close

आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या !

टेकपाना टेकपाना

असोज १३, २०७९ ८:३७

आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या !

काठमाडौं । एप्पलले आईओएस १६ सार्वजनिक गरेलगत्तै यसमा थुप्रै समस्या देखिएका छन् । आईओएस १६ सार्वजनिक भएपछि प्रयोगकर्ताले सबैभन्दा पहिले नयाँ एप डाउनलोड नहुने समस्या पत्ता लगाएका थिए । त्यसपछि आईफोनमा फोटो कपी पेस्टको फिचरमा बग देखिएको थियो ।

त्यस्तै पछिल्लो समय प्रयोगकर्ताले ब्याट्री क्षमता तीव्र रूपमा घटेको गुनासो गरेका छन् । आईओएस १६ सार्वजनिक भएको करिब दुई हप्तापछि प्रयोगकर्ताले ब्याट्री चाँडो खपत भएको गुनासो गरेका छन् ।

आईओएस १६ मा ब्याट्री लाइफ

आईफोनमा आईओएस १६ अपडेट गरिसकेपछि ब्याट्री पहिलेको तुलनामा चाँडो खपत हुन थाल्छ । यो किन भएको हो भने फोनमा नयाँ आईओएस इन्स्टल गर्दा त्यसले ब्याकग्राउन्डमा अन्य एप, फाइल, फोटो तथा सिस्टम अपडेट गर्न थाल्छ । यसले गर्दा सुरुवातमा ब्याट्री चाँडो खपत हुने गरेको एप्पलको भनाइ छ ।

नयाँ आईओएस आएपछि ब्याट्री चाँडो खपत हुने गुनासो नौलो होइन । पछिल्लो पटक आईओऐस १५ उपलब्ध हुँदा पनि प्रयोगकर्ताले ब्याट्री चाँडो खपत हुने गरेको गुनासो गरेका थिए । त्यसमा अपडेट हुनुपर्ने हरेक कुरा अपडेट भएपछि ब्याट्री तुलनात्मक हिसाबले बढी टिकाउ हुन्छ ।

यसो त आईओएस १६ सार्वजनिक भएको दुई साताभन्दा बढी भइसकेको छ । प्रयोगकर्ताले अहिले पनि ब्याट्री चाँडो खपत हुने समस्या आएको गुनासो गरिरहेका छन् । आईफोन प्रयोगकर्ताले रेडइट, टिकटक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालका एपमा आईओएस १६ को ब्याट्री सम्बन्धी थुप्रै गुनासो गरिरहेका छन् ।

यसो त एप्पलले नयाँ आईफोन बिक्री गर्नका लागि अपडेटमा कुनै न कुनै समस्या ल्याउने षड्यन्त्र सिद्धान्तहरू नभएका होइनन् । एप्पल सम्बन्धी समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नाइनटुफाइभम्याकले आयोजना गरको पब्लिक भोटिङमा ६३ प्रतिशत आईफोन प्रयोगकर्ताले नयाँ अपडेट इन्स्टल गरिसकेपछि समस्या आएको उल्लेख गरेका छन् ।

एप्पलले भने हालसम्म यससम्बन्धी कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीले आईओएस १६.०.२ काे बेटा संस्करण बिना कुनै पूर्व जानकारी सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ ८:४०