close

एमडीएमएस लागू भएसँगै विदेशी पर्यटकले नेपाली सिम प्रयोग गर्न सक्छन् या सक्दैनन् ?

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १५:५४

एमडीएमएस लागू भएसँगै विदेशी पर्यटकले नेपाली सिम प्रयोग गर्न सक्छन् या सक्दैनन् ?

काठमाडौं । अवैध मोबाइलको रोकथाम तथा नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।

यससँगै एमडीएमएसमा दर्ता नभएका फोनमा नेपाली सिम सपोर्ट हुनेछैन । यो व्यवस्था कार्यान्वयनमा आएसँगै धेरैकाे मनमा यससँग सम्बन्धित थुप्रै जिज्ञासा आइरहेका छन् ।

विशेषगरी विदेशबाट ल्याएका फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न के गर्नुपर्छ ? वा दर्ता नगर्दा के हुन्छ भन्ने कुरा बढी खोजिएको छ ।

त्यसैगरी नेपाल घुम्न आउने पर्यटकले एमडीएमएसमा दर्ता गर्नुपर्छ वा पर्दैन जस्ता विविध विषयमा पनि जिज्ञासा आइरहेको छ ।

कुनै पनि फोन नेपाल बाहिरबाट ल्याई नेपाली सिम प्रयोग गर्नुपर्ने छ भने उक्त फोन एमडीएमएस प्रणालीमा अवश्य दर्ता गरेको हुनुपर्छ ।

प्रयोगकर्ताले उक्त फोन नेपालमा ल्याएको १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था छ । यदि सो समयावधिमा फोन दर्ता गरेको छैन भने उक्त फोनमा नेपाली सिम सपोर्ट हुँदैन ।

त्यस्तै नेपाल आउने पर्यटकको हकमा पनि नेपाली सिम प्रयोग गर्नुपर्ने अवस्था छ भने दर्ता गर्नुपर्ने हुन्छ । दर्ता नगरेको अवस्थामा पनि उक्त फोनमा नेपाली सिम १५ दिनसम्म प्रयोग गर्न सकिन्छ ।

यदि १५ दिनभन्दा बढी सिम प्रयोग गर्नुपर्ने अवस्था छ भने उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुनै पनि फोन नेपाल भित्र्याएर नेपाली सिम प्रयोग गरिएको छैन भने त्यसमा एमडीएमएम प्रणालीको कुनै कुरा आउँदैन ।

उक्त फोनमा नेपाली सिम प्रयोग गरेपछि सो फोनको विवरण नेपाल दूरसञ्चार प्राधिकरणमा पुग्छ । त्यसैअन्तर्गत सिम प्रयोग भएको १५ दिनसम्म पनि फोन एमडीएमएस प्रणालीमा दर्ता भएन भने दूरसञ्चार प्राधिकरणले उक्त फोन ‘रेड लिस्ट’मा राख्छ ।

‘रेड लिस्ट’मा राखेको फोनमा त्यसपछि नेपाली सिम सपोर्ट हुँदैन ।

यसबाट के बुझ्नुहाेस् भने विदेशबाट कसैले उपहार ल्याइदिएको वा कसैबाट मगाएका फोन छन् भने उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ ।

अहिलेलाई नयाँ फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न कुनै शुल्क लाग्दैन । तर, यो सुविधा केही महिनासम्म मात्र सीमित रहने दूरसञ्चार प्राधिकरणले बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४