close

के अब खल्ती ग्राहकले पनि ब्याज पाउलान् ?

टेकपाना टेकपाना

फागुन ४, २०८१ १९:१७

के अब खल्ती ग्राहकले पनि ब्याज पाउलान् ?

काठमाडौं । डिजिटल वालेट खल्ती र आईएमई पे एक-आपसमा गाभिने भएका छन् । आइतबार यस विषयमा दुई कम्पनीबीच हस्ताक्षर भएको छ । स्रोतका अनुसार लिखित मर्जर सम्झाैता स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाइएको छ । स्वीकृत भएपछि मर्जरको औपचारिक घोषणा हुनेछ । यससँगै नयाँ डिजिटल वालेटको नाम 'आईएमई खल्ती' हुने भएको छ ।  

नेपालका प्रमुखमध्येका दुई‌ डिजिटल वालेट मर्ज भएपछि यी वालेटका पृथक पृथक फिचर एउटै वालेटमा आउने बताइएको छ । यससँगै आईएमई पे ब्याज दिने नेपालको एक मात्र वालेट हो । खल्तीसँग मर्ज भएसँगै प्रस्तावित नयाँ वालेट ‘आईएमई खल्ती’ ले ब्याज दिन्छ कि दिँदैन भन्ने प्रयोगकर्ताको चासो छ । 

यस विषयमा टेकपानासँग कुरा गर्दै आईएमई पेका एक अधिकारीले दुवै एपका युनिक फिचरहरू एउटै एपमा आउने सैद्धान्तिक योजना रहेको सुनाए ।

“आईएमई पेको युनिक फिचर भनेकै ब्याज दिने हो । नयाँ एपमा यो फिचर अवश्य पनि आउँछ । मुख्य रूपमा दुवै एपमा भएका फरक-फरक र समान फिचरहरू एकै ठाउँमा आउँछन्," उनले भने । 

दुवै एप प्रयोग गरिरहेका प्रयोगकर्ताको हकमा के हुन्छ भन्ने अर्को जिज्ञासा पनि छ । यस विषयमा कुरा गर्दै उनले भने, “हामी दुवै प्लेटफर्मका केवाईसीलाई जोडेर हेर्छौँ । दुवैमा एउटै व्यक्तिको नम्बर र केवाईसी विवरण छ भने स्वतः त्यो मुख्यमा जोडिएर आउँछ, त्यसरी नै रकम पनि आउँछ । केवाईसी भेरिफाई भएका तर दुवै एपका ग्राहक नभएका प्रयोगकर्ताको भने अकाउन्ट स्वतः मर्ज भएर सुरु हुने एपमै आउने छ ।” 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८१ १९:२४