close

अनलाइनबाट पैसा कमाउने १० तरिका

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १६:५६

अनलाइनबाट पैसा कमाउने १० तरिका

काठमाडौं । अबको १०-१२ वर्षपछि जब तपाईं आफ्नो स्कुलका दिनलाई फर्केर हेर्नुहुन्छ, तपाईंको दिमागमा पक्कै एउटा प्रश्न हुनेछ- मैले किन यस्ता विषय पढें जुन वास्तविक संसारमा कहिल्यै लागू हुँदैन ?

तपाईंले आफ्नो दैनिक जीवनमा तपाईंले पढेकाे त्रिकोणमिति, बीजगणित र क्याल्कुलस सूत्र प्रयोग हुनेछ भन्ने निश्चय छैन । वास्तवमा भन्नुपर्दा संसार कसरी परिवर्तन भइरहेको छ र आधुनिक समाजको रूपमा कसरी उभरिरहेका छौं भन्ने विषयलाई गहिरिएर हेर्दा अझै पनि शिक्षा प्रणालीको विषयमा हामी पुरानो समयमा नै छौं ।

आज पनि युवाहरूले विभिन्न सूत्र र मिश्रणहरू सिक्न घण्टौं बिताइरहेका छन् । यद्यपि, वास्तविक संसारमा सीपमूलक शिक्षा लिनु पनि उत्तिकै महत्त्वपुर्ण छ । सुरक्षित भविष्यका लागि किशोरकिशोरीहरूलाई तयार पार्न सानै उमेरदेखि नै पैसाको मूल्य र आर्थिक स्वतन्त्रता बुझ्नसक्ने बनाउनु जरुरी छ ।

आजको दिनमा सायद यी कुरा सिक्ने सबैभन्दा उपयुक्त तरिका भनेको उनीहरूलाई अनलाइन माध्यमबाट पैसा कमाउनको लागि प्रत्यक्ष रूपमा प्रेरित गर्नु पनि हो ।

इन्टरनेटले संसारमा प्रभुत्व जमाउन थालेपछि, साना बच्चाहरूको अगाडि धेरै भर्चुअल अवसरहरू खुलेका छन्। कोरोनाले घरबाट नै काम गर्ने वातावरण पनि बनाउन मद्दत गरेको छ र अब, वयस्कहरू बाहेक, यसले किशोरकिशोरीहरूलाई पनि अनलाइन पैसा कमाउनसक्ने धेरै तरिका उपलब्ध गराएको छ । 

१. फ्रिलान्सिङ 

कोरोना महामारी फैलिएसँगै फ्रिलान्सिङ (कुनै कम्पनीमा आबद्ध नभई काम गर्ने) र घरबाटै काम गर्ने प्रवृत्ति व्यापक रुपमा प्रचलनमा आयो । घरबाट काम गर्ने प्रचलनले हजारौं मानिसलाई भर्चुअल कामदारको रुपमा परिणत गरिदियाे ।

सामान्य भाषामा बुझ्नुपर्दा फ्रिलान्सिङ भनेको एक व्यक्तिले एउटा कम्पनीसँग आबद्ध हुनुको सट्टा स्वतन्त्र रूपमा काम गर्नु हो । अनलाइन माध्यमबाट पैसा कमाउन चाहने युवाले फ्रिलान्सिङ गर्न सक्छन् ।

कन्टेन्ट राइटिङ अर्थात विभिन्न प्रकाशित हुने सामग्रीहरू लेख्ने, सम्पादन गर्ने, एप विकास, डिजाइन र धेरै अन्य कामसहित विभिन्न क्षेत्रमा स्वतन्त्र रुपमा काम गर्न सक्छन् । यीमध्ये पनि कन्टेन्ट राइटिङ र डिजाइन फ्रिलान्सिङ कामको सबैभन्दा लोकप्रिय क्षेत्रहुन्। उत्पादनको महत्त्व र आवश्यकता बताउन सामग्री महत्त्वपूर्ण हुन्छ ।

कम्पनीहरूले सामग्री लेखकहरू करारमा नियुक्त गरिरहेका हुन्छन् । यसले सम्भावित उपभोक्तासँग कम्पनीको दृष्टिकोण शेयर गर्न सहयोग गर्छ । योसँगै अनलाइन माध्यमबाट गर्नसक्ने अर्को काम भनेको प्रुफ रिडिङ अथवा सामग्री सम्पादन गर्ने काम पनि हो ।

कतिपय प्रकाशित हुने सामग्रीमा व्याकरणहरू प्रमाणीकरण गर्ने काम पनि उपलब्ध हुन्छ । तर स्कुल अथवा हाई स्कुलमा पढिरहेका विद्यार्थीको व्याकरण राम्रो हुन्छ । यसले गर्दा उनीहरूले प्रुफ रिडिङको काम गर्न सक्छन् । इन्टरनेटको सहज उपलब्धताले गर्दा स्वतन्त्र रुपमा काम गर्ने व्यक्तिहरूलाई राम्रो अवसर प्रदान गरिरहेको छ ।

२. ग्राफिक डिजाइनिङ 

संसार डिजिटल प्लेटफर्मतिर सरिरहेको छ र यो डिजिटल संसार उत्कृष्ट ग्राफिक्स बिना अधुरो छ । यदि तपाईं एउटा कलाकारको आँखाबाट संसार देख्न चाहनुहुन्छ र कलाप्रति आकर्षित हुनुहुन्छ भने ग्राफिक डिजाइनिङ तपाईंको लागि उत्तम विकल्प हुनसक्छ ।

स्केचिङ र चित्रकलामा गहिरो रुचि भएका विद्यार्थीहरूले डिजिटल डिजाइन सफ्टवेयरको बारेमा युट्युव वा अन्य अफलाइन कक्षाहरू मार्फत आफ्नो ज्ञान बढाउन सक्छन् ।

एकचोटी तपाईंले कसरी काम गर्ने भनेर जानिसकेपछि, आफ्नो हातले बनाएको रेखाचित्रहरूलाई डिजिटल कलामा रूपान्तरण गर्न र पैसा कमाउनको लागि प्रयोग गर्न सक्छन् । तपाईंले विभिन्न व्यापारिक सामानहरू जस्तै; टी-शर्ट, मग, सिरानी, नोटबुकहरू आफ्नो डिजाइनमा तयार पारी बेच्न सक्नुहुन्छ।

३. वेबसाइट डिजाइनिङ 

आजको यो डिजिटल जमानामा पनि आफ्नो व्यवसायको प्रवर्द्धनको लागि वेबसाइट नबाउने मानिसले आफ्नो व्यवसायलाई पछाडि धकेलिरहेका छन् । आजको प्रतिस्पर्धी बजारमा प्रत्येक कम्पनी, विशेषगरी साना व्यवसायहरूले समेत वेबसाइटहरूमा बढी ध्यान दिइरहेका हुन्छन् ।

विद्यार्थीहरूले वर्डप्रेसजस्तै कोडिङ र कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस) का बारेमा अध्ययन गर्न सक्छन् र कम्पनीहरूलाई अनुकूलित वेबसाइट प्रदान गर्न सक्छन् ।

घरबाट बाहिर ननिस्की यस क्षेत्रको बारेमा अनलाइन माध्यमबाट नै सिक्न र सिक्नको लागि विभिन्न पाठ्यक्रमहरू पनि उपलब्ध छन् । 

४. इन्फ्लुएन्सर 

सामान्यतया इन्फ्लुएन्सर त्यस्तो व्यक्तिलाई भन्ने गरिन्छ, जसको सामाजिक सञ्जालका प्लेटफर्ममा धेरै फलोअर हुन्छन् । युवाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न युट्युव शर्ट्स, टिकटक, इन्स्टाग्राम रिल्सजस्ता छोटो भिडिओ प्लेटफर्ममार्फत अनलाइन पैसा कमाउन सक्छन् ।

यी प्लेटफर्महरूमा विभिन्न उत्पादन अथवा वस्तुहरूको समीक्षा गर्ने, ब्रान्डहरू प्रवर्द्धन गर्ने, उत्पादनहरू बेच्ने लगायतका काम गर्न सकिन्छ । साथै धेरै फलोअर बनाएर अरूको उत्पादन प्रवर्द्धन गर्ने काम पनि गर्न सकिन्छ ।

५. ब्लगिङ र युट्युव भिडिओ 

ब्लगिङ गर्ने अथवा युट्युवमा भ्लगिङ गरेर पैसा कमाउने माध्यमलाई अनलाइन पैसा कमाउनेमध्ये एक उत्तम तरिकाको रुपमा मानिन्छ । ब्लगिङ किशोर-किशोरीहरूका लागि राम्रो पैसा कमाउने अर्को उत्कृष्ट अवसर भएको छ । पहिले लेखनलाई आफ्नो विश्वास र आवेगव्यक्त गर्ने माध्यम मात्र मानिन्थ्यो ।

जबदेखि ब्लगहरू बजारीकरणको अपरिहार्य अंश बने, यो क्षेत्रले ठूलो गति प्राप्त गरेको छ । अनलाइनमा वर्डप्रेस, टम्बलर लगायतका थुप्रै ब्लगिङ प्लेटफर्म उपलब्ध छन्, जुन तपाईंले आफ्नो लागि छनौट गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो रुचि अनुसारको कुनै पनि विषय छान्न सक्नुहुन्छ र सो सम्बन्धी जानकारी वा आफ्नो अनुभव ब्लगमार्फत शेयर गर्न सक्नुहुन्छ ।

ती प्लेटफर्ममा लगातार ब्लगहरू राखेर पैसा कमाउन सक्नुहुन्छ । यसरी धेरै ट्राफिक भएको ब्लगमा विज्ञापनहरू पनि चलाउन सकिन्छ ।

ब्लगिङ बाहेक युट्युव भिडिओहरूले पनि किशोर-किशोरीहरूलाई उत्कृष्ट एक्सपोजर दिइरहेकाे छ र उनीहरूलाई पैसा कमाउन मद्दत गरेकाे छ ।

तपाईं कुनै पनि विशेष क्षेत्र जस्तै; सौन्दर्य, घुमघाम, स्वास्थ्य, फिटनेस वा तिनीहरूसँग सम्बन्धित अन्य जानकारी छनोट गर्न सक्नुहुन्छ । तपाईं आफ्नो भ्लग बनाएर युट्युवमार्फत पैसा कमाउन सक्नुहुन्छ । 

६. एफिलिएट मार्केटिङ 

एफिलिएट मार्केटिङ धेरैका लागि नयाँ लाग्न सक्छ । आजको दिनमा याे मार्केटिङ अथवा बजारीकरणको एक महत्त्वपूर्ण पक्ष भएको छ । यसको अभ्यास विगत केही वर्षमा उल्लेखनीय रूपमा बढेको छ, र मानिसहरूले यसलाई राम्रोसँग बुझेका छन् ।

यो एक व्यापक प्रविधि हो, जसको माध्यमबाट मार्केटर (मार्केटिङ गर्ने व्यक्ति) हरूले अन्य कम्पनीका उत्पादन बिक्री गरेर आम्दानी गर्छन् । तपाईंले कुनै पनि कम्पनीका उत्पादन बेच्दा प्रत्येक पटक कमिसन कमाउनुहुन्छ ।

यदि तपाईंसँग सोसल मिडिया ब्रान्डिङ र डिजिटल मार्केटिङको आधारभूत ज्ञान छ भने यो कामले तपाईंलाई ठूलो रकम कमाउन मद्दत गर्नसक्छ ।

यो परम्परागत मार्केटिङको लोकप्रिय विकल्प बनेको हुनाले बजारमा यसको माग निकै नै बढेको छ । तपाईं छोटो अवधिको डिप्लोमाको साथ एक प्रमाणित एफिलिएट मार्केटर बन्न सक्नुहुन्छ र आफ्नो आम्दानी अनलाइनमार्फत गर्न सक्नुहुन्छ । 

७. अनलाइन सर्भे 

अनलाइन सर्भे अनलाइनबाट पैसा कमाउने अर्को सजिलाे तरिका हो । स्व्यागबक्स (Swagbucks) एक लोकप्रिय अनलाइन वेबसाइट हो, जसले युवालाई सर्वेक्षण भर्न र भिडिओहरू हेर्दा लागि पैसा दिन्छ ।

तपाईंले यो वेबसाइटमा आफ्नो रजिस्टर गरेर आफ्नो मेलमा सर्वेक्षणहरू प्राप्त गर्नुहुनेछ । एकचोटी तपाईंले ती फारमहरू भर्नुभएपछि तपाईंले अंकहरू कमाउनुहुनेछ, जुन नगदको रूपमा रिडिम गर्न सकिन्छ ।

तपाईं टोलुना (Toluna), टेलि प्लस (Telly Pulse), क्यासक्रेट (CashCrate) लगायत विभिन्न वेबसाइटमा रजिस्टर गरेर अनलाइन सर्भेमा सहभागी भई पैसा कमाउन सक्नुहुन्छ ।

८. अनलाइन टिचिङ 

कोरोना महामारीले मानिसलाई घरभित्र बस्न बाध्य बनायो । शिक्षा प्रणाली तहसनहस भयो । तर, शैक्षिक प्रक्रियालाई निरन्तरता दिन अनलाइन शिक्षाको प्रवर्द्धन भयो ।

त्यसपछि शिक्षा क्षेत्रमा साना स्टार्टअपहरूको निरन्तर वृद्धि भइरहेको छ, जसले युवालाई उनीहरूको शिक्षण सीपलाई परिष्कृत गर्ने मौका दिएको छ ।

बजारमा अहिले यस्ता धेरै प्लेटफर्म आएका छन्, जसमा तपाईं शिक्षकका रूपमा काम गर्न सक्नुहुन्छ ।

यसबाहेक आफ्नै अनलाइन कक्षाहरू पनि सुरु गर्न सकिन्छ । तपाईं अन्य विद्यार्थीहरूसँग कुनै पनि क्षेत्रमा आफ्नो विशेषज्ञता शेयर गर्न सक्नुहुन्छ । यो पनि युवा तथा किशाेरकिशाेरीका लागि पैसा कमाउने सम्भाव्य तरिकामध्ये एक हाे । 

९. साना व्यवसाय

सन् २०१६ मा इन्स्टाग्रामले आफ्नो व्यापार र किनमेल फिचरको घोषणा गरेपछि यसले अनलाइन व्यापार गतिविधिलाई बढावा दियो, र विगत केही वर्षदेखि युवाहरूले पनि यसलाई गम्भीर रूपमा लिइरहेका छन् ।

इन्स्टाग्राममा धेरै अकाउन्टहरू छन्, जुन किशोरहरूले ह्यान्डल गर्छन् । उनीहरू यो प्लेटफर्ममा तस्वीरहरू, व्यापारिक सामान, हातबाट बनेका उपहार र अन्य चीजहरू बेच्छन् र अनलाइनबाट पैसा कमाउँछन् ।

तपाईं आफ्नै ई-कमर्स खोल्न र आफ्नो उत्पादन अनलाइनबाट बेच्न पनि सक्नुहुन्छ । यसलाई स्थिरता चाहिन्छ, र यसले तपाईंको ग्राहकलाई ब्रान्डसँग संलग्न गराउन मद्दत गर्दछ । सुरुमा यसले केही समय लिन्छ, तर एकपटक स्थापित भएपछि धेरै पैसा कमाउन सक्नुहुन्छ ।

१०. डेटा इन्ट्री 

डेटा इन्ट्री गर्ने काम पनि धेरै पैसा कमाउन सकिने प्लेटफर्ममध्ये एक हो । यो काम पनि घरमै बसेर अनलाइन माध्यमबाट गर्न सकिन्छ । तर यसका लागि तपाईंको टाइपिङ स्पिड राम्रो हुनुपर्छ ।

कुनै लगानीबिना नै यो काममार्फत युवाले सजिलै अनलाइन पैसा कमाउन सक्छन् । इन्टरनेटमा धेरै वेबसाइटहरू छन्, जसले किशोरकिशोरीहरूलाई उनीहरूका लागि डेटा सिर्जना गर्न वा वर्गीकरण गर्न दिन्छ ।

कम्पनीहरूले सामान्यतया यस्ता काम गर्न अस्थायी व्यक्तिहरू छान्छन्, जसको फाइदा घरमै बसेर काम गर्ने युवाले लिनसक्छन् । 

बिजनेस इन्साइडरबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२