काठमाडौँ । अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाएको अतिरिक्त कर हटेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको अतिरिक्त करबाट स्मार्टफोन, कम्प्युटर सहितका उपकरणलाई छुट दिएको हो ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले शुक्रबार एक सूचना जारी गर्दै यी सामानहरूलाई विश्वका अधिकांश देशहरूमा लगाएको १० प्रतिशत कर र चिनियाँ सामानमाथि लगाएको थप करबाट छुट दिने घोषणा गरेको छ ।
ट्रम्प प्रशासनको यस कदमले अमेरिकी प्रविधि कम्पनीहरूले चीनमा निर्मित सामानमा करका कारण ग्याजेटको मूल्य आकासिने डर हटेको छ । छुट पाएका सामानमा स्मार्टफोन, कम्प्युटरसहित अन्य इलेक्ट्रोनिक उपकरण, सेमिकन्डक्टर, सोलार सेल, मेमोरी कार्डलगायत परेका छन् । यी छुटहरू गएको ५ अप्रिलदेखि लागु हुने बीबीसीले जनाएको छ ।
विश्लेषकहरूका अनुसार यदि करको मूल्य उपभोक्तामाथि सरेको भए अमेरिकामा आईफोन र अन्य ग्याजेटको मूल्य तीन गुणासम्म महँगो हुने खतरा थियो । एप्पलले ९० प्रतिशत आईफोन उत्पादन चीनमा गर्दै आएको छ ।
विश्लेषक ड्यान आइभ्सले यो निर्णयलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि तत्कालका लागि ठुलो राहत भनेका छन् ।
यसअघि एप्पलले भारतबाट १५ लाख आईफोन अमेरिकामा ढुवानी गरेको थियो । ट्रम्पको निर्णयले अमेरिकी बजारमा इलेक्ट्रोनिक उपकरणको मूल्य नियन्त्रणमा रहने अपेक्षा गरिएको छ ।