close

नेपाली मूलकी पहिलो ‘एनालग अन्तरिक्ष यात्री’ बनिन् ज्योती केसी 

टेकपाना टेकपाना

असार १९, २०७९ १५:०

नेपाली मूलकी पहिलो ‘एनालग अन्तरिक्ष यात्री’ बनिन् ज्योती केसी 

काठमाडौं । दाङ घर भई हाल अमेरिकामा बसोबास गरिरहेकी ज्योती केसी नेपाली मूलकी पहिलो एनालग अन्तरिक्षयात्री बन्न सफल भएकी छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूले हालै मात्र एनलग अन्तरिक्षयात्रीको प्रशिक्षण पूरा गरी पहिलो नेपाली-अमेरिकी एनालग अन्तरिक्षयात्रीको प्रमाणपत्र प्राप्त गरेको केसीले बताएकी छन् ।

पोल्यान्डमा दुई हप्तासम्म चलेको उक्त प्रशिक्षणमा उनीसँगै संयुक्त राज्य अमेरिका, मेक्सिको र पोल्यान्डका चालक दलका सदस्यहरू सहभागी रहेको उनले बताएकी छन् । उक्त प्रशिक्षण अवधिमा उनीहरूलाई रोबोटिक उपकरण, भेहिकल, ह्याबिट्याट, कम्युनिकेशन, पावर जेनेरेशन, डिजाइन, एरो एन्ड हाइड्रो प्लान्टेशन लगायतका विषयहरूमा प्रशिक्षण दिइएको थियो ।

 सिमुलेटेड क्रु मिसनका क्रममा अन्तरिक्ष यात्रीको भूमिकामा रहने व्यक्तिहरूलाई एनालग एस्ट्रोनट (अन्तरिक्षयात्री) भन्ने गरिन्छ । भविष्यमा अन्तरिक्षमा  हुनसक्ने खोज अनुसन्धानमा केन्द्रित रहेर एनालग मिसन तयार पारिएको हुन्छ । यसको अर्थ यो अन्तरिक्ष यात्रीको तालिम नभएर अन्तरिक्ष केन्द्रित एउटा अनुसन्धान मात्र हो ।

यस क्रममा ल्याबमा अन्तरिक्षकै जस्तो वातावरण तयार पारिएको हुन्छ । २० वर्ष उमेर पूरा भएका विद्यार्थी, कर्पोरेट कर्मचारी, कलाकार, अनुसन्धानकर्मी, साहसिक कर्ममा रुचि राख्ने व्यक्ति, यात्री, पत्रकार, इन्जिनियर, अवकाश प्राप्त व्यक्ति आदि जोकोही यस किसिमको एनालग अन्तरिक्षयात्री बन्न सक्छन् । 

साथै प्रशिक्षण टोलीले आईसोलेशन एन्ड कन्फाइन्मेन्ट टिम डाइनामिक, मेनु फ्याटिग लगायत अन्य व्यावहारिक प्रभाव लगायतका विषयमा पनि प्रशिक्षण लिएका थिए । पाँच वर्ष अघि डीभी लट्री परेर अमेरिका गएकी केसी हाल अमेरिकाको एयर फोर्समा काम गरिरहेकी छन् । 

*यस अघिको समाचार शीर्षक अन्यथा पर्न गएकोमा सच्याइएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौँ । -स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३