close

इनड्राइभर चालकले वेश्या भन्दै पोर्न साइटमा राखिदिए महिला यात्रुको नाम र मोबाइल नम्बर

टेकपाना टेकपाना

साउन ५, २०७९ १९:०

इनड्राइभर चालकले वेश्या भन्दै पोर्न साइटमा राखिदिए महिला यात्रुको नाम र मोबाइल नम्बर

काठमाडौं । राइडिङ शेयरिङ एप इनड्राइभरका प्रयोगकर्ताको विवरण पोर्न साइट राख्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौंको बौद्धमा बस्ने २४ वर्षीया इनड्राइभर ट्याक्सी चालक कर्म वाङ सिङ लामालाई महिला यात्रुको विवरण पोर्न साइटमा राखेको आरोपमा पक्राउ गरेको हो ।

उनले यसका लागि तेस्रो लिङ्गीको नाममा फेक अकाउन्ट बनाएको अभियोगमा समेत लागेको छ । इनड्राइभर ट्याक्सी चालक लामाले नै दुई फरक व्यक्तिको सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने काम गरेको प्रहरीले जनाएको छ ।

लामाले सबैभन्दा सुरुमा सामाजिक सञ्जाल फेसबुकमा पीडित तेस्राे लिङ्गीले प्रयोग गर्दै आएको फेसबुक अकाउन्टमा अपलोड गरेका तस्वीरलाई डाउनलोड गरी सो तस्वीर प्रयोग गरेर पीडितकै नाममा फेक अकाउन्ट बनाएका थिए ।

प्रोफाइल तथा कभर तस्वीरको रुपमा पीडित तेस्राे लिङ्गीको तस्वीर अपलोड गरी उक्त फेक अकाउन्टको मेसेन्जरमार्फत पीडित तेस्रोलिङ्गीका साथीहरूसँग कुराकानी गरी लामाले पैसा समेत मागे थिए ।

त्यतिमात्र नभई उनले सामाजमा झूटा फवाह फैलाउनुका साथै सोही फेसबुक अकाउन्ट प्रयोग गरी ‘स्टडी मटेरियल’ नामक एउटा मेसेन्जर ग्रुप बनाए । यो ग्रुपमार्फत उनले अर्की पीडित महिलाको पनि चरित्रहत्या गर्ने काम गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

लामाले उक्त ग्रुपमा पीडित महिला देहव्यापार गर्छिन् भन्ने आशय दिने शब्दहरु लेखी पोष्ट गर्नुका साथै उनको व्यक्तिगत विवरण पोर्न साइटमा पनि अपलोड गरिदिएका थिए ।

पीडित महिलाका अनुसार इनड्राइभर प्रयोग गर्ने क्रममा दिएको विवरण (नाम, ठेगाना र मोबाइल नम्बर) को दुरुपयोग गरी लामाले पोर्न साइटमा उनको व्यक्तिगत विवरण शेयर गरेका हुन् ।

यसरी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितहरूलाई व्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दुःख, हैरानी दिई बदनाम तथा बेइज्जत गरी चरित्रहत्या गरेकाे पाइएको छ । उक्त कार्यमा संलग्न लामालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३