close

९७ बाट सुरु हुने सीडीएमए नम्बर जीएसएमका लागि बाँड्दै टेलिकम

टेकपाना टेकपाना

कात्तिक २९, २०७८ १२:५८

९७ बाट सुरु हुने सीडीएमए नम्बर जीएसएमका लागि बाँड्दै टेलिकम

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले ९८ रेञ्जमा सिमकार्ड सकिएसँगै ९७ मा आधारित भएर जीएसएम सिमकार्ड बिक्री सुरु गरेको छ ।

यसअघि सीडीएमएमा प्रयोग हुँदै आएको ९७ रेञ्जमा आधारित नम्बरलाई जीएसएममा रुपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरिएको हो ।

‘टेलिकमलाई ९८ मा आएको सिमरेञ्ज सकिएपछि सीडीएमएमा उपलब्ध भएको सिमकार्डलाई जीएसएममा रुपान्तरण गरेका हौं,’ टेलिकमका प्रबन्ध निर्देशक डिल्लीरामा अघिकारीले भने ।

सीडीएमएलाई जीएसएमले प्रतिस्थापन गर्ने योजना रहेका कारण अब सीडीएमएमा प्रयोग हुँदै आएको ९७ रेन्ज जीएसएम सेवा प्रयोग गरिएको उनको भनाइ छ ।

राष्ट्रिय नम्बर योजनाले जीएसएम अन्तर्गत टेलिकमलाई ९८४, ९८५, ९८६ गरी तीन फरक रेञ्जमा नम्बर उपल्ब्ध गराएको छ । यी सबैमा एक करोडका दरले नम्बर उपलब्ध छन् । यसको अर्थ ९८ मा आधारित कुल तीन करोड नम्बर टेलिकमसँग उपलब्ध छ ।

‘नम्बरिङ प्लान अनुसार काम गर्दा अब एउटा रेन्जमा ९९ लाख ९९९ ओटा सकियो । अब अर्को सुरु गर्न सम्भव छैन,’ टेलिकमका प्रवक्ता राजेश जोशी भन्छन, ‘यसमा प्याकेजिङको कुरा हुन्छ । त्यो हुँदा हामीले सबै उपलब्ध कोडमा आधारित सिमकार्ड एकैपटक प्रयोगमा ल्याएका हुन्छौं । यसको अर्थ ९८४, ९८५, ९८६ सबैमा आधारित सिमकार्ड सुरुदेखि नै प्रयोगमा आएको छ ।’

उनले अगाडि भने, ‘त्यसरी कुल तीन करोड सिमकार्ड तयार हुने हो । जसमा हामीले जिल्लाअनुसार त्यहाँको मागलाई मध्यनजर गरेर सिमकार्ड पठाउँछौं । त्यसरी सिमकार्ड पठाउँदा पक्कै पनि मागभन्दा बढी पठाउनुपर्ने हुन्छ,’ प्रवक्ता जोशी भन्छन्, ‘किनभने कार्यालयलाई सिमकार्ड स्टकमा राख्नुपर्ने बाध्यता हुन्छ । त्यो हुँदा हाल बजारमा खपत भएको भन्दा बढी सिमकार्ड जिल्लामा पुगिसकेको हुन्छ । त्यो हुँदा पक्कै पनि कुनै कुनै कोडमा सिमकार्ड सकिएको हुनसक्छ ।’

कतिपय सिमकार्ड प्रयोगकर्ताले लामो समय प्रयोगमा नल्याएसँगै त्यो फ्रिज भएर जाने र त्यसलाई पुनः रिसाइक्लिङ गरेर प्रयोगमा ल्याउने खालको प्रचलन पनि छ ।

टेलिकमले गत चैतबाटै ९७६ मा आधारित भएर सिमकार्ड बिक्री गर्न थालेको हो । विस्तारै हाल सीडीएमए सेवा प्रयोग गरिरहेका ग्राहकलाई उनीहरुको सिममै जीएसएम सेवा उपलब्ध गराउने गरी माइग्रेट गर्ने र अन्त्यमा सीडीएमए पूर्णरुपमा बन्द गर्ने योजना कम्पनीले ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२