close

के फेसबुकलाई टिकटकले भित्रभित्रै सिध्याउँदै छ ?

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १९:५६

के फेसबुकलाई टिकटकले भित्रभित्रै सिध्याउँदै छ ?

काठमाडौं । गत वर्षदेखि सुरु भएको टिकटक र फेसबुकबीचको समस्या अहिले पनि यथावत् नै छ । गत वर्ष अलिक कम थियो भने यो वर्ष फेसबुकलाई टिकटकसँग झन् धेरै समस्या भएको छ ।

चिनियाँ स्वामित्वको भिडिओ एप टिकटकले मार्क जुकरबर्गको सामाजिक सञ्जाललाई भित्रबाटै खाइरहेको छ, पहिले फेसबुक प्रयोगकर्तालाई लोभ्याएर र अब फेसबुकलाई पनि समाचार स्रोतका रूपमा चुनौती दिएर ।

यसको प्रमाण हो, फेसबुकको घट्दो प्रयोगकर्ता र आम्दानी । फेसबुकको मूल कम्पनी मेटाले गएको बुधबार आफ्नो वार्षिक आम्दानी ७ प्रतिशतले वृद्धि भएको बताएको छ । यो आम्दानी फेसबुकको विगत एक दशककै सबैभन्दा कम हो ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता २०२१ को अन्त्यबाट २ प्रतिशतभन्दा कमले बढेको छ । शेयरको मूल्य भने १५ प्रतिशतले वृद्धि भएको छ । आफ्नो प्रयोगकर्ता घट्नुमा मेटाले टिकटकलाई दोष दिएको छ ।

टिकटकमा प्रयोगकर्ताको संलग्नता धेरै भएपछि फेसबुकको प्रयोगकर्ता घटेको मेटाको भनाइ छ । टिकटकले भने सार्वजनिक रुपमा आफ्नो व्यवसायको तथ्याङ्क उपलब्ध गराउँदैन ।

सन् २०२२ को पहिलो त्रैमासिकमा टिकटकका लगभग १.६ अर्ब मासिक सक्रिय प्रयोगकर्ता थिए, जबकि फेसबुकका २.९ अर्ब सक्रिय प्रयाेगकर्ता थिए ।

एक वर्षअघिको तुलनामा टिकटकका सक्रिय प्रयोगकर्ता ४५ प्रतिशतले वृद्धि भएका छन् ।

प्रयोगकर्ता टिकटकमा आकर्षित हुनुको अर्को कारण समाचार सामग्री पनि हो । गत वर्षसम्म ३१ प्रतिशत अमेरिकी नागरिकले फेसबुकलाई समाचारको स्रोत मान्थे, जबकि ६ प्रतिशत नागरिकले मात्र टिकटकलाई आफ्नो सूचनाको स्रोतको रुपमा लिएका थिए ।

रूस र युक्रेनबीचको युद्धसँगै नतिजा फरक देखिएकाे छ । युक्रेन र रुसबीचको द्वन्द्वका भिडिओ फुटेजहरू हेर्नको लागि टिकटक एउटा प्रभावकारी माध्यम बनेको छ ।

हालसम्म ह्यासट्याग युक्रेन (#Ukraine) सहितको ४० अर्ब भिडिओ टिकटकमा उपलब्ध छ ।

यता मेटाले प्रयोगकर्ता फिर्ता ल्याउन आफ्नै भिडिओ फिड, रिल्स ल्याएकाे छ । तर टिकटकसँगकाे प्रतिस्पर्धामा मेटा धेरै पछि धकेलिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२