close

एससीटीः एटीएमको नेपाली ब्रान्ड, के गर्दैछ अहिले ?

अर्पना आले मगर अर्पना आले मगर

साउन ८, २०७९

एससीटीः एटीएमको नेपाली ब्रान्ड, के गर्दैछ अहिले ?

काठमाडौं । हामीले दैनिक प्रयोग गर्ने बैंकको एटीएम कार्डमा लेखिएको ‘एससीटी’ को अर्थ के होला ? धेरैले यो कुरालाई याद नगरेका हुनसक्छाैं । नेपालकाे स्वदेशी डेबिट कार्ड ब्रान्ड रहेकाे एससीटी अहिले विभिन्न सेवामा क्रियाशील छ ।

एससीटी अर्थात् ‘स्मार्ट च्वाइस टेक्नाेलाेजिज’, एउटा कम्पनीको नाम हो, जसले नेपाली बैंकका प्रयोगकर्तालाई डिजिटल भुक्तानी अभ्यासस्वरुप कार्ड प्रचलनमा ल्यायो ।

सन् २००१ मा दर्ता भएर एससीटीले २००३ देखि औपचारिक रुपमा काम सुरु गरेको कम्पनीले पछिल्लाे तीन वर्षदेखि पब्लिक कम्पनीको रुपमा काम गरिरहेको छ ।

एससीटी नेपाल राष्ट्र बैंकअन्तर्गत अनुमतिप्राप्त भुक्तानी सेवा सञ्चालक (पीएसओ) हो ।

एससीटीले नेपालका अधिकांश वाणिज्य बैंक, विकास बैंक, भुक्तानी सेवा प्रदायक र अन्य वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्मको सेवा प्रदान गर्दै आएको छ । 

किन सुरु भयो एससीटी ?

एससीटीले नेपालको भुक्तानी प्रणालीमा नयाँ अभ्यासको सुरुवात गरेको थियो । आजको दिनमा डिजिटल भुक्तानी निकै सामान्य लागे पनि २० वर्ष अगाडि पैसा झिक्न र राख्नका बैंकमै पुग्नुपर्ने अवस्था थियो ।

छिटपुट रुपमा केही बैंकले भने क्रेडिट कार्ड उपलब्ध गराउन सुरु गरेका थिए । तर आफ्नो खातामा भएको पैसा बैंक नगई झिक्न मिल्ने व्यवस्था भने थिएन ।

‘अधिकाशं बैंकको डेबिट कार्ड थिएन । नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंकलगायत केही बैंकले मात्र क्रेडिट कार्ड जारी गर्थे । अन्य बैंकसँग आफ्नै कार्ड जारी गर्ने क्षमता थिएन । त्यो बेलाको आवश्यकता र चुनौती पनि फरक थिए । यही समस्यालाई सम्बोधन गर्ने क्रममा एससीटीको अवधारणा आएको थियो,’ एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु बताउँछन् ।

बैंकले आफ्नो फरक-फरक प्लेटफर्म बनाउने स्थिति नभएपछि कार्ड सेवाका लागि एउटै प्लेटफर्म बनाउने र त्यो प्लेटफर्म अन्तर्गतका बैंकको कार्ड एक-अर्काको एटीएममा प्रयोग गर्न सकिने बनाउन एससीटीले काम गरेकाे उनी सुनाउँछन् ।

यसरी सन् २००३ तीनदेखि एससीटीले नेपाली प्रयोगकर्तालाई बैंकमा नगई आफ्नो खाताको रकम झिक्न सकिने एटीएम कार्डको सुविधा पहिलोपटक उपलब्ध गराएकाे थियाे । 

मुख्य लगानी क-कसकाे छ ? 

-ग्लोबल आईएमई बैंक
-प्रभु बैंक
-हिमालयन बैंक
-सांग्रिला डेभलपमेन्ट बैंक
-गरिमा विकास बैंक
-कामना सेवा विकास बैंक
-ग्रिन डेभलपमेन्ट बैंक
-एक्सेल डेभलपमेन्ट बैंक 

बजारमा आउने बित्तिकै सुरुवाती चरणमा नै सम्पूर्ण बैंकहरूबाट एससीटीले राम्रै साथ पायो । त्यो समयमा उपलब्ध सम्पूर्ण बैंकहरूले एससीटीसँग सहकार्य गरेर कार्ड जारी गर्न सुरु भयो ।

यो सेवा दिने पहिलो संस्था भएका कारण पनि कम्पनीहरूले सहजै यो सेवालाई स्वीकारे । कम्पनीलाई आफ्नो व्यवसाय विस्तार गर्न धेरै लामो समय लागेन ।

अहिले कम्पनीले नाै वाणिज्य बैंक, पाँच विकास बैंक, १२ वित्तीय संस्था (फाइनान्स) र ९८ सहकारी संस्थालाई सेवा प्रदान गरिरहेको छ ।

बैंक तथा वित्तीय संस्थालाई सेवा दिइरहेकोमा कम्पनीले यही वर्षदेखि सहकारी संस्थाहरूलाई पनि कार्ड भुक्तानी सेवा दिन सुरु गरेको हो । 

कम्पनीको संरचना 

हाल कार्ड सञ्चालन तथा व्यवस्थापन विभाग, एटीएम, नेटवर्क तथा सेक्युरिटी, प्रशासनिक, बजार व्यवस्थापन, सूचना प्रविधि लगायत फरक-फरक विभागमा रहेर कम्पनीले काम गरिरहेको छ ।

कम्पनीमा करिब ५० जना कर्मचारी कार्यरत छन् । 

कम्पनीका सेवा तथा उत्पादन 

डेबिट कार्डबाट सेवा दिन सुरु गरेको कम्पनीले हाल विशेषगरी चार उत्पादन सञ्चालन गरिरहेकाे छ । यसमध्ये पहिलो भनेको कार्ड सेवा नै हो ।

यसबाहेक कम्पनीले ‘स्मार्ट क्यूआर’ को नामक क्यूआर सेवा, ‘फास्ट बैंकिङ’ नामक मोबाइल बैंकिङ सेवा र ‘एमपे’ नामक पेमेन्ट गेटवे सोलुसन्स प्रोभाइडर एग्रिगेटर सेवा प्रदान गरिरहेको छ ।

प्रयोगकर्ताले अनलाइन वेबसाइटमा भुक्तानी गर्नुपरेमा ‘एमपे’मार्फत भुक्तानी गर्न सक्छन् ।

एससीटी यो चारओटै क्षेत्रमा काम गर्ने एउटै मात्र भुक्तानी सेवा सञ्चालक रहेको उनकाे दाबी छ । उनका अनुसार हाल कम्पनीको सेवा २० लाखभन्दा बढी ग्राहकले प्रयोग गरिरहेका छन् ।   

साइबर सुरक्षामा एससीटी 

भुक्तानी उद्योग गतिशील छ । यहाँ कुनै नयाँ कुरा पुरानो हुनका लागि धेरै समय नलाग्ने र यो जति गतिशील छ, त्यति नै जोखिमपूर्ण पनि छ ।

एससीटीले सदस्य कम्पनी र ती कम्पनीका ग्राहकको सुरक्षाको लागि आफ्नो सेवालाई समय-समयमा अपग्रेड गर्दै लगिरहेको र बजारको मागअनुसार कम्पनीले आफ्नो सेवा विस्तार तथा अपडेट गरिरहेकाे भुजु बताउँछन् ।

एसीसीटी ‘पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड’ (पीसीआईडीएसएस) बाट प्रमाणित कम्पनी हो । यो पेमेन्ट कम्पनीहरूका लागि आवश्यक एउटा मापदण्ड हो, जसअन्तर्गत रहेर कम्पनीहरूले आफ्ना सेवा सञ्चालन गर्नुपर्ने हुन्छ ।

यसका साथै कम्पनीले जारी गर्ने कार्डहरू ईएमभीमा आधारित चिप प्रयोग गरिएको कार्ड हो । ईएमभीमा आधारित चिप भएको कार्डले सुरक्षित कारोबारमा सहयोग गर्ने बताइन्छ ।

साथै कम्पनीले समय-समयमा कर्मचारीलाई विभिन्न तालिम पनि दिँदै आइरहेको छ ।

भविष्यको योजना

भर्चुअल कार्ड

कम्पनी अब विस्तारै नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै जाने पक्षमा छ ।

हाल प्रयोगमा भइरहेका कार्डहरूलाई भर्चुअल कार्डमा रुपान्तरण गरेर नगदरहित कारोबार गर्ने उद्देश्यसहित यो कामको थालनी भइसकेको छ ।

नबिल बैंक लगायतका केही बैंकले यो सेवा सुरु पनि गरिसकेका छन् । भुजुका अनुसार चाँडै नै यो सेवालाई विस्तार गर्दै लगिनेछ ।

भर्चुअल कार्ड प्रयोगकर्ताको मोबाइलमा नै हुन्छ । प्रयोगकर्ताले एटीएममा गएर मोबाइलमा भएको सो भर्चुअल कार्डलाई ट्याप गरेपछि नगद निकाल्न सकिनेछ । 

ट्याप एन्ड पे टेक्नोलोजी 

भर्चुअल कार्डजस्तै कम्पनी अहिले ‘ट्याप एन्ड पे’ टेक्नोलोजीमा पनि काम गरिरहेको छ ।

यो प्रविधिमा प्रयोगकर्ताले भर्चुअल कार्ड प्रयोग गरेर एटीएममा मात्र नभई अन्य कुनै पनि प्रकारको भुक्तानी कुनै पिन नराखी अथवा कुनै विवरण नै नराखी ट्याप गरेको भरमा नै आफ्नो भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले यो प्रविधिलाई पनि चाँडै नै कार्यन्वयन गर्ने भएको छ । यो प्रविधि आएसँगै प्रयोगकर्ताले भुक्तानी गर्दा पिन राख्नुपर्ने अथवा फेस आईडी र फिङ्गरप्रिन्ट प्रयोग नगरी आफ्नो भुक्तानी गर्न सक्नेछन् ।