close

१८ वर्षीय ह्याकरको कब्जामा उबर !

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १७:३०

१८ वर्षीय ह्याकरको कब्जामा उबर !

काठमाडौं । राइड हेलिङ कम्पनी उबरको कम्प्युटर प्रणाली एक १८ वर्षीय ह्याकरले कब्जामा लिएका छन् । ह्याकरले बिहीबार कम्पनीको आन्तरिक कम्प्युटर प्रणाली ह्याक गरेर विभिन्न सूचनामा पहुँच बनाएका हुन् ।

उबरको आन्तरिक प्रणाली, ईमेल ड्याशबोर्ड र स्लेक सर्भरमा प्रवेश गरी उनले अनलाइन प्लेटफर्महरूमा स्क्रिनशट शेयर गरेका छन् ।

ती स्क्रिनशटमा कम्पनीको विभिन्न आईटी प्रणालीमा पहुँच पाएको देखिएको ब्लिपिङ कम्प्युटरले जनाएको छ । यसअन्तर्गत कम्पनीको सेक्युरिटी सफ्टवेयरदेखि विन्डोज डोमेनसम्म ह्याकरकाे पहुँच पुगेकाे उल्लेख गरिएकाे छ ।

यसबारे उबरले एक ट्वीट गर्दै याे घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

उबरको आन्तरिक कम्प्युटर प्रणालीमा पहुँच जमाउन सफल ती ह्याकरले आफूसँग अमेजन वेब सर्भिस तथा गुगल क्लाउड प्लेटफर्मको एडमिन पहुँचसमेत रहेको दाबी गरेका छन् ।

दि नू योर्क टाइम्सको एक समाचार अनुसार कम्पनीले यो डेटा ब्रिचको बारेमा अनुसन्धान गर्न विभिन्न आन्तरिक प्रणाली अफलाइन बनाएको थियो ।

उक्त ह्याकरले कम्पनीको आन्तरिक स्याक सिस्टममा मेसेज पोस्ट गरेर आफूलाई उबरको कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए ।

ह्याकरले ट्वीटरमा एक पोस्ट गर्दै आफू ह्याकर भएको र आफूले कम्पनीको डेटा ब्रिच गरेको कुरा जानकारी दिए ।

कम्पनीको संवेदनशील जानकारी शेयर गर्दै उनले उबरले ड्राइभरलाई कम पैसा दिने गरेको आरोप लगाएका छन् । ह्याकरले उबरको स्लेक प्रणालीमा गरेको मेसेजलाई उबरका कर्मचारीले कसैले मजाक गरेको भन्ने सोचेका थिए ।

ह्याकरले पठाएको मेसेजको जवाफमा उबरका कर्मचारीले विभिन्न ईमोजी पठाउँदै मजाकको भाव प्रस्तुत गरेका थिए ।

आफू १८ वर्षको भएको र रमाइलोका लागि उबर ह्याक गरेको उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४