काठमाडौँ । चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड ‘ओमोडा एन्ड जेइको’ का लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिलाई ‘ईभी पायोनियर अवार्ड’ प्रदान गरिएको छ ।
चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा हालै आयोजित ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’ मा यो अवार्ड प्रदान गरिएको हो ।
सम्मेलनमा चेरी होल्डिङ ग्रुपका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालाई अवार्ड हस्तान्तरण गरे । सो अवसरमा १२० भन्दा बढी देशका ३,००० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो ।
नेपालमा ओमोडा एन्ड जेइको ब्रान्डको विद्युतीय सवारी साधनको प्रभावकारी स्थापनामा योगदान पुर्याएको र उत्कृष्ट बजार प्रदर्शन गरेको भन्दै एसपीजी अटोमोबाइल्सलाई ईभी पायोनियर अवार्ड प्रदान गरिएको हो ।
सन् २०२४ मा ओमोडा एन्ड जेइकोले ‘ओमोडा इ-फाइभ’ ईभी सार्वजनिक गर्दै नेपाली बजारमा प्रवेश गरेको थियो । यो एक वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइको ईभी बिक्री भएको कम्पनीले जनाएको छ ।