close

ब्राउजर एक्सटेन्सनमार्फत लाखौं प्रयोगकर्ताको विवरण चोरी 

टेकपाना टेकपाना

भदौ ३, २०७९ १९:१२

ब्राउजर एक्सटेन्सनमार्फत लाखौं प्रयोगकर्ताको विवरण चोरी 

काठमाडौं । मालिसियस अर्थात खराब आशय युक्त ब्राउजरको एक्सटेन्सनले लाखौं प्रयोगकर्ता प्रभावित भएको एक अध्ययनले देखाएको छ ।

एन्टिभाइरस कम्पनी क्यासपरस्कीले टेलिमेट्री डेटामार्फत गरेको अध्ययन अनुसार पछिल्लो दुई वर्षको अवधिमा ४३ लाख भन्दा बढी प्रयोगकर्ता ‘एडवेयर’ नामक माल्वेयरको सिकार बनेका छन् । सन् २०२० को जनवरी देखी जुनसम्म ब्राउजरमा राखिने एक्सटेन्सनमार्फत यो माल्वेयर फैलिएर ४३ लाख प्रयोगकर्ताको डिभाइसमा पुगेको छ । जसमध्ये ७० प्रतिशत प्रयोगकर्ता प्रभावित भएको अध्ययनले जनाएको छ । 

अर्कोतर्फ यो अवधिमा ६० लाख प्रयोगकर्तालाई यो माल्वेयर डाउनलोड गर्नबाट रोकेको क्यासपरस्कीको दाबी छ । 

कम्पनीका अनुसार ब्राउजर एक्सटेन्सनबाट सबैभन्दा बढी ‘एडवेयर’ माल्वेयर फैलिएको छ । ब्राउजर प्रयोगमा प्रयोगकर्तालाई फरक फिचरहरू उपलब्ध गराउन यस्ता एक्सेटन्सको प्रयोग भइरहेको हुन्छ । यस्ता एक्सटेन्सनले ब्राउजर हिस्ट्रीमार्फत प्रयोगकर्ताको क्रियाकलाप निगरानी गरिरहेको अध्ययनले बताएको छ । 

क्यासपरस्कीका अनुसार विभिन्न मालिसियस एक्सटेन्सनमध्ये सबैभन्दा बढि ‘वेबसर्च’ एक्सटेन्सनका प्रयोगकर्ता रहेका छन् । यो एक्सटेन्सन नौं लाख भन्दा बढी डाउनलोड भएको पाइएको छ । यो एक्सटेन्सले ब्राउजरको सर्च इन्जिनमा ‘माईवे’ लाई डिफल्ट बनाउँछ । जसमार्फत प्रयोगकर्ताले सर्च गरेको विषयलाई लिएर त्यसलाई विश्लेषण गरी त्यसैका आधारमा प्रयोगकर्तालाई मालिसियस युक्त पेजमा पुर्‍याउने गरेको जनाइएको छ । उक्त मालिसियस पेजमा पुर्‍याए सँगै प्रयोगकर्ताको लगइनको जानकारी लगायतका महत्वपूर्ण तथ्याङ्क संकलन गर्ने रिपोर्टमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४