close

इन्फोडेभलपर्स : स्वदेशी सफ्टवेयर निर्माणमा परिचित नाम

शिव बस्नेत शिव बस्नेत

बैशाख १६, २०७९ ११:२४

इन्फोडेभलपर्स : स्वदेशी सफ्टवेयर निर्माणमा परिचित नाम

काठमाडौं । नेपालको सूचना प्रविधि उद्योगमा ‘इन्फोडेभलपर्स’ ब्राण्ड पक्कै नयाँ होइन । स्वदेशी सफ्टवेयरको प्रसङ्ग आउनासाथ धेरैले यो कम्पनीको नाम लिन्छन् । १९ वर्षदेखि सफ्टवेयर निर्माण क्षेत्रमा क्रियाशील इन्फोडेभलपर्सले विशेषगरी लघुवित्त तथा सहकारी संस्थाका लागि कोर बैंकिङ सिस्टम निर्माण गर्दै आएको छ ।

साथै कम्पनीले वित्तीय संस्थाका लागि मोबाइल बैंकिङ सोलुसन्स, ट्याब्लेट बैंकिङ, मर्चेन्ट बैंकिङ, क्लाउडमा आधारित वित्तीय सेवा डटकम, एटीएम सेवासमेत ल्याएको छ ।

त्यस्तै विभिन्न सरकारी परियोजनामा काम गरी सरकारी कार्यालयलाई डिजिटल रुपान्तरण गर्ने अभियानमा समेत सरिक छ । आईएसओ ९००१ः२०१५ प्रमाणित आईसीटी कम्पनीका रुपमा इन्फोडेभलपर्सले भारत, भुटान र अमेरिकामा पनि व्यवसाय विस्तार गरेको छ ।

कम्पनी सुरुवातको रोचक कहानी
धेरैजसो आईटी कम्पनीको सुरुवात एउटा कोठा र कम्प्युटरबाट हुने गरेको पाइन्छ । आजको इन्फोडेभलपर्सको सुरुवाती कहानी पनि उस्तै छ । २०५९ असार २१ मा सफ्टवेयर कम्पनीका रुपमा यसको यात्रा सुरु भयो ।

कम्पनीका संस्थापक हुन्, उमेश रघुवंशी । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुँदा उनले आफ्नै कोठामा यो कम्पनी खोलेका थिए । अनि सुरुवाती लगानी थियो, ६५ हजारको कम्प्युटर ।

यही कम्प्युटरबाट रघुवंशी र इन्फोडेभलपर्सको व्यवसायिक यात्रा अगाडि बढ्छ । केही समयपछि दुई साथी प्रविन सुवेदी र अर्विन्द प्रधान कम्पनीमा जोडिए ।

यी तीन भाइ आफैंले सिस्टम डिजाइन र डेभलप गर्थे, अनि ग्राहक खोज्दै बजार दौडन्थे । पछि रघुवंशीले पनि बैंकको जागिर छोडे र तीन जनाले नै कम्पनीमा फुलटाइम दिएर काम गर्न थाले ।

न्यूनतम स्रोत र साधनबाट अगाडि बढेको इन्फोडेभलपर्सले एकपछि अर्को परियोजनामा काम गर्न थाल्यो । सुरुमा औषधि व्यवसायीका लागि फुल अकाउन्टिङ सफ्टवेयर ‘फर्मा प्रो’ निर्माण गर्‍यो । तर सफलता भने पाउन सकेन ।

कम्पनीका सुरुवातकर्ता सबै ‘टेक्नोक्र्याट’ थिए । कम्पनीलाई व्यावसायिक मोडलमा कसरी लैजाने भन्ने अनुभव थिएन । गर्दै, सिक्दै अघि बढे । त्यसपछि कम्पनीले निर्माण गरेका सहकारीका सफ्टवेयरले बजार लिन थाल्यो ।

सहकारी संस्थाका लागि ल्याएको ‘फिनसिस’ सफ्टवेयरले राम्रै व्यवसाय दियो । यसपछि भने कम्पनीले पछाडि फर्केर हेर्नुपरेन ।

‘६५ हजारको कम्प्युटरबाट सुरु गरिएको कम्पनीले हरेक वर्ष नयाँ आकार लियो । हामीले आ-आफ्नो काम बाँड्यौं । विभिन्न सहयोगी हात बढे । टिम ठूलो हुँदै गयो । बजार र ग्राहकले पत्याए,’ सीईओ रघुवंशीले विगत सुनाए ।

मुख्य उत्पादन र सेवा
‘फर्मा प्रो’ बाट सुरु भएको इन्फोडेभलपर्सको सफ्टवेयर निर्माण यात्राले १९ वर्ष पार गरिसकेको छ । यसबीचमा कम्पनीले वित्तीय संस्थाका लागि दर्जनौं सफ्टवेयर र र बैंकिङ सोलुसन्स ल्यायो ।

सहकारीका लागि विकास गरेको फिनसिस सफ्टवेयर सयौं संस्थामा प्रयोगमा आयो । फिनसिसको सफलताले अरू बैंकिङ सोलसुन ल्याउने ऊर्जा टिमलाई दियो ।

यसपछि कम्पनीले लघुवित्त संस्थाका लागि इन्टिग्रेटेड सोलुसन्स प्लेटफर्म निर्माण गर्‍यो । यहीबेला इन्फोडेभपर्स आन्तरिक राजस्व विभाग, सेभ द चिल्ड्रेन, लोक सेवा आयोग, नेपाल बैंकजस्ता सरकारी र गैरसरकारी एजेन्सीका राष्ट्रियस्तरका सफ्टवेयर परियोजनामा आबद्ध भयो ।

अहिले कम्पनीले फिनसिस सफ्टवेयरलाई रिप्लेस गर्दै सहकारी संस्थाका लागि इनफिनिटी कोर बैंकिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ भने लघुवित्त संस्थाका लागि पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसका रुपमा इमपावर प्रयोगमा ल्याएको छ ।

त्यस्तै कम्पनीले क्यापिटल मार्केटका लागि पनि काम गरिरहेको छ । पोर्टफोलियो म्यानेजरका लागि इन्फोडेभलपर्सले ल्याएको वेल्थ मर्चेन्ट बैंकिङ सिस्टम नेपालका ९८ प्रतिशत पोर्टफोलियो म्यानेजरको बिजनेसमा प्रयोग भइरहेको रघुवंशीले जानकारी दिए ।

‘अहिले कम्पनीको मुख्य आम्दानीको स्रोतमध्ये ‘वेल्थ’ एक हो,’ उनले भने ।

बजारमा यी मुख्य उत्पादनसहित कम्पनीले मोबाइल बैंकिङ सेवा एमडबली पनि ल्याएको छ । यो सेवाबाट बैंकका ग्राहकका लागि चौबिसैं घण्टा बैंकिङ र भुक्तानी सेवा प्रदान गर्न सकिन्छ । इन्टरनेट र एसएमएमएस दुवैमा चल्ने ‘एमडबली’ मा विभिन्न सेवा भुक्तानी गर्न, बैंकको फन्ड ट्रान्सफर गर्न, एयरलाइन्सको टिकट, कर्जाको जानकारी लिन/भुक्तानी गर्न, वालेट लोड, रेमिट्यान्स आदि सेवा लिन सकिन्छ ।

त्यस्तै कम्पनीले नेपालमै पहिलो पटक सहकारी तथा लघुवित्त संस्थाका लागि एससीटी र युनियन पे नेटवर्कको सहकार्यमा एटीएम सेवा पनि सुरु गरेको छ भने चाँडै नै भिषको नेटवर्क पनि जोडिने क्रममा रहेको रघुवंशीले जानकारी दिए ।

कम्पनीले ल्याएको अर्को नयाँ उत्पादन हो, ‘इन्फोट्याब’ । यो बैंकिङ मोडल हो, जसमा बैंकहरुले बैंक एजेन्टबिना नै वित्तीय सेवा प्रदान गर्ने गर्छन् । यो मोडलले बैंकको आधिकारिक शाखा स्थापना गर्न नमिल्ने क्षेत्रहरुमा पनि सेवा दिनसक्ने कम्पनीले जनाएको छ ।

अनलाइन र अफलाइन दुवै मोडमा चल्ने यो सेवामा पनि फन्ड ट्रान्स्फर, रिचार्ज र टपअप, अनलाइन टिकट, रकम जम्मा गर्न र निकाल्न सकिनुका साथै वित्तीय संस्थाको ऋण पनि यही माध्यमबाट तिर्न सकिन्छ ।

साथै कम्पनीले ब्रान्चलेस बैंकिङ, बजेट म्यानेजमेन्ट सिस्टम, ह्युमन रिसोर्स इन्फर्मेसन सिस्टम, बजेट म्यानेजमेन्ट सिस्टम, ई- रिकन्सिलेसन सिस्टम, अनलाइन रिक्र्युटमेन्ट म्यानेजमेन्ट सिस्टम लगायतमा पनि काम गरिरहेको छ ।

त्यस्तै नेपाल सरकारले अघि सारेको नेपाल गभर्नेन्ट इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टमको काम समेत इन्फाेडेभलपर्सले गरिरहेको छ ।

लोकसेवा आयोग, नागरिक लगानी कोष, यातायात कार्यालय लगायतका सरकारी कार्यालयले पनि इन्फोडेभलपर्सले बनाएको ईआरपी कार्यान्वयनमा ल्याएका छन् ।

यसका साथै कम्पनीले मोबाइल एप डेभलपमेन्टमा केन्द्रित रहेर कार्य गरिरहेको छ भने हाई-इन्ड वेबसाइट डेभलपमेन्ट र कस्टमाइज्ड सफ्टवेयर डेभलपमेन्टका परियाेजना पनि गरिरहेको छ ।

३०० बढीलाई प्रत्यक्ष रोजगारी
सफ्टवेयर कम्पनीको रुपमा सयौंलाई एकसाथ रोजगारी दिने कम्पनी नेपालमा कमै छन् । इन्फोडेभलपर्सले हाल तीन सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । कम्पनीमा जोडिएका कर्मचारीमध्ये करिब ८५ प्रतिशत प्रविधि क्षेत्रका छन् भने अन्य बिजनेश, फाइनान्स र प्रशासनतर्फ छन् ।

११ सय क्लाइन्ट, ३५ लाख सेवाग्राही
कम्पनीले ल्याएका विभिन्न सफ्टवेयर, इन्टिग्रेटेड सोलुसन्स तथा अन्य सेवाका प्रत्यक्ष क्लाइन्ट (संस्था) ११ सयभन्दा बढी पुगेको सीईओ रघुवंशीले बताए । यी सेवाबाट हाल ३५ लाख बढी प्रयोगकर्ताले प्रत्यक्ष सेवा लिइरहेका छन् ।

आज देशका अधिकांश ठूला सरकारी संस्था र डेभलपमेन्ट एजेन्सीले इन्फोडेभलपर्सको सफ्टवेयर र बैंकिङ सोलुसन्स प्रयोग गरिरहेका छन् । फलस्वरुप कम्पनी १० करोड बराबरको वार्षिक टर्नओभर (कारोबार) गर्न सफल भएको छ ।

आईएमई ग्रुपको संलग्नता
स्वदेशी आईटी उद्योगमा क्रियाशील इन्फोडेभलपर्समा हालै आईएमई ग्रुपको लगानी भित्रिएको छ । स्थापनाको १९ वर्षपछि कम्पनीले देशकै प्रतिष्ठित कम्पनीलाई लगानीकर्ताको रुपमा पाएको हाे ।

‘आईएमई ग्रुपजस्तो प्रतिष्ठित नामसँग जोडिन पाउनु नै हाम्रा लागि गर्वको कुरा हो,’ रघुवंशीले भने, ‘उहाँहरुको प्रस्ताव ठीक लाग्यो र एउटै टिममा जोडिन राजी भयौं ।’

आईएमई ग्रुपसँगको सहकार्य पैसाका लागि भन्दा पनि सेवा र व्यवसायको दायरा बढाउन गरिएको उनको भनाइ छ ।

कर्पोरेट प्रणालीको अभ्यास
तीन सय बढीको टिम र दर्जनौं उत्पादन र परियोजनालाई व्यवस्थापन गर्न कम्पनीले कर्पोरेट प्रणालीको अभ्यास गर्न थालेको छ । यसका लागि विभिन्न विभाग र बिजनेस युनिट विभाजन गरी प्रत्येकलाई फरक-फरक भूमिका दिइएको छ ।

टेक्निकल, बिजनेस लगायत विभिन्न विषयमा फरक नेतृत्व र टिम बनाउँदा कम्पनीलाई आफ्नो उचाइ प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

आईएमई ग्रुपको लगानी भित्रिएसँगै इन्फोडेभलर्सको बोर्ड अफ डाइरेक्टरमा रुद्र पौडेल र अजित बगाले थपिएका छन् । हालै कम्पनीले नेपाल प्रहरीका पूर्वडीआईजी डा. राजिव सुब्बालाई चिफ अपरेटिङ अफिसर (सीओओ) को रुपमा नियुक्त गरेको छ । त्यस्तै चिफ टेक्नाेलाेजी अफिसर (सीटीओ) नियुक्त गर्ने प्रक्रियामा कम्पनी छ ।

यसरी कर्पोरेट प्रणालीमा संगठनको संरचना तयार पारी अघि बढ्ने योजनामा कम्पनी देखिएको छ ।

‘हामी सहभागितामूलक ‘नेतृत्व शैली’ मा विश्वास गर्छौं । कम्पनीले प्रत्येक टिम मेम्बरको क्षमतालाई मूल्यांकन गर्दछ र विभिन्न प्रोजेक्ट र निर्णयमा उनीहरुलाई सहभागी गराउने गर्दछ । यसर्थ कर्मचारीहरुले पनि निर्णय प्रक्रियामा योगदान दिनसक्ने व्यवस्था इन्फोडेभलपर्समा रहेको छ,’ रघुवंशीले भने ।

अवार्ड एवं सम्मान
इन्फोडेभलपर्सले केही राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानसमेत पाएको छ । सन् २०१६ मा कम्पनीले एसियाका आईटी संघ/समूहरूहरूको संस्था एसियन ओसियनियन कम्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले सन् २०१६ मा इन्फोडेभलपर्सलाई ‘एसोसिओ आउटस्ट्यान्डिङ आईसीटी कम्पनी अवार्ड’ ले सम्मान गरेको थियो ।

यो अवार्डबाट कम्पनीलाई अन्तर्राष्टिय रूपमा पहिचान दियो । फलस्वरूप नेपाल बाहिर पनि आफ्नो व्यवासय विस्तार गर्ने अवसर मिल्यो ।

त्यस्तै यो कम्पनीले नेपाल चेम्बर अफ कमर्सबाट ‘बेस्ट इन्नोभेटिभ आईसीटी कम्पनी २०१६’ प्राप्त गरेको थियो । त्यस्तै कम्पनीले २०१७ मा क्यान फेडेरेसन ‘बेस्ट आईसीटी युजर्स अवार्ड’ पनि प्राप्त गर्‍यो ।

पब्लिक कम्पनी बन्ने योजना
६५ हजारको पुँजीलाई करिब १० करोडमा विस्तार गरेको यो सफ्टवेयर कम्पनीको अबको योजना पब्लिक लिमिटेड कम्पनी बन्नु हो ।

‘आउँदो दुई-तीन वर्षभित्रै लिमिटेड कम्पनी बन्ने योजना छ । अबको जमानामा कम्पनी ठूलो हुने भनेकै क्यापिटल मार्केटमा जाँदा हो । यसका लागि हामी योजनाबद्ध रुपले काम गरिरहेका छौं,’ रघुवंशीले सुनाए ।

आगामी यात्रा
व्यावसायिक कम्पनीको रुपमा काम गरिरहँदा इन्फोडेभलपर्सले नेपालको डिजिटल रुपान्तरणको यात्रामा थोरबहुत योगदान पुर्‍याएको छ । अझै धेरै जिम्मेवारी र अवसर कम्पनीसँग छन् । आगामी दिनमा पनि निरन्तर फिनटेक क्षेत्रका साथै सरकारी, गैरसरकारी क्षेत्रका लागि नवीनतम सेवा ल्याउने ध्याउन्नमै कम्पनी हुनेछ ।

अझै मार्केट सेयर बढाउने, ग्राहक सन्तुष्टि बढाउनेलगायतका कम्पनीका योजना छन् । गुणस्तरीय सेवा प्रदान गर्न बजारको आवश्यकता अनुसार शाखाहरु विस्तार गर्ने योजना समेत कम्पनी ल्याएको छ । हालै इटहरीमा कम्पनीको नयाँ शाखा विस्तार भएको छ ।

‘स्वदेशी सफ्टवेयर र स्वदेशी जनशक्तिमा विश्वास दिलाउन कम्पनीले थप मेहनत गर्नेछ,’ सीईओ रघुवंशीले अन्त्यमा भने, ‘थुप्रै चुनौती छन्, तर हामीसँग बलियो टिम र स्पष्ट रणनीति छ । लक्ष्यमा पुग्ने नै छौं ।’

शब्दचित्रमा इन्फोडेभलपर्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२