अनुप नेपाल र प्राधिकरणका निर्देशक अम्बर स्थापित रहेका छन् ।

यसैगरी प्राधिकरकै उप–निर्देशक प्रदीप पौडेलका साथै दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकम र एनसेलको तर्फबाट एक–एक जना प्रतिनिधिलाई समेत मञ्चमा राखिएको छ ।

उक्त मञ्चले नेपालमा फाइभजीका लागि उपयुक्त फ्रिक्वन्सी निर्धारण गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई सुझाव दिने छ । मञ्चले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का साथै अन्तर्राष्ट्रिय स्तरमा फाइभजीका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सीलाई अध्ययन गरेर नेपालका लागि उपयुक्त फ्रिक्वेन्सी छनौट गर्नेछ ।

हालसम्म भएको प्रगतिअनुसार फाइभजीका लागि ७००, २३००, २६००, ३३०० र ३६०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मध्येबाट आवश्यकता अनुसार उपयुक्त फ्रिक्वेन्सी सिफारिस हुन सक्ने स्रोतले जनाएको छ । स्रोतले बताए अनुसार यी फ्रिक्वेन्सी हाल नेपालमा प्रयोगमा नभएको र अन्तर्राष्ट्रिय स्तरमा यही फ्रिक्वेन्सीको प्रयोग भएकाले यसैलाई फाइभजीमा प्रयोग गर्न सकिने देखिएको हो ।

त्यतिमात्र नभएर ३६ सय मेगाहर्जभन्दा माथिका फ्रिक्वेन्सी ब्याण्ड पनि प्रयोगमा ल्याउन सकिने अन्तर्राष्ट्रिय प्रचलनले देखाएको छ । त्यसैले अब त्यसमध्ये नेपालको परिवेश सुहाउँदो र खर्चको हिसाबले पनि मितव्ययी फ्रिक्वेन्सी छनौट गरी आउँदो सातासम्म मञ्चले प्राधिकरणलाई सिफारिस गर्ने उल्लेख गरिएको छ ।

मञ्चले गरेको सिफारिसको आधारमा प्राधिकारणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई फ्रिक्वेन्सी निर्धारणका लागि पत्र पठाउने छ । त्यसै आधारमा समितिले फाइभजीका लागि फ्रिक्वेन्सी तोक्ने बताइएको छ ।

फ्रिक्वेन्सी निर्धारण भइसकेपछि दूरसञ्चार कम्पनीहरुलाई बोलकबोलका आधारमा वितरण गरिने र त्यसै आधारमा नेपालमा फाइभजी सेवा सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०