close

के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?

टेकपाना टेकपाना

जेठ १२, २०७९ १५:२५

के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?

काठमाडौं । तपाईँले कतै घडी पसलमा घडी किन्न गएको बेला होस् वा अन्य कुनै विज्ञापन देख्दा नै किन नहोस्, जहाँ पनि घडीको समय १० बजेर १० मिनेटमा सेट गरेको देख्नु भएकै होला । घडी बिक्री हुने विभिन्न ठाउँमा घडीको समय एउटै अर्थात १० बजेर १० मिनेट राखेको देख्दा किन भन्ने जिज्ञासा मनमा लागेको हुनसक्छ ।

यदि तपाईँले अहिलेसम्म यो कुरा ख्याल गर्नुभएको छैन भने कुनै पनि घडीको विज्ञापन हेर्नुभयो भने त्यहाँ १० बजेर १० मिनेटको समय नै देख्नु हुनेछ । आज हामी तपाईँलाई प्रायः घडीमा किन उही समय राखेर विज्ञापन गरिएको हुन्छ भन्ने बारेमा बताउँदै छौँ ।

बिक्रेताले किन घडीमा सधैँ १० बजेर १० मिनेटको समय राखेका हुन्छन् भन्ने विषयमा धेरै भ्रामक कुराहरू पनि फैलिएका छन् । सुरुमा बिक्री गर्न घडीको समय १० बजेर १० मिनेट राख्नु पछाडिका केही भ्रामक कुराहरूबारे चर्चा गरौँ ।

१० बजे १० मिनेट एउटा त्यस्तो समय थियो, जुन समयमा अब्राहम लिंकन, जोन फिट्जेरल्ड केनडी, मार्टिन लुथर किङ्ग जुनियरलाई गोली हानी हत्या गरिएको थियो भन्ने गरिन्छ । तर यो भ्रम मात्र हो । वास्तवमा अब्राहम लिङ्कनलाई रातको १० बजेर १५ मिनेटमा गोली हानिएको थियो ।

गोली लागेको करिब नौ घण्टापछि बिहान ७ बजेर २२ मिनेट जाँदा उनको मृत्यु भएको थियो । त्यस्तै अमेरिकाका ३५ औं राष्ट्रपति जोन फिट्जेरल्ड केनडीलाई दिउसोको १२ बजेर ३० मिनेटमा गोली लागेको थियो ।

उनको मृत्यु गोली लागेको आधा घण्टापछि भएको थियो । त्यस्तै अर्का व्यक्ति मार्टिन लुथर किङ्गलाई साँझ ६ बजेर एक मिनेट जाँदा गोली लागेको थियो । गोली लागेको एक घण्टा पछि अर्थात् सात बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको थियो । यसरी उनीहरूको वास्तविक गोली लागेको र मृत्यु भएको समय हेर्दा त्यो भ्रम मात्र हो भन्ने प्रष्ट हुन्छ ।

त्यस्तै घडीमा डिफल्ट टाइम १० बजेर १० मिनेट राख्नुका पछाडि एक अर्को भ्रम प्रचलित छ । दोस्रो विश्व युद्धको बेला हिरोसिमा र नागासाकीमा आणविक बम बिस्फोट हुँदा १० बजेर १० मिनेट गएकाले त्यसैको सम्झनामा स्वरूप घडीमा १० बजेर १० मिनेटको समय राखिएको भ्रम छ ।

वास्तवमा नागासाकीमा ‘फ्याट म्यान’ नामक आणविक बम बिस्फोट हुँदा त्यहाँ बिहानको ११ बजेर दुई मिनेट गएको थियो । त्यस्तै हिरोसिमामा ‘लिटल ब्याई’ नामक आणविक बम स्थानीय समय अनुसार बिहान ८ बजेर १५ मिनेटमा बिस्फोट गराइएको थियो । त्यसबाट यो कुरा प्रस्ट हुन्छ कि उल्लेखित दुई कुरा भ्रम बाहेक केही होइनन् ।

त्यसोभए घडीको डिफल्ट टाइम १० बजेर १० मिनेट राख्नुको वास्तविकता के हो त ? प्रायः धेरै कम्पनीले आफ्नो लोगो घडीको १२ अङ्कको ठीक तल राखेका हुन्छन् । घडीमा १० बजेर १० मिनेटको समय राख्दा कम्पनीको लोगो ठीक बीचमा पर्छ । जसले गर्दा मानिसहरूको नजरमा कम्पनीको लोगो पर्छ ।

त्यही लोगो मानिसहरूको नजरमा पर्दा उनीहरू त्यसतर्फ आकर्षित भएर घडी खरिद गर्छन् । एउटा यही मनोवैज्ञानिक कारणले गर्दा घडीको डिफल्ट टाइम १० बजेर १० मिनेट सेट गरिएको हुन्छ । त्यस्तै घडीमा मिति, बार वा अन्य कुरा ३, ९ वा ६ नम्बरको छेउमा राखिएको हुन्छ । मुख्य सुई १० बजेर १० मिनेट राख्दा ती चिजहरू प्रस्ट देखिन्छन् ।

प्रायः फोटोग्राफरले लोगो देखाउनका लागि १० बजेर १० मिनेट जाँदा फोटो खिच्ने गरेको भएपनि वैज्ञानिक कारण भने केही फरक रहेको छ । रियल क्लियर साइन्सले गरेको खोजमा के पत्ता लागेको छ बने १० बजेर १० मिनेटको सुई सेट गर्दा घडीमा स्माइलीको सिम्बोल निर्माण हुन्छ ।

जसले खरिद गर्ने खरिदकर्ताको मुड अन्य समय राखेको भन्दा उत्साहित बनाइदिन्छ । यही कुरा परीक्षण गर्न उनीहरूले घडीको समय ८ बजेर २० मिनेट सेट गरे । त्यसो गर्दा घडीमा दुःखी भएको सिम्बोल बन्छ ।

यसको प्रभाव केही ठाउँमा १० बजेर १० मिनेट राखिएको भन्दा ठीक विपरित पर्‍यो भने केही ठाउँमा खरिदकर्ताको भावनामा कुनै असर परेन । विभिन्न खोज तथा अनुसन्धानले विज्ञापनमा घडीको सुई १० बजेर १० मिनेट राख्नुका पछाडि यिनै दुई कारण भएको पत्ता लगाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२