close

युट्युब च्यानलबाट कतिसम्म हुन्छ आम्दानी ?

टेकपाना टेकपाना

साउन ५, २०७९ ११:५

युट्युब च्यानलबाट कतिसम्म हुन्छ आम्दानी ?

काठमाडौं । इन्टरनेटमा पैसा कमाउँने थुप्रै तरिकाहरू छन् । त्यसमध्ये युट्युबरको रूपमा गरिने आम्दानी पनि एउटा उपयुक्त विकल्प हो । तर, यसमा थोरै मान्छे मात्र सफल हुन्छन् ।

एउटा युट्युब च्यानललाई सफल रूपमा स्थापित गर्न निकै चुनौतीको विषय हो । त्यसका लागि दृढ संकल्प, लगाव र आत्मविश्वास चाहिन्छ । यसका लागि पर्याप्त समय दिनु निकै महत्त्वपूर्ण पक्ष हो ।

यदि तपाईँको युट्युब च्यानलले विभिन्न बाधा पार गरी सफलताको यात्रामा लम्किन थाल्यो भने विभिन्न माध्यमबाट हुने आम्दानी पनि बढ्दै जान्छ । यसै विषयसँग सम्बन्धित रहेर आज हामी तपाईँलाई युट्युबबाट कसरी अनि कति आम्दानी हुन्छ भन्ने विषयमा बताउँदै छौँ । 

युट्युबले प्रति भ्युज कति दिन्छ ?

युट्युबबाट आम्दानी गर्न सबैभन्दा पहिला त क्रियटर त्यसका लागि योग्य हुनुपर्छ । युट्युब ‘मनिटाइजेसन’ (आम्दानी गर्ने स्थिति) का लागि योग्य हुन तपाईँको च्यानलमा कम्तिमा एक हजार सब्स्क्राइबर र चार हजार घण्टा ‘वाच टाइम’ (समग्र भिडिओ हेरिएको कूल समय) हुनुपर्छ ।

युट्युबरको निश्चित तलब हुँदैन । कुनै पनि क्रियटरको च्यानलले कति भ्युज पाउँछ, त्यसकै आधारमा आम्दानी हुन्छ । युट्युबले प्रति भ्युज कति पैसा तिर्छ भन्ने कुरामा प्रवेश गर्नु अघि युट्युबरलाई कुन तत्वले कति पैसा तिर्न प्रभावित गर्छ भन्ने कुरा बुझौँ ।

तत्वहरू

पहिलो कुरा त भ्युज भनेर के कुरालाई गणना गरिन्छ भन्ने बुझ्न जरुरी छ । एउटा भ्युअरले ३० सेकेन्डको विज्ञापन हेरे बापत् त्यो एउटा भ्युजको रूपमा गनिन्छ ।

युट्युबरले अपलोड गरेका हरेक भिडिओबाट आम्दानी गर्छ भन्ने सुनिश्चित हुँदैन । युट्युबबाट आम्दानी गर्न उसले अपलोड गरेका भिडिओमा ‘एड’ (विज्ञापन) को विकल्प अन गरेको हुनुपर्छ ।

त्यस्तै ‘भ्युअर’ (भिडिओ हेर्ने दर्शक) ले भिडिओमा आएको विज्ञापन तोकिएको समयसम्म हेरेकै हुनुपर्छ । विज्ञापन कुनै लामो हुन्छ त कुनै छोटो ।

दर्शकले उक्त विज्ञापन कति समयसम्म हेरे भन्ने कुराले आम्दानी निर्धारण गर्छ । कतिपय अवस्थामा यदि विज्ञापन आकर्षक छ भने दर्शकले धेरै समय हेर्दा क्रियटरको आम्दानी पनि त्यसै अनुसार बढी हुन्छ ।

त्यस्तै दोस्रो पक्ष हो ‘सीपीएम’ । युट्युबमा विभिन्न दर्शकका लागि अनेक ‘सीपीएम’ हुन्छन् । सीपीएएमको अर्थ हुन्छ ‘कस्ट पर मिल’ (यो ल्याटिन शब्द हो, जसको अर्थ हुन्छ प्रति हजार) ।

यसले विज्ञापनदाताले विज्ञापनमा प्रति हजार भ्युज कति भुक्तानी गर्छ भन्ने निर्धारण गर्छ । ‘सीपीएम’ क्षेत्र अनुसार फरकफरक हुने गर्छ । विज्ञापन कुन देशबाट हेरियो भन्ने कुराले पनि क्रियटरको आम्दानी निर्धारण गरेको हुन्छ ।

अमेरिका र नर्वे जस्ता देशमा ‘सीपीएम’ उच्च हुने गर्दछ । यसको अर्थ यी देशका दर्शकले विज्ञापन हेरेको खण्डमा क्रियटरले अन्य देशमा हेरिएको भन्दा बढी पैसा पाउँछन् ।

त्यसैले जति धेरै भ्युज आउँछ, त्यति नै धेरै मानिसले भिडिओमा आएको विज्ञापन हेरेका हुन्छन् । जति धेरैले विज्ञापन हेरे, क्रिटर (युट्युबर अर्थात् युट्युबमा भिडिओ सामग्री राख्ने व्यक्ति तथा कम्पनी) ले त्यति नै बढी रकम पाउँछन् । यी कुरालाई मध्यनजर गर्दै युट्युबले प्रति भ्युज कति भुक्तानी गर्छ भन्ने कुराको हिसाब गरि हेरौँ ।

सामान्य हिसाब

एकातर्फ युट्युबले विज्ञापनदाताबाट प्रति भ्युज ०.१८ अमेरिकी डलर (करिब २३ रुपैयाँ) लिने गर्छ । त्यसबाट युट्युबरलाई त्यसको ६८ प्रतिशत अर्थात प्रति भ्युज ०.१२ अमेरिकी डलर (करिब १५.६५ रुपैयाँ) छुट्याउँछ ।

यसरी युट्युबरलाई प्रति हजार भ्युज गुगल एडसेन्स मार्फत १ सय २२ अमेरिकी डलर (करिब १५ हजार ५ सय रुपैयाँ) भुक्तानी गर्ने गर्छ । यो हिसाब सबै अवस्थामा लागू हुन्छ भन्ने निश्चित हुँदैन ।

यसलाई प्रभावित पार्ने थुप्रै तत्व हुन्छन् । कतिपय मानिसहरू ‘एड ब्लकर’ (विज्ञापन रोक्ने प्रविधि) प्रयोग गरी युट्युब भिडिओ गरिरहेका हुन्छन् । जसले गर्दा उनीहरूले हेरेको भिडिओमा विज्ञापन देखिँदैन ।

त्यस्तै प्रायःले केही सेकेन्डमै विज्ञापन ‘स्किप’ (विज्ञापन काट्ने) गरेका हुन्छन् । यस्ता विविध कारणले वास्तवमा युट्युबले प्रति भ्युज औसत ०.००३ अमेरिकी डलरदेखि ०.००५ अमेरिकी डलरसम्म दिने गर्छ ।

अझ सामान्य रूपमा भन्नुपर्दा क्रियटरले प्रति हजार भ्युज ३ अमेरिकी डलर (करिब ३ सय ८० रुपैयाँ) देखि ५ अमेरिकी डलर (करिब ६ सय ४० रुपैयाँ) पाउँछन् । तपाईँले आफ्नो क्षेत्रमा कुनै पनि युट्युब च्यानलले कति भ्युजको सम्भावित कति रकम भुक्तानी पाउँछ भन्ने कुरा यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

यो अनुमानित हिसाब हो । किनभने कुन कुन तत्वले यसलाई प्रभाव पारेको हुन्छ भन्ने कुरा माथि नै उल्लेख गरिसकेका छौँ ।

जति धेरै भ्युज, त्यति नै धेरै आम्दानी

सबै अवस्थामा विज्ञापनबाट मात्र पैसा आउँछ भन्ने पनि हुँदैन । कतिपय अवस्थामा युट्युबले भ्युजको आधारमा र त्यो भिडिओ कुन ठाउँबाट हेरिएको छ भन्ने आधारमा पनि भुक्तानी दिने गर्छ ।

यसलाई प्रभाव पार्ने तत्व धेरै भएकाले ठ्याक्कै प्रति भ्युज यति नै आम्दानी हुन्छ भनेर यकिन गर्न सकिँदैन । यद्यपि युट्युबले औसतमा प्रति हजार भ्युज ३ देखि ५ अमेरिकी डलरसम्म भुक्तानी दिने गर्छ । 

यदि तपाईँ युट्युबबाट राम्रो आम्दानी कसरी गर्न सकिन्छ भन्ने कुरा सोच्दै हुनुहुन्छ भने ‘लोयल अडियन्स’ (क्रियटर तथा भिडिओप्रति आसक्त दर्शक) पाउने गरी भिडिओ सामग्री निर्माण गर्नुहोस् ।

जसले गर्दा उनीहरूले तपाईँको भिडिओमा देखिने विज्ञापन पूरै हेरे भने तपाईँले त्यसै अनुसारको आम्दानी गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३