close

खल्तीमा सुरू भयो क्यूआर भुक्तानी सेवा, लाखौं प्रयोगकर्ता लाभान्वित हुने

टेकपाना टेकपाना

माघ १७, २०७८ १८:५६

खल्तीमा सुरू भयो क्यूआर भुक्तानी सेवा, लाखौं प्रयोगकर्ता लाभान्वित हुने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र पछिल्लो पाँच वर्षदेखि डिजिटल कारोबारको क्षेत्रमा क्रियाशील भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्य भएको छ ।

सोमबार एक कार्यक्रमका बीच फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे ।

सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर (Scan & Pay) मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।

यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं । हामी दुवै कम्पनीको लडाईं भनेको नगद कारोबारसँग हो । क्याशलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्दत पुग्नेछ ।’

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘यस सहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखाैं अप्रत्यक्ष जनता लाभान्वित हुनेछन् । यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ । हामी दुवैको ठूलो उद्देश्य एउटै छ, जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि हामी सँगै अघि बढ्दै छौं ।’

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडl स्थापना भएको फोनपेमा हाल पाँच लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ पीसी आईडी एसएस भी थ्री.टु.वान प्रमाणीकरणप्राप्त संस्था हो ।

सन् २०१७ मा आफ्नो सेवा सुरू गरेको खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बनाउन सफल ब्रान्ड हो ।

२० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन शपिङ्ग साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५