close

एसएमएसमा विज्ञापन पठाउन दुरूपयोग हुँदै शर्टकोड, जोखिममा प्रयोगकर्ता

टेकपाना टेकपाना

पुस १४, २०७८ १४:३३

एसएमएसमा विज्ञापन पठाउन दुरूपयोग हुँदै शर्टकोड, जोखिममा प्रयोगकर्ता

काठमाडौं । एक-दुई दिन मोबाइल म्यासेज खोल्नुभएको छैन भने कल्पना गर्नुहाेस् त तपाईंको फाेनमा ‘शर्ट कोड’ बाट आउने विज्ञापनयुक्त म्यासेज कति हुन्छन ? कहिलेकाहिँ त दिनमै दर्जनौं त्यस्ता म्यासेज आइरहेका हुन्छन् ।

यसरी मोबाइल म्यासेजको इनबक्स नै भरिने गरी आउने यस्ता म्यासेजले तपाईंलाई कुनै अर्थ राख्छ ? यदि तपाईंसँग सम्बन्धित छन् र आएको म्यासेज जानकारीमूलक छ भने त ठीक छ । तर, धेरैजसो शर्ट कोडबाट आउने त्यस्ता म्यासेज देख्दै रिस उठ्ने हुन्छन् ।

विहान जुरुक्क उठेर मोबाइल खोल्दा मोबाइलमा तपाईं विदेश जान चाहनुहुन्छ ? आउनुहोस् हामी आईईएलटीएस पढाउँछौ भनेर म्यासेज आएको हुन्छ । कार किन्न चाहनुहुन्छ ? किस्ता र छुटमा कार किन्ने अफर चलिरहेको छ भनेर म्यासेज आउँछ ।

हुँदा हुँदा क्रिसमस आयो रे, क्रिसमसमा ‘टोकला चिया’ किन्दा १ केजीको यति, हिटर किन्नुस् १८ प्रतिशत छुट, इलेक्ट्रिक हिटर ब्याग किन्नुस् १५ प्रतिशत छुट । अटोका पार्टमा १० प्रतिशत छुट । स्कुल कलेजमा भर्ना खुल्यो आवेदन दिन अन्तिम मिति आज । यस्ता म्यासेजले के अर्थ राख्छ ?

यदि तपाईं विदेश जाने योजनामा हुनुहुन्छ भने तपाईंका लागि आईईएलटीएस कक्षाका विज्ञापन काम लाग्न सक्ला । यदि तपाईं कार तथा बाइक किन्ने तयारीमा हुनुहुन्छ भने कार र अटो पार्टको विज्ञापनले केही अर्थ राख्ला ।

हो, सरकारले दिने सार्वजनिक सरोकारका सूचना त्यसरी आउनु स्वभाविक नै मान्न सकिएला । देशका नागरिकलाई दिइने सूचनामा सबैको पहुँच हुनु नै पर्छ । तपाईंले दैनिक प्रयोग गर्ने सर्भिसको म्यासेज आउनु पनि स्वभाविक नै हो । तर, यहाँ त कुनै सन्दर्भ छैन ।

कुनै तात्पर्य नहुँदा नहुँदै पनि ५ नम्बरको शर्ट कोड तथा ‘एसएमएस बीट’, ‘जेबीएस अलार्ट’ जस्ता विभिन्न नामबाट दैनिक दर्जनौं म्यासेज आइरहेका छन् । पछिल्लो समय त अझ यो स्पामको रूपमै फैलिएको छ ।

अनेकौं कम्पनीले विज्ञापन गर्ने माध्यमको रुपमा यसलाई प्रयोग गर्न थालेका छन् । जसबाट प्रयोगकर्ता शिकार बनिरहेका छन् । हरेक दिन हरेक प्रयोगकर्तालाई त्यसरी म्यासेज गरी विज्ञापन गर्नु कत्तिको व्यवहारिक र कानून संगत हो त ?

विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनलाई आधार मान्ने हो भने यो पूर्णरुपमा गैरकानूनी हो । ऐनको व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिको मञ्जुरीविना कसैको ईमेल वा मोबाइलमा विज्ञापनमूलक सन्देश पठाउन पाइँदैन ।

सँगै यस्ता म्यासेज दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग पनि सम्बन्धित छ । शर्ट कोडका लागि प्राधिकरणबाटै स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यो हिसाबले पनि शर्ट कोडबाट कस्ता सन्देश प्रभाव हुने भन्ने विषय प्राधिकरणले निगरानी गुर्नपर्ने हो ।

तर, हालसम्म यो विषयमा प्राधिकरणबाट खासै पहल भएको पाइँदैन । प्राधिकरणले केही वर्षअघि त्यस्ता सेवाप्रदायकलाई म्यासेजमार्फत विज्ञापन गर्न नपाउने भनेर पत्राचार गरेको भएतापनि त्यसपश्चात थप केही भएको छैन ।

पछिल्लो समय यो अझै स्पामको रुपमा मौलाएको प्राधिकरणका निर्देशक अम्बर स्थिापित आफैं स्वीकार्छन् ।

‘यस्ता शर्टकोड दूरसञ्चार सेवाप्रदायकले दिने हो । उनीहरुले दिएको सेवाको स्वीकृतिका लागि प्राधिकरणमा आउने भएकाले यो हाम्रो दायराभित्र पर्छ,’ निर्देशक स्थापितले भने, ‘त्यस्तो सर्भिसबाट असम्बन्धित व्यक्तिलाई विज्ञापनयुक्त म्यासेज जानु गैरकानूनी हो । यसरी म्यासेजमा विज्ञापन जानु त स्पाम नै हो । जसलाई दूरसञ्चार क्षेत्रका कानूनले पनि रोकेको छ ।’

‘सरकारले दिने सूचना सबै प्रयोगकर्तालाई दिनु स्वभाविकै हो,’ स्थापितले अगाडि भने, ‘सरकारले विशेष दिन तथा विशेष अवस्थामा पठाउने त्यस्ता म्यासेजमा विज्ञापनभन्दा पनि नागरिकले पाउनैपर्ने सूचना हुन्छ । सरकारले दिने जानकारी सबैलाई म्यासेजको रुपमा पठाउन सकिन्छ । अन्य हकमा विज्ञापनको रुपमा कुनै सामग्री पठाउन मिल्ने प्रावधान छैन ।’

उनले विज्ञापन पठाउने यस किसिमको प्रवृत्ति नियन्त्रण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने समेत बताए ।

विदेशमा के छ व्यवस्था ?

अन्य मुलुकमा समेत यसरी अरुको मोबाइलमा म्यासेजको रुपमा विज्ञापन पठाउनु गैरकानूनी मानिन्छ । अमेरिकाको टेलिफोन उपभोक्ता संरक्षण ऐनले ग्राहकको स्वीकृतिबिना यस्ता म्यासेज मोबाइलमा पठाउन नपाउने व्यवस्था गरेको छ ।

यतिसम्म कि कुनै व्यक्तिले मोबाइल नम्बर उपलब्ध गराएको तथा उसको उक्त व्यवसायसँग सम्बन्ध भएको अवस्थामा समेत यस्ता विज्ञापनयुक्त म्यासेज पठाउन लिखित सम्झौता भएको हुनुपर्छ । अन्यथा त्यस्ता म्यासेज पठाउन पाइँदैन ।

त्यस्तै क्यानडाको एन्टी–स्पाम कानून अनुसार यदि कसैले म्यासेज मार्केटिङ गर्छ भने उसले तीन वटा प्रावधानको पालना गर्नुपर्ने हुन्छ । जसमा म्यासेज प्राप्त गर्ने व्यक्तिसँग लिखित स्वीकृति लिनुपर्ने हुन्छ ।

दोस्रो पठाउनेको पहिचान खुल्ने गरी म्यासेज पठाउनु पर्छ । साथै उक्त म्यासेजमा अनसब्सक्राइब गर्न मिल्ने विकल्पसमेत दिनुपर्छ । यदि यी तीनवटै मापदण्ड पुरा गरेको खण्डमा मात्रै म्यासेज मार्केटिङ गर्न पाइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२