close

एआईबाट दुरुस्तै आवाज मिलाएर भारतीय पत्रकार रविश कुमारको नाममा युट्युब च्यानल, लाखौं दर्शक झुक्किए

टेकपाना टेकपाना

बैशाख २५, २०८२ १६:२०

एआईबाट दुरुस्तै आवाज मिलाएर भारतीय पत्रकार रविश कुमारको नाममा युट्युब च्यानल, लाखौं दर्शक झुक्किए

काठमाडौँ । भारतका चर्चित पत्रकार रविश कुमारको नाममा नक्कली युट्युब च्यानल सञ्चालनमा आएको खुलासा भएको छ । स्वयं रविश कुमारले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् ।

उनले 'Ravish Ki News' नामक नक्कली च्यानलले आफ्नो फोटो र आवाज प्रयोग गरिरहेको बताएका छन् ।

अप्रिल १ देखि सञ्चालनमा आएको यो च्यानलमा हालसम्म ६७ हजार भन्दा बढि सब्स्क्राइबर पुगेका छन् । हालसम्म नौ वटा मात्र भिडिओ पोस्ट गरिए पनि ती भिडिओमा करिब साढे नौ लाख भ्युज पुगेको छ ।

उक्त च्यानलमा एआई प्रविधि प्रयोग गरी रविश कुमारकै जस्तो आवाज निकालेर भिडिओहरू राखिएको पाइएको छ । उनको बोल्ने शैली, भिडिओको थम्बनेल र जानकारी दिने तरिका दुरुस्तै भएका कारण धेरै दर्शक झुक्किएका छन् ।

च्यानलका सबै भिडिओको सुरुमा रविश कुमारको परिचय देखाइन्छ, तर त्यसपछि अन्य फुटेज र तस्बिरहरू प्रयोग गरिएका छन् । पहिलो भिडिओ सात दिनअघि पोस्ट गरिएको थियो, जसमा रविशको आधिकारिक च्यानल बन्द हुने खतरा बढेकोले नयाँ च्यानल सब्सक्राइब गर्न दर्शकहरूलाई अनुरोध गरिएको छ ।

यसैगरी 'Ravish K News' को नाममा करिब ६ महिनादेखि यस्तै युट्युब च्यानल खोलेको पाइएको छ । जसमा १११ ओटा भिडिओ अपलोड भएको देखिन्छ ।  पोस्ट भएका अधिकांश भिडिओहरूमा हजारौं भिउज आएका छन् । रविशले आफ्नो फेसबुक तुलनात्मक रुपमा थोरै सब्स्क्राइबर र भिडिओ भएका च्यानलहरूको विषयमा लेखे पनि सबैभन्दा धेरै सब्स्क्राइबर र भिडिओ भएको च्यानलका विषयमा भनेर हालसम्म केही लेखेका छैनन् । 

यसैगरी, 'Ravish K Vichar' नामक अर्को नक्कली युट्युब च्यानल पनि फेला परेको छ । रविश कुमारले यस च्यानलको बारेमा पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मे ७ मा सुरु भएको यो च्यानलमा हाल दुई सब्सक्राइबर र तीन ओटा भिडिओ पोस्ट भएका छन् । रविशले यी भिडिओ पनि एआई- सिर्जित भएको दाबी गरेका छन् ।

रविश कुमारले आफ्नो नाममा नक्कली च्यानल सञ्चालन भइरहेको जानकारी दिएलगत्तै यो नयाँ च्यानल खोलिएको अनुमान गरिएको छ । ​रविशको आधिकारिक युट्युब च्यानल Ravish Kumar Official हो, जसमा एक करोड ३० लाख बढी सब्सक्राइबर रहेका छन्। रविशले सन् २०२२ देखि टीभी पत्रकारिता छोडेर युट्युबबाट नै पत्रकारिता गर्ने घोषणा गरेका थिए । आजको दिनसम्म उक्त च्यानलमा एक हजार ८६ भिडिओ पोस्ट भइसकेका छन् । 

रविश कुमारको नक्कली युट्युब च्यानलको सब्सक्राइबर ६७ हजार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १८:५९