close

अनलाइनबाट जीवनसाथी खोजिदिने ‘बिहेवारी डटकम’

मेनुक्श मेनुक्श

माघ ३, २०७८ १६:२

अनलाइनबाट जीवनसाथी खोजिदिने ‘बिहेवारी डटकम’

काठमाडौं । माघको महिना चलिरहेको छ । मङ्सिरपछि धेरै बिहे हुने महिना हो यो ।

नेपालको परिप्रेक्ष्यमा विवाह गराइदिने संस्था बिरलै देख्न पाइन्छ । यस्तोमा विगत चार वर्षदेखि धेरै जोडीको लगनगाँठो बाँधिरहेको छ बिहेवारी डटकमले ।

सन् २०१७ ताकाको कुरा हो, कम्पनीका संस्थापक अनन्त पौडेललाई उनका परिवारले बिहेमा जोड दिइरहेका थिए । उनले पत्रिकामा आफ्नै लागि दुलहीको खोजी गर्न थाले ।

दिनहुँजसो कान्तिपुर दैनिकको पछाडिको पेजमा आउने गरेको ‘बिहेवारी’ भन्ने कोलमले उनलाई व्यापारको युक्ति सुझाइदियो । दैनिक रुपमा आउने गरेका विवाहका प्रस्तावलाई उनले जम्मा गर्न थाले ।

सम्पर्क नम्बरहरू संकलन गरे । जोडी मिल्दो लाग्नेहरूलाई भेटाइदिन समेत थाले ।

मान्छेहरू उनीसँग यसरी जोडिन थालेपछि सुरुवातमा त उनी आश्चर्यचकित भए । उनका बाबा पेशाले पण्डित भएकाले पनि उनको राम्रै नेटवर्क थियाे ।

आईटीमा ब्याचलर गरेका अनन्त आफैं वेब होस्टिङ र कोडिङको काम गर्छन् । बिहेवारीको कामलाई नै व्यवसायको रुप दिन सकिन्छ भन्ने छाँट देखेपछि उनले हत्तपत्त अनलाइनमा बिहेवारीको डोमेन हेरे । कसैले लिएको थिएन । अनि तत्काल डोमेन लिएर डिजाइन गरे ।

देश-विदेशबाट फोन आउन थाल्यो । काम राम्रो चल्दै गएपछि उनले २०१९ मा बिहेवारीको एप लन्चका साथै संस्था दर्ता पनि गरे ।

‘असल जीवनसाथी हरपल माथिमाथि’ भन्ने उनको अवधारणाले अन्ततः व्यसायको रुप लियो । पाँच जनालाई रोजगारी समेत दिए ।

हुन त अहिले सम्बन्धप्रति विश्वाश कम हुँदै गएको छ । आफन्तले खोजिदिएको सम्बन्ध त दिगो नहोला भन्ने आशंका रहन्छ । यस्तोमा सेवाग्राहीको मन जित्नु कम चुनौतीपूर्ण कुरा त पक्कै होइन ।

पौडेल भन्छन्, ‘प्रायजसोलाई यो अवधारणाको बारेमा सही रुपले बुझाउन नै कठिन हुन्छ । धेरैलाई लाग्दो रहेछ, यो सेवा अनलाइनबाट सामान खरिद-बिक्री गरेजस्तो हो । तर सम्बन्धको मामलालाई त्यति हलुका रुपमा लिएर कहाँ हुन्छ र !’

विवाहलाई सम्झौताको रुपमा स्वीकार्ने अनन्तले कतिपय सेवाग्राहीले त सामान मोलतोल गरेजस्तो समेत गर्ने गरेको बताए ।

उनी भन्छन्, ‘कुनै सजावटको सामाग्री छानेजस्तो यो मोडेलको चाहियो भन्छन्, जोडी पनि त सुहाउँदो हुनुपर्‍याे नि । ४० वर्षको दुलाहाको लागि २५/२६ को दुलही त मिल्दैन नि ! हामीले सामाजिक रुपमा सहज देखिने जोडी मात्र सिफारिस गर्छौँ ।’

पहिलो विवाह पारपाचुके भइसकेका जोडीको गराएको यो कम्पनीले हालसम्म १५ भन्दा बढी विवाह गराइसकेको छ ।

सुरुवाती दिनमा नै जापान र अष्ट्रेलियाबाट विवाहका लागि जोडी खोज्न कल आउने गरेको थियो । अहिले पनि नेपालभित्रका सेवाग्राही खासै गम्भीर नभएको उनी बताउँछन् ।

कतिपय सेवाग्राहीले मन मिलेपछि बाँकी शुल्क तिर्नुपर्ने लोभमा कम्पनीको सम्पर्कबाट बाहिरिएर सुटुक्क बन्धनमा बाँधिने गरेको तीतो अनुभव पनि उनले सुनाए । ‘तर विदेशमा बस्नेहरू भने कम्पनीमा भरोसा गर्ने र इमान्दारीतापूर्वक प्रस्तुत हुने गरेका छन्,’ उनले सुनाए ।

बिहेवारी डटकममा जोडिन चाहने सेवाग्राहीले कम्पनीको वेबसाइट, एप र फेसबुक पेजमार्फत फारम दर्ता गर्न सक्छन् ।

साथै कम्पनीको कार्यालयमै गएर समेत आफ्नो फारम दर्ता गराउन सक्छन् । जसका लागि निश्चित शुल्क लाग्ने कम्पनीका संस्थापक पौडेलले बताए ।

यसबाट औसत मासिक ४० देखि ४५ हजारसम्म आय गरिरहेको उनी बताउँछन् । कम्पनीले आम्दानीको २० प्रतिशत मासिक रुपमा अनाथलयलाई दान गर्ने गरेको छ ।

करिब पाँच लाखको लगानीमा सुरू गरेको यो व्यवसायमा २० लाखसम्म लगानी भइसकेकाे छ ।

‘व्यस्त समयमा प्रविधिको सदुपयोग गर्न चाहनेका लागि हाम्रो प्लेटफर्म सहयोगी हुनेछ । तसर्थ कम्पनीको भविष्य राम्रो हुने कुरामा हामी विश्वस्त छौँ,’ पौडेल भन्छन् ।

बिहेवारीले चिना, टिपन र भावनात्मक रुपमा जोडी मिलाउनुका साथै अन्य भूमिका निभाइरहेको छ । कम्पनीमार्फत् वैवाहिक कार्यक्रमको चाँजोपाँजो मिलाउने काम समेत पनि हुन्छ ।

त्यसैगरी विदेश जान चाहने, तर कागजी प्रकृयाको बारेमा जानकारी नभएकाहरूलाई डकुमेन्टेसनमा समेत सहयोग गर्दछ । भने, सम्बन्धमा दरार आएमा उनीहरूको सम्बन्धलाई जोगाउन विशेष परामर्शको व्यवस्था समेत गरिदिने काम बिहेबारीबाट नै हुन्छ ।

सेवाग्राहीले कम्पनीको बिना-जानकारी कुनै कदम चालेमा र कुनै घटना घटेमा त्यसको जिम्मेवार आफै हुनपर्ने पौडेलको भनाइ छ । साथै सेवाग्राहीले उपलब्ध गराएका जानकारीको बारेमा समेत स्वयम् जिम्मेवार हुनुपर्नेछ ।

अहिले एपमार्फत सेवाग्राहीले च्याटमा मात्र कुरा गर्न सक्दछन् । सेवालाई प्रभावकारी बनाउन अडियो र भिजुअल दुवै फिचर थप्ने प्रक्रियामा रहेको पौडेलले जानकारी दिए ।

डिजिटल मार्केटिङमा पनि छुट्टै टिम लगाएर काम गरिरहेका छन् उनले ।

काठमाडौंमा रहेर सेवा उपलब्ध गराइरहेको कम्पनीको ब्राण्डलाई व्यापक बनाउने योजनामा रहेका उनी भन्छ्न्, ‘चाँडै नै इटहरी र बुटवलमा शाखा खोल्ने तयारी भइरहेको छ । सातै प्रदेशमा शाखासहित सेवा विस्तार गरेर अन्तर्राष्ट्रिय रुपमा ब्राण्ड स्थापित सोच छ ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२