close

के तपाईँलाई थाहा छ, एटीएम कार्डमा हुने वाई-फाई जस्तो चिन्हको अर्थ ?

टेकपाना टेकपाना

भदौ १, २०७९ १९:३७

के तपाईँलाई थाहा छ, एटीएम कार्डमा हुने वाई-फाई जस्तो चिन्हको अर्थ ?

काठमाडौं । पक्कै पनि तपाईँसँग कुनै न कुनै बैंकको एटीएम कार्ड हुनुपर्छ । यदि तपाईँले ध्यान दिएर हेर्नु भएको छ भने त्यो कार्डमा वाई-फाईको जस्तो सङ्केत देख्नु भएकै होला । आखिर त्यसको कुनै अर्थ छ ? अनि त्यस्तो सङ्केत भएको कार्डको फाइदा के फाइदा होला ? 

आज हामी यही विषयमा तपाईँलाई बताउँदै छौँ । अन्तर्राष्ट्रिय कार्ड कम्पनी भिसा र मास्टर कार्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमा यस्तो सङ्केत देख्न सकिन्छ । वास्तवमा यसको अर्थ ‘कन्ट्याक्टलेस पेमेन्ट’का लागि प्रयोग गर्न सकिने कार्ड हो ।

‘कन्ट्याक्टलेस पेमेन्ट’को शाब्दिक अर्थ सम्पर्क नगरी अर्थात् टाढैबाट पैसा तिर्न सकिने सुविधा । अहिलेको डिजिटल भुक्तानीको समयमा तपाईँ हामी क्यूआर पेमेन्ट वा पस मसिनमा कार्ड राखेर गरिने भुक्तानीमा अभ्यस्त भइसकेका छौँ ।

क्यूआर स्क्यानमार्फत गरिने भुक्तानीका लागि तपाईँको मोबाइलमा इन्टरनेट हुनैपर्छ । साथै मोबाइल बैंकिङ एप वा डिजिटल वालेटको एपमा लगईन गरेर पिन नम्बर समेत राख्नु पर्छ । अर्कोतर्फ पस मसिनमार्फत गरिने भुक्तानीमा आफ्नो कार्ड सम्बन्धित पसल व्यवसायका कर्मचारीलाई दिएर पासवर्ड राख्नुपर्ने हुन्छ ।

तर कन्ट्याक्टलेस कार्डमा यस्ता कुनै पनि झन्झट हुँदैनन् । तर ‘कन्ट्याक्टलेस पेमेन्ट’ भने धेरैका लागि नयाँ हुन सक्छ । यसमा पसल व्यवसायमा हुने पस मसिनमा तिर्नुपर्ने रकम उल्लेख गरिसकेपछि तपाईँसँग भएको कार्ड उक्त मसिन नजिकै लैजाँदा पुग्छ । त्यसकै भरमा तपाईँको खाताबाट बिक्रेताको खातामा रकम भुक्तानी हुन्छ । 

नेपालका विभिन्न मार्ट, शपिङमल, होटेल-व्यवसायमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले यस किसिमको सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख व्यापार अधिकृत पबिन्द्र राजभण्डारीका अनुसार बजारमा उपलब्ध अधिकांश एटीएम कार्डहरूबाट ‘कन्ट्याक्टलेस पेमेन्ट’ गर्न सकिन्छ ।

“ठूलाठूला मल तथा पसलहरूमा पैसा तिर्नेहरूको लामो लामो लाइन लागिरहेको हुन्छ,” उनी भन्छन्, “यो कन्ट्याक्टलेस पेमेन्टले तुरुन्तै भुक्तानी गर्न सकिने भएकाले त्यस्तो झन्झट कम गर्न सक्छ ।” कोरोना महामारीको समयमा संक्रमण रोक्नका लागि समेत यस किसिमको प्रविधिले सहयोग पुर्‍याउन सक्छ ।

“पेट्रोल पम्पहरूमा यो प्रविधिको अझ धेरै उपयोगिता हुन सक्छ,” राजभण्डारी भन्छन् । तर यस्तो भुक्तानीमा एउटा व्यक्तिको कार्ड अर्को व्यक्तिले दुरुपयोग गर्ने जोखिम भने रहन्छ । त्यसैले ‘कन्ट्याक्टलेस पेमेन्ट’ का लागि दैनिक पाँच हजार रुपैयाँको भुक्तानी सीमा तोकिएको छ । 

उनी अगाडि भन्छन्, “यदि तपाईँको कार्ड कसैले चोर्‍यो वा हरायो भने पनि यसको अधिकतम जोखिम भनेको पाँच हजार रुपैयाँ मात्रै हो । तर त्यो जोखिम लिँदा तपाईँलाई ट्याप गरेकै भरमा भुक्तानी गर्न सकिने सुविधा हुन्छ । यदि तपाईँ पासवर्ड वा पिन कोड राख्न चाहनु हुन्छ भने त्यो विकल्प पनि हुन्छ ।”

सामान्यतया धेरै जसो प्रयोगकर्ताले पर्समै एटीएम कार्ड बोकिरहेका हुन्छन् । यस्तोमा पर्सबाट कार्ड नझिकेरै ‘कन्ट्याक्टलेस पेमेन्ट’ गर्न सकिन्छ । तर यदि तपाईँको पर्समा दुई वा दुई भन्दा बढी यस्ता कार्ड छन् भने त्यस्तो बेलामा भने यो प्रविधिले काम नगर्न सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४