काठमाडौँ । आकर्षक लुक्स, पर्याप्त स्टोरेज, राम्रो क्यामेरा र सन्तोषजनक प्रदर्शन दिने स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने अनर एक्स एट सी (Honor X8c) तपाईंको लागि उपयुक्त विकल्प हुन सक्छ । हालै नेपाली बजारमा सार्वजनिक गरिएको यो फोनले मध्यम बजेटमा उत्कृष्ट सुविधा उपलब्ध गराएको छ ।
Honor X8c मा आकर्षक डीप मार्श ग्रीन कलर दिइएको छ, जुन साधारण डिजाइनमा पनि निकै राम्रोसँग पप हुन्छ । ६.७ इन्चको एमोलेड डिस्प्ले भएको यस फोनमा १२० हर्ज रिफ्रेस रेट र २८०० निट्सको पिक ब्राइटनेस दिइएको छ, जसले गर्दा घाममा पनि स्क्रिन सजिलै देख्न सकिन्छ । यसमा कम बेजल्स भएकोले भिडिओ हेर्दा वा ब्राउजिङ गर्दा राम्रो अनुभव मिल्छ । फोनको बडी हार्ड प्लास्टिकको भए पनि पछाडि लेदरजस्तो टेक्स्चर दिइएको छ, जसले राम्रो ग्रिप दिन्छ ।
Honor X8c मा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा दिइएको छ । क्यामेरा सेटअप देख्दा चार ओटा जस्तो लाग्छ । तर तीमध्ये एक फ्ल्याश हो भने अर्को केवल डिजाइनका लागि राखिएको हो । फ्रन्टतर्फ ५० मेगापिक्सेल सेल्फी क्यामेरा दिइएको छ, जसले सेल्फी, वीफी र भिडिओ कललाई उत्कृष्ट बनाउँछ । यसमा EIS र OIS सपोर्ट छ । भिडिओमा अत्यधिक स्टेबल महसुस नहुने भए पनि परिणाम सन्तोषजनक छ । साथै, फोनमा एआई इरेजर सुविधा पनि छ, जसले फोटोबाट अवाञ्छित वस्तु हटाउन सकिन्छ ।
यो फोन एन्ड्रोइड १५ मा आधारित म्याजिक ओएस नाइनमा चल्छ । क्वालकम स्न्यापड्रागन ६८५ चिपसेटले फोनलाई सामान्य इन्टरनेट ब्राउजिङ, मल्टिटास्किङ र हल्का गेमिङको लागि सक्षम बनाउँछ । गेमिङ गर्दा फोन तात्ने समस्या देखिएन । गेम पनि स्मूथ चलेको अनुभव गरियो । फोनमा Magic Capsule, Always-on Display, Edge Panel, Multi-window, Split-screen जस्ता सुविधा पनि समावेश छन् ।
फोनमा ८ जीबी र्याम दिइएको छ, जसलाई भर्चुअल रूपमा ८ जीबी थप गर्न सकिन्छ । इन्टर्नल स्टोरेज ५१२ जीबी छ, जुन यो सेग्मेन्टको सबैभन्दा ठुलो स्टोरेज भएको कम्पनीको दाबी छ । धेरै फोटो, भिडिओ वा सामग्री बनाउने व्यक्तिका लागि यो ठुलो सुविधा हो ।
फोनमा ५००० एमएएच ब्याट्री दिइएको छ । जुन सामान्य प्रयोगमा एक दिन सजिलै टिक्छ । यसमा ३५ वाटको फास्ट चार्जिङ सपोर्ट छ ।
अन्य विशेषताहरू
Dual-band Wi-Fi, Bluetooth, Dual SIM सपोर्ट
In-display Fingerprint Scanner, Face ID, PIN, Password जस्ता सुरक्षा विकल्प
IP64 Rating सहितको ड्रप तथा क्रस रेसिस्टेन्स क्षमता
मूल्य र अफर
नेपालमा Honor X8c को मूल्य रु. ३३,८९० राखिएको छ । साथै, मे १० भित्र फोन खरिद गरेमा रु. ४,९९९ पर्ने HONOR Choice Earbuds X7 Lite लाई रु. २,०८२ मा खरिद गर्न सकिने Early Bird Offer पनि उपलब्ध छ ।
यदि तपाईं ३५ हजार रुपैयाँ भन्दा कम बजेटमा धेरै स्टोरेज, राम्रो डिजाइन, सन्तोषजनक क्यामेरा र स्थिर प्रदर्शन भएको स्मार्टफोन खोज्दै हुनुहुन्छ भने Honor X8c राम्रो विकल्प बन्न सक्छ ।