काठमाडौं । मानौं, तपाईँ कुनै ठूलो शपिङ मलमा घुमघाम गर्न अथवा सरसामान किन्न पुग्नु भएको छ । त्यहाँ वाई-फाई छ, तर हरेक तल्ला र स्टोरमा पुग्दा छुट्टाछुट्टै पासवर्ड राखेर लगइन गरिरहनु पर्छ । तर, यसको साटो तपाईँले एक पटक पासवर्ड राखेपछि मलको जुनसुकै कुनामा गए पनि उस्तै गतिमा वाई-फाई चल्ने भयो भने कति सजिलो हुन्थ्यो ।
हो, यस्तै समस्या समाधानको लागि वाई-फाईको नयाँ प्रविधि नेपाल भित्रिएको छ । वायरलेस कनेक्सनको लागि अहिले वाई-फाई फाइभ र सिक्स लोकप्रिय बनिरहेका छन् । तर, यत्तिले मात्रै सबैको आवश्यकता पूरा भइरहेको छैन । साधारण घर र भवनमा यस्ता वाई-फाई प्रविधि उपयोगी देखिए पनि ठूलाठूला भवन र संरचनामा भने वाई-फाई चलाउनु झन्झटिलो नै छ ।
यस्तै किसिमका समस्या समाधान गर्न नेपाल भित्रिएको छ, क्याम्पस वाई-फाई । शपिङ मल, कलेज र ठूला अफिसको लागि उपयोगी यो प्रविधि केही स्थानमा परीक्षण पनि भइसकेको छ ।
ह्वावेले विकास गरेको यो प्रविधि इन्टरनेट सेवा प्रदायक डिशहोमले नेपाल भित्र्याएको हो । विशेषगरी, ठूला शपिङ मल, व्यवसायिक भवन, कलेज, विद्यालय, विश्वविद्यालय लगायत ठूला संरचना भएका र भिडभाड हुने स्थानमा यो प्रविधि उपयोगी हुन्छ ।
ठूला संरचना भएका स्थानमा प्रयोगकर्तालाई निरन्तर रुपमा वाई-फाई नेटवर्कमा जोडिराख्न यो प्रविधि विकास भएको हो । पोखरास्थित ‘पोखरा ट्रेड मल’ मा यो प्रविधिको परीक्षण भइसकेको छ ।
डिशहोमका महाप्रबन्धक मनोज केसीका अनुसार पोखरा ट्रेड मलमा ४१ ओटा वाई-फाई एक्सेस पोइन्ट (एपी) जडान गरिएका छन् । एक्सेस पोइन्ट (एपी) त्यस्ता डिभाइस हुन्, जसले राउटरमा जोडिएर वाई-फाई सिग्नल फ्याँक्ने गर्छन् । यस्ता एपीले चाहेको स्थानमा वाई-फाई सिग्नल पुर्याउन सहयोग गर्छ ।
एक्सेस पोइन्ट (एपी) क्याम्पस वाई-फाईको एउटा महत्त्वपूर्ण पाटो हो । क्याम्पस वाई-फाई पूर्णरूपमा वायरलेस हुने भएकाले वाई-फाई नेटवर्कलाई तोकिएको क्षेत्रमा फैलिन एपीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
‘क्याम्पस वाई-फाईको लागि सुरुमा बेस सर्भिस स्टेसन निर्माण गरिन्छ,’ ह्वावे नेपालका प्राविधिक निर्देशक सागर शर्मा भन्छन्, ‘त्यही बेस सर्भिस स्टेसनले तोकिएको क्षेत्रफलमा राखिएका एपीलाई नियन्त्रण गर्छ र एपीमार्फत् वाई-फाई प्रयोगकर्ता माझ पुग्छ ।’
पोखरा ट्रेड मल पश्चात् यतिबेला डिशहोमले क्याम्पस वाई-फाईको अर्को परियोजनामा काम गरिरहेको छ । आईएमई ग्रुप अन्तर्गतको पानी पोखरीस्थित आईएमई कम्प्लेक्समा पनि क्याम्पस वाई-फाई जडान गर्ने तयारी भइरहेको डिशहोमले जनाएको छ ।
पाँच तलाको उक्त व्यवसायिक भवनका केही स्थान खूल्ला भएपनि धेरै जसो स्थानमा ५०-६० जना बसेर काम गर्दै आएका छन् । क्याम्पसमा वाई-फाई जडान भएपछि एक तलाबाट अर्को तला वा एउटा भवनबाट अर्को भवनमा जाँदा फेरि अर्को वाई-फाई नेटवर्क जोडिराख्नु पर्ने झन्भट हुँदैन ।
केसी भन्छन्, ‘यसका लागि वाई-फाई प्लानरमार्फत सर्वेक्षण गरेर आवश्यक एक्सेस पोइन्टको निर्धारण भइसकेको छ ।’
सर्वेक्षण अनुसार पाँच तलाको उक्त भवनमा १३ ओटा एक्सेस पोइन्ट हुनेछन् । क्याम्पस वाइ-फाई जडान गर्दा वाई-फाई फैलने क्षेत्रफल, त्यसको आकार, भवन, भवनमा रहेका भित्ता, प्रयोगकर्ताको सङ्ख्या, प्रयोगकर्ता अनुसार खपत हुने ब्याण्डविथ, थ्रुपुट तथा प्रयोग हुने एप्लिकेसन आदिका आधारमा कतिओटा एपी राख्ने भन्ने कुराको निर्धारण गरिन्छ ।
उक्त भवनका केही स्थान त्यस्ता छन्, जहाँ सामान्य रुपमा मान्छे पुग्दैनन् । यसको अर्थ त्यस्ता स्थानमा वाई-फाईको प्रयोग उतिसाह्रो हुँदैन । केसीका अनुसार कहिलेकाहीँ मात्रै इन्टरनेट प्रयोग हुने ती स्थानमा ‘मेश नोड’ राखिन्छ । जसले नजिकै रहेको कुनै एक्सेस पोइन्टमार्फत प्रयोगकर्ता त्यहाँ पुगेको खण्डमा वाई-फाई नेटवर्क प्रदान गर्दछ ।
क्याम्पस वाई-फाईको महत्त्वपूर्ण पाटो नै ‘एपी’ हो । यसले एक तलाबाट अर्को तलामा जाँदा होस् वा एउटा एपीको नेटवर्क कभरेजबाट अर्को एपीमा पुग्दा नै किन नहोस्, बारम्बार वाई-फाईमा कनेक्ट गरिराख्नुपर्ने झन्झट अन्त्य गरिदिन्छ । साथै नेटवर्क पनि सबै ठाउँमा एकनास उपलब्ध हुने भएकाले इन्टरनेट एक ठाउँमा चल्ने अनि अर्को ठाउँमा नचल्ने जस्ता समस्या पनि हुँदैन ।
क्याम्पस वाई-फाई पनि वाई-फाई सिक्समै आधारित भएर चल्ने गर्दछ । डिशहोमले ह्वावेसँगको सहकार्यमै नेपालमा वाई-फाई सिक्स प्रविधि भित्र्याएको हो । हुन त वाई-फाई सिक्स पनि वाई-फाई फाइभ जस्तै २.४ र ५ गिगाहर्ज गरी डुअल ब्याण्ड अर्थात् दुई ब्याण्डमै आधारित राउटर हो ।
तर, यसलाई फ्रिक्वेन्सी र प्रविधिसँगै अन्य थुप्रै कुराले विशेष बनाएको छ । वाई-फाई सिक्समार्फत् ३००० एमबीपीएस गतिसम्मको ‘एयर इन्टरफेस रेट’ मार्फत दश जीबीपीएस सम्मको थ्रुपुट पाउन सकिन्छ ।
जसले गर्दा इन्टरनेट फास्ट चल्नुका साथै यसको कभरेज पनि फराकिलो हुन्छ । विशेषगरी धेरै प्रयोगकर्ता हुने स्थानमा वाई-फाई सिक्सको उपयोगी मानिन्छ । किनभने अघिल्ला वाई-फाई प्रविधिको तुलनामा वाई-फाई सिक्सले धेरै प्रयोगकर्ता र ब्याण्डविथ दुवैलाई थेग्ने सामर्थ्य राख्दछ । अझ वाई-फाई सिक्स सपोर्ट गर्ने डिभाइस भएको खण्डमा प्रयोगकर्ताले यसमार्फत छुट्टै अनुभव प्राप्त गर्न सक्छन् ।
यस्ता छन्, क्याम्पस वाई-फाईका विशेषता
पछिल्लो समय काम गर्ने तरिकामा निकै परिवर्तन आएको छ । आफूलाई पायक पर्ने स्थानमा बसेर काम गर्नुपर्ने अहिलेको आवश्यकता अनुसार सबै स्थानमा तार (ल्यान) जोडेर इन्टरनेट पुर्याउनु त्यति व्यवहारिक हुँदैन । जसले गर्दा सबै ठाउँमा उच्च गतिको इन्टरनेट पुर्याउन क्याम्पस वाई-फाई निकै फलदायक हुन्छ ।
क्याम्पस वाई-फाईका लागि आवश्यकता र स्थान अनुसारको सेवा लिन सकिने केसी सुनाउँछन् । क्याम्पस वाई-फाई मार्फत् एक्सेस पोइन्टबाट पनि आवश्यकता अनुसार छुट्टाछुट्टै नेटवर्क प्रदान गर्न पनि सकिन्छ । उदाहरणका लागि कुनै एउटा शपिङ मलमा रहेको एउटा स्टारलाई ६० एमबीपीएसको इन्टरनेट आवश्यक पर्यो, अर्को स्टोरलाई १०० एमबीपीएस । यस्तोमा छुट्टाछुट्टै राउटर राख्नु समेत नपर्ने केसी बताउँछन् ।
एउटै एक्सेस पोइन्टमार्फत प्रयोगकर्ताको लागि एकथरी स्पिड र स्टोरको आवश्यकता अनुसार अर्को थरी स्पिड व्यवस्थापन गर्न समेत सकिन्छ । त्यसभन्दा पनि क्याम्पस वाई-फाईको अर्को महत्त्वपूर्ण पक्ष यसमा उपलब्ध ‘बिमफर्मिङ’ प्रविधि हो ।
सामान्यतया राउटरहरू ‘ओम्निडिरेक्सनल’ हुन्छन् । अर्थात् राउटरले सबैतिर समान सिग्नल फालिरहेको हुन्छ । तर क्याम्पस वाई-फाई एआई प्रविधिमा आधारित हुने भएकाले यसमा हुने ‘बिमफर्मिङ’ प्रविधिले राउटरमा कनेक्ट भएको डिभाइसलाई बढी ध्यान दिने गर्छ ।
त्यसो हुँदा राउटरमा जुन डिभाइस कनेक्ट भइरहेको छ, उक्त डिभासमा स्थिर प्रकारको कनेक्सन प्रदान गर्छ । सँगसँगै यसमा ‘डुअल ब्याण्ड वाई-फाई स्ट्रिङ’ नामक अर्काे फिचर पनि हुन्छ । जसको सहयोगमा ५ गिगाहर्ज र २.४ गिगाहर्जमा आवश्यकता अनुसार आफै कनेक्ट गराउँछ ।
यदि तपाईँको मोबाइल वा ल्यापटप राउटरको नजिक छ भने ५.२ गिगाहर्जमा कनेक्ट हुन्छ । तर यदि तपाईँको डिभाइस राउटरबाट टाढा छ भने स्वतः २.४ गिगाहर्ज नेटवर्कमा कनेक्ट हुन्छ । डिभाइस स्वचालित रुपमा कनेक्ट हुने भएकाले प्रयोगकर्ताले एकबाट अर्कोमा आफैँ कनेक्ट गराइराख्नु पर्ने झन्झट लिइरहनु पर्दैन ।
यसमा रहेको अर्को प्रविधि भनेको ‘अर्थोगोनल फ्रिक्वेन्सी डिभिजन मल्टिपल एक्सेस’ (ओडीएफएमए) हो । यसले एकै पटकमा धेरै डिभाइसलाई डेटा ट्रान्सफर गर्ने क्षमता राख्दछ । सामान्यतया हामीले राउटरलाई वाई-फाई नेटवर्क प्रदान गर्ने उपकरणको रुपमा मात्रै हेरिरहेका हुन्छौँ ।
तर, यसले प्रयोगकर्ताको माग अनुसार कण्टेन्ट उपलब्ध गराउने काम पनि गर्छ । अन्य वाई-फाईको हकमा एउटा राउटरले एक पटकमा चार जना प्रयोगकर्तालाई सँगै डेटा पठाउन सक्छ । तर, वाई-फाई सिक्समा आधारित क्याम्पस वाई-फाईको हकमा भने यसले एकै पटक ८ जनालाई डेटा पठाउन सक्छ ।
जसले गर्दा लेटेन्सी कम हुन्छ र प्रयोगकर्तालाई इन्टरनेटमा छुट्टै किसिमको अनुभव प्राप्त हुन्छ । तर, यी सबैको लागि एउटा ‘बेस सर्भिस स्टेसन’ निर्माण गर्नुपर्ने हुन्छ ।
जसले कभर गरिएको क्षेत्रभित्र रहेका कुनै पनि एक्सेस पोइन्टलाई नियन्त्रण गर्ने काम गर्दछ । साथै कुनै एपीमा समस्या आएको खण्डमा स्वतः त्यसलाई अर्को एक्सेस पोइन्टसँग जोडेर प्रयोगकर्तालाई निरन्तर इन्टरनेट प्रदान गर्न मद्दत गर्छ ।
क्याम्पस वाई-फाईमा उपलब्ध ‘डब्लूपीएथ्री इन्क्रिप्सन’ अर्को महत्त्वपूर्ण विशेषता हो । डेटाको सुरक्षा महत्त्वपूर्ण हुने व्यक्ति तथा संस्थाहरूका लागि ‘डब्लूपीएथ्री इन्क्रिप्सन’ सेक्युरिटी फिचरले इन्टरनेटलाई सुरक्षित राख्न सहयोग गर्दछ ।
कसरी निर्धारण हुन्छ एक्सेस पोइन्ट (एपी) ?
क्याम्पस वाई-फाईको सबैभन्दा महत्वपूर्ण पाटोको रूपमा रहेको एक्सेस पोइन्ट (एपी) व्यवस्थित र मापदण्ड अनुसार नभएको खण्डमा नेटवर्क कभरेजमा समस्या आउन सक्छ । मापन गरेर एक्सेस पोइन्ट निर्धारण भएको खण्डमा यसले एकै पटकमा धेरै प्रयोगकर्तालाई धान्न सक्छ ।
क्याम्पस वाई-फाई जडान गर्दा वाई-फाई फैलने क्षेत्रफल, त्यसको आकार, भवन, भवनमा रहेका वाल, प्रयोगकर्ताको सङ्ख्या, प्रयोगकर्ता अनुसार खपत हुने ब्याण्डविथ, थ्रुपुट तथा प्रयोग हुने एप्लिकेसनको आधारमा एपी कतिओटा राख्ने भन्ने कुराको भन्ने निर्धारण हुन्छ ।
त्यसरी निर्धारण गरी एक्सेस पोइन्ट तयार पार्दा एउटा नेटवर्कसँग अर्को नेटवर्क जुध्ने लगायतका समस्या पनि रहँदैनन् । वाई-फाई सिक्समा यस किसिमको समस्या नहुने भएकाले बिना कुनै अवरोध प्रयोगकर्ताले उच्च गुणस्तरीय भिडिओ लगायतका सामग्री हेर्न सक्छन् ।