close

आकर्षक लोगो बनाउने सजिलो तरिका

टेकपाना टेकपाना

जेठ १८, २०७९ १८:४१

आकर्षक लोगो बनाउने सजिलो तरिका

काठमाडौं । लोगो एउटा संकेत हो, जसले कुनै पनि कम्पनी वा संस्थाकाे परिचय दिने गर्छ । लाेगाेले  कम्पनीकाे नाममात्रै नभई समग्र व्यावसायिक गतिविधिकाे प्रतिनिधित्व गर्छ ।

उदाहरणका लागि एप्पल, सामसङ, गुगल, फेसबुक, ट्वीटर आदिका लोगोलाई लिन सकिन्छ । यी कम्पनीलाई चिनाउन लोगो नै काफी छ ।

तपाईं पनि कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने लोगो जरूरी पर्छ । आज हामी विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने लोगो अनलाइनबाट कसरी बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्दै छौं ।

इन्टरनेटमा केही वेबसाइट छन्, जसकाे माध्यमबाट तपाईंले सहजै आकर्षक लोगो निःशुल्क बनाउन सक्नुहुन्छ ।

१. क्यान्भा डटकम

तपाईंलाई कुनै पनि किसिमकाे डिजाइन बनाउनुपर्‍यो भने क्यान्भा उपयुक्त विकल्प हुनसक्छ । तपाईंले त्यहाँ उपलब्ध भएका विभिन्न टेम्प्लेट प्रयोग गरेर त्यही अनुसारका आकर्षक डिजाइन बनाउन सक्नुहुन्छ ।

युट्युब भिडिओका लागि थम्बनेल बनाउँदा होस् वा सामाजिक सञ्जालमा पोस्ट गर्न पोस्टर बनाउँदा होस्, त्यसमा आफ्नो इच्छा अनुसार आकर्षक डिजाइनमा पोस्ट बनाउन सकिन्छ ।

त्यस्तै लोगोका लागि पनि यो साइट निकै उपयुक्त छ । यसको एप डाउनलोड गरेर फोनबाटै विभिन्न किसिमका डिजाइन बनाउन सकिन्छ । लोगो बनाउन निम्नानुसारका प्रक्रिया अपनाउनुहाेस् ।

  • सबैभन्दा पहिले याे वेबसाइटमा जानुहोस् ।
  • त्यसपछि त्यसमा अकाउन्ट खोल्नुहोस् । भरपर्दो साइट भएकाले तपाईंले निर्धक्क आफ्नो अकाउन्ट प्रयोग गरेर साइनअप गर्न सक्नुहुन्छ ।
  • त्यसपछि सर्च बक्समा लोगो (Logo) सर्च गर्नुहोस् ।
  • त्यहाँ तपाईंलाई आकर्षक लागेको कुनै एउटा लोगोको टेम्पलेट छान्नुपर्ने हुन्छ ।
  • त्यहाँ तपाईंले आफ्नो आवश्यकता अनुसार फोटो राख्न, टेक्स्ट थप्न, चार्ट थप्न सकिन्छ ।
  • यसमा आवश्यकता अनुसार लोगो एनिमेसन बनाएर भिडिओका रूपमा समेत सेभ गर्न सकिन्छ ।

२. डिजाइन इभो डटकम

डिजाइन इभोका केही फिचर क्यान्भाभन्दा आकर्षक छन् । प्रो भर्जनमा दुवै साइटहरूमा उस्तै फिचर छन् । निःशुल्क प्रयोग गर्दा तपाईंले आधारभूत फिचर पाउने भएकाले खासै चिन्ता लिनुपर्दैन ।

तपाईंले डिजाइन इभोमा थप आकर्षक सेपहरू पाउन सक्नुहुन्छ । यसबाट लोगो बनाउन तपाईंले निम्नानुसारका प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले यस लिङ्कमा जानुहोस् । वा तपाईंले सोझै प्लेस्टोर एपस्टोरबाट एप डाउनलोड गर्न सक्नुहुन्छ ।
  • वेबसाइट वा एप खोलिसकेपछि त्यहाँबाट आफूले केका लागि बनाउन लागेको भन्ने निश्चित गरी एउटा टेम्पलेट खोज्न सक्नुहुन्छ ।
  • त्यसपछि आफ्नो आवश्यकता अनुसार सो टेम्पेलेटलाई कस्टुमाइज गरी सेभ गर्नुहाेस् ।

यसरी लोगो बनाइसकेपछि त्यसलाई ट्रान्सप्यारेन्ट (ब्याकग्राउण्डमा केही नभएको) बनाउने चाहना हुनसक्छ । ट्रान्सप्यारेन्ट लोगो डाउनलोड गर्नका लागि तपाईंले सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ । यसबाट लोगो कस्तो बनाउने भन्ने विचार लिन सकिन्छ ।

लोगोमा भएका ब्याकग्राउन्ड हटाउन अनलाइनमा विभिन्न वेबसाइट छन् । उदाहरणका लागि रिमुभ डट बीजीमा गई ब्याकग्राउन्ड हटाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३