close

अब टिकटक स्टोरी सिधै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न मिल्ने 

टेकपाना टेकपाना

भदौ ४, २०७९ ७:५१

अब टिकटक स्टोरी सिधै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न मिल्ने 

काठमाडौं । फेसबुक र इन्स्टाग्राम आफ्नो प्लेटफर्ममा टिकटकका जस्तै फिचर उपलब्ध गराउन व्यस्त भइरहेका बेला टिकटकले भने आफ्नो नयाँ फिचर सार्वजनिक गरेको छ ।

याे फिचर प्रयोग गरेर टिकटक प्रयोगकर्ताले आफ्ना स्टोरीहरू सिधै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्नेछन् ।

कम्पनीले हाल केही सीमित प्रयोगकर्ताले याे फिचर उपलब्ध गराएकाे छ । यो फिचरसँगै टिकटकका सामग्रीले मेटाको प्लेफर्ममा थप ‘भिजिबिलिटी’ पाउने अनुमान गरिएको छ ।

कतिपय प्रयोगकर्ताले टिकटकको भिडिओ नै डाउनलोड गरेर रिल्समा राख्ने पनि गरेका छन् । तर मेटाले भने रिल्समा नै बनाइएका मौलिक भिडिओलाई मात्र प्राथमिकता दिने बताउँदै आएको छ ।

यस्तोमा टिकटकको स्टोरी सोझै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न पाइने फिचरले रिल्सलाई थप प्रभावित गर्नसक्छ ।

प्रयोगकर्ताको हकमा भने यो फिचर फलदायी हुनेछ । आफ्नो भिडिओहरू सामाजिक सञ्जालका अन्य अकाउन्टहरूमा पनि शेयर गर्न पाउँदा प्रयोगकर्ताको पहुँच बढ्नेछ ।

यसअघि ‘शेयरिङ’ अप्सनमा डाउनलोड गरेर अर्को प्लेटफर्ममा अपलोड गर्ने अथवा टिकटककै साथीलाई डाइरेक्ट मेसेजमा शेयर गर्ने सुविधा मात्र थियो ।

अब भने आफ्नो भिडिओ स्टोरी फेसबुक र इन्स्टाग्राममा पनि राख्न सकिनेछ । यो फिचर आएसँगै स्टोरीको ‘क्विक ट्याप’ अप्सनमा रेड्डिट, फेसबुक, इन्स्टाग्राम र इन्स्टाग्राम स्टोरिज पनि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४