काठमाडौँ । भारतीय कन्टेन्ट क्रियटर नितिश राजपुतको युट्युब च्यानल पाकिस्तान सरकारले बन्द गरिदिएको छ । राजपुतले शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत आफ्नो च्यानल ब्लक भएको जानकारी दिएका हुन् ।
“पाकिस्तानले त्यहाँ मेरो युट्युब च्यानल ब्लक गरेको छ,” राजपुतले एक्समा लेखेका छन् । उनले युट्युबबाट प्राप्त सूचनाको स्क्रिनशटसमेत सार्वजनिक गरेका छन् ।
स्क्रिनशटमा लेखिएको छ, “हामीले तपाईंको सामग्री (कन्टेन्ट) का सम्बन्धमा सरकारी निकायबाट कानुनी उजुरी प्राप्त गरेका थियौं । तपाईंले प्रस्तुत गर्ने सामग्रीको विश्लेषण गरेपछि हामीले तपाईंको युट्युब च्यानल पाकिस्तानमा ब्लक गरेका छौं ।”
कन्टेन्ट क्रियटर राजपुत आफ्ना विस्तृत व्याख्यात्मक (एक्स्प्लेनर) भिडिओका कारण भारतलगायत अन्य देशमा चर्चित छन् । विशेषगरी उनी इतिहास र राजनीतिसँग सम्बन्धित विषयमा विश्लेषणात्मक भिडिओ बनाउँदै आएका छन् । उनले भारतबाट पाकिस्तान छुट्टिएको घटनादेखि विभिन्न आतङ्कवादी समूहले गरेका हमला र गतिविधिलाई सरल भाषामा व्याख्या गर्दै भिडिओ बनाएका छन् ।
लामो समयका र रोचक भिडिओका कारण उनी भारतमा चर्चित छन् । त्यस्तै सरल भाषा र उच्च गुणस्तरको एनिमेसन प्रयोग गरेर भिडिओ बनाउने भएकाले उनका भिडिओहरू लोकप्रिय छन् । उनको च्यानलमा लगभग ७० लाख सब्सक्राइबर छन् ।