close

स्नातक तहमा डेटा साइन्स तथा डिजिटल मार्केटिङ विषय पढ्न उपयुक्त कोर्ष

सञ्जीवन राई सञ्जीवन राई

कात्तिक ६, २०७९ १०:११

स्नातक तहमा डेटा साइन्स तथा डिजिटल मार्केटिङ विषय पढ्न उपयुक्त कोर्ष

काठमाडाैं । डिजिटल यात्राकाे दाैडमा विश्व निकै रफ्तारमा गइरहेकाे छ । नतिजास्वरुप नयाँ-नयाँ प्रविधिकाे विकास भइरहेकाे छ । जसकारण यसबारे ज्ञान तथा सीप भएका दक्ष जनशक्तिकाे आवश्यकता बढ्दै छ ।

यही कुरालाई सम्बाेधन गर्न विभिन्न विश्वविद्यालयले पाठ्यक्रमहरुमा नयाँ अपडेट ल्याउनुका साथै नयाँ पाठ्यक्रम तयार पारिरहेका हुन्छन् । याे डिजिटल जमानाका लागि डेटा साइन्स र डिजिटल मार्केटिङ नयाँ विषयहरु हुन् ।

यी विषयले उत्पादन गर्ने जनशक्तिहरुकाे माग उच्च रहेकाे छ । नेपालमा पनि प्रविधिसँग सम्बन्धित कम्पनीहरुकाे सूची लम्बिँदै जाँदा यी विषयकाे औपचारिक अध्ययन अनिवार्य बन्दै गइरहेकाे छ । यही आवश्यकता पूरा गर्न याे वर्षदेखि मैतिदेवीमा रहेकाे सनवे कलेजले स्‍नातक तहमा यी विषय सञ्चालनमा ल्याउने भएकाे छ ।

आज हामी यी विषयबारे विस्तृत जानकारी दिँदैछाैँ । सन् २०१० बाट सञ्चालनमा आएकाे याे कलेजले बेलायतस्थित बर्मिङ्घम सिटी युनिभर्सिटी (बीसीयू) सँग सहकार्य गरेर यी शैक्षिक कार्यक सञ्चालनमा ल्याउन लागेकाे हाे ।

यसअगाडि कलेजले कम्प्युटर साइन्स काेर्ष सञ्चालन गरिरहेकाे थियाे ।

डेटा साइन्स

सनवे कलेजले यही शैक्षिक वर्षबाट सञ्चालन गर्ने बीएससी (अन्स) कम्प्युटर एन्ड डेटा साइन्स ४ वर्षे काेर्ष हाे । क्रेडिट आवर ४८० भएकाे याे काेर्ष कम्प्युटर विज्ञान र तथ्याङ्क शास्त्रकाे एकीकृत काेर्ष हाे । यस काेर्षकाे पहिलाे वर्षमा कम्प्युटरकाे आधारभूत कुराहरुकाे अध्ययन हुन्छ ।

जसमा प्राेगामिङ ल्याङ्वेज, नेटवर्क, कम्प्युटर सिस्टम, वेब डिजाइन, वेब डेभलपमेन्टजस्‍ता विषय समावेश छन् ।

त्यस्तै दाेस्राे वर्षमा साइबर सेक्युरिटी, अब्जेक्ट ओरियन्टेड प्राेगामिङ, इन्ट्रडक्सन टु डेटा साइन्स, सफ्टवेयर डिजाइन, डेटाबेस एन्ड वेब एप्लिकेसन डेभलपमेन्ट र डेटा  भिजुअलाइजेसनकाे पढाइ हुन्छ ।

यस काेर्षकाे सुरुकाे दुई वर्षमा कम्प्युटिङका लागि आवश्यक पर्ने काेडिङ, ग्राफिक्स, सिस्टम, नेटवर्क र डेटाबेसकाे आधारभूत कुराहरुकाे पढाइ हुने कलेजका स्ट्राटेजी एन्ड कम्युनिकेसन हेड क्षितिज देवकाेटाले जानकारी दिए ।

साथै उनले दुई वर्षकाे अवधिमा विद्यार्थीहरुलाई डेटा के हाे, यसकाे आवश्यकता तथा महत्त्व, यसले कसरी काम गर्छ भन्नेबारे स्पष्ट बुझाइने बताए । जसका लागि डेटा क्षेत्रमा काम गरिरहेका कम्पनीहरुसँग सहकार्य भएकाे उनले जानकारी दिए ।

डिजिटल मार्केटिङ

व्यापार प्रशासन अध्ययन गर्न खाेजिरहेका विद्यार्थीहरुका लागि नयाँ विकल्पकाे रुपमा याे काेर्ष रहेकाे छ । बीए (अनर्स) मार्केटिङ विथ डिजिटल कम्युनिकेसन पूरा नाम रहेकाे याे ४८० क्रेडिट आवरकाे ४ वर्षे काेर्ष हाे ।

मार्केटिङ लगायत अन्य कुराहरु डिजिटलाइज भइरहेकाे अवस्थामा याे काेर्षले त्यसमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गर्दछ । याे काेर्ष आफैं व्यापार गर्ने, अथवा व्यापार गर्दा व्यवस्थापन तहमा बसेर काम गर्ने याेजना बनाएका विद्यार्थीहरुका लागि उपयुक्त काेर्ष रहेकाे देवकाेटाले बताए ।

यस काेर्षकाे पहिलाे वर्षमा प्रिन्सिपल अफ मार्केटिङ, कन्ज्युमर बिहेभियर, कन्टेन्ट मार्केटिङ, फाइनान्स फर मेनेजर्स, क्रियटिभ कन्सेप्ट एन्ड डिजाइन विषयहरु रहेका छन् ।

त्यस्तै दाेस्राे वर्षमा ब्राण्ड डाइनामिक एन्ड एक्टिभेसन, मार्केटिङ कम्युनिकेसन्स प्लानिङ, एक्सपेरियन्स डिजाइनजस्ता विषय छन् ।

प्रोफेसनल्स प्लेसमेन्ट इयर

यस काेर्षकाे मुख्य आकर्षण भनेकाे तेस्राे वर्ष हाे । किनकि दुवै काेर्षमा भर्ना भएका विद्यार्थीहरुले १२० क्रेडिट आवरका लागि नाै महिने सशुल्क इन्टर्न गर्नुपर्ने हुन्‍छ । जहाँ विद्यार्थीहरुले कमाइ गर्दै अध्ययन गर्न सक्छन् ।

कुनै विद्यार्थीले उक्त इन्टर्नकाे काम जारी राख्‍छु भन्याे भने चाैंथाे वर्षमा पनि जारी राख्न पाउँछ । 

यसका लागि कलेजले गुर्जु इन्‍क, आईडीए, ई-ल्यान्स, दर्शन साेलुसन, जेनेस लगायतका कम्पनीहरुसँग सहकार्य गरिरहेकाे छ ।

कलेजले कम्पनीसँग सहकार्य गरेका कम्पनीहरुमा विद्यार्थीहरु इन्टर्नका लागि जान्छन् । इन्टर्नमा जानुअघि 'अपस्किलिङ' मार्फत विद्यार्थीहरुलाई काम गर्न याेग्य बनाइने देवकाेटाले बताए ।

के हाे अपस्किलिङ?

कलेजले विद्यार्थीहरुकाे सीप निखार्न पाठ्यक्रम बाहेकका विषयहरुकाे अध्यापन गराउने गर्दछ, जसलाई अपस्किलिङ नाम दिइएकाे छ । यहाँ आफू के बन्ने, के गर्नेजस्ता अन्याेलबारे समेत कुरा हुन्छ । यस बाहेक विभिन्न सीपहरु जस्तै; इन्टरनेट अफ थिङ्स, थ्रीडी माेडलिङ, ग्राफिक्स एन्ड भिडिओ एडिटिङ जस्ता विषयहरु नन-क्रेडिट काेर्षकाे रुपमा पढाइ हुन्छ ।

विद्यार्थीहरुलाई बजार र शिक्षाकाे अवस्था बुझाउन कलेजमा आईटीसँग सम्बन्धित  विभिन्न कम्पनीहरु ल्याउने र विद्यार्थीहरुलाई पनि विभिन्न कम्पनीहरुमा भ्रमणका लागि लाने गरेकाे देवकाेटाले बताए । 

उनका अनुसार ती कम्पनीहरुले प्रत्येक महिना ८ घण्टाका लागि कलेजमा आएर विद्यार्थीहरुसँग विभिन्न विषयहरुमा अन्तर्क्रिया गर्ने गरेका छन् । 

चाैंथाे वर्ष

यी दुवै काेर्षहरुकाे चाैथाे अर्थात् अन्तिम वर्षमा विद्यार्थीहरुले सम्बन्धित विषयहरुमा स्पेसलाइजेसन गर्नुपर्ने हुन्छ । चाैंथाे वर्षकाे अध्ययनका लागि विद्यार्थीहरु इन्टर्नबाट कलेजमा फर्किसकेका हुन्छन् ।

यस वर्ष प्रत्येक विद्यार्थीले प्राेजेक्ट तयार पार्नुपर्ने हुन्छ । डेटा साइन्सकाे चाैंथाे वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स एन्ड मसिन लर्निङ, माेर्डन डेटा स्टाेर्स, डिप न्युरल नेटवर्क, डेटा म्यानेजमेन्ट एन्ड मसिन लर्निङ अपेरेसन विषयकाे अध्ययन गर्नुपर्ने हुन्छ ।

त्यस्तै डिजिटल मार्केटिङकाे पनि चाैंथाे वर्षमा स्पेसलाइजेनका विषय छन् । यस वर्ष मार्केटिङ स्ट्राटेजी एन्ड लिडरशिप, वान प्लानेट बिजनेस, डिजिटल इन्टरप्राइज, डिजिटल एनालाइटिक्स फर  मार्केटिङ र प्राेजेक्ट रुट रहेका छन् ।

भविष्य

डिजिटल जमानामा डेटा निकै बहुमूल्य सम्पत्ति हाे । त्यही डेटा साइन्सकाे अध्ययनपछि तपाईंले प्रविधि कम्पनीहरुमा डेटा इन्जिनियर, डेटा आर्किटेक्ट, डेटा एनालिस्ट, डेटा साइन्टिस्ट आदिका रुपमा काम गर्न सक्नु हुनेछ ।

साथै मसिन लर्निङ, सफ्टवेयर डेभलपमेन्ट आदि क्षेत्रमा जान सक्नुहुने छ । त्यस्तै डिजिटल मार्केटिङकाे अध्ययनपछि तपाईंले विज्ञापन एजेन्सी, कर्पाेरेट हाउसहरुमा डिजिटल मार्केटर, मार्केटिङ मेनेजर, एडभर्टिज्मेन्ट एक्सपर्ट, ब्राण्ड मेनेजर भएर काम गर्न सक्नुहुनेछ ।

यीबाहेक तपाईं मिडिया एक्सपर्ट, डिजिटल मार्केटिङ एक्सपर्ट, कन्टेन्ट क्रियटर भएर समेत काम गर्न सक्नुहुनेछ ।

भर्ना 

यी काेर्षहरुमा भर्ना हुन कक्षा १२ अथवा साे सरहकाे अन्य कुनै शैक्षिक कार्यक्रम उत्तीर्ण भएकाे हुनुपर्छ ।

दुवै विषय अध्ययनका लागि कम्तीमा २.४ सीजीपीए अथवा ५५ प्रतिशतभन्दा धेरै  प्राप्ताङ्क ल्याएकाे हुनुपर्छ ।

कलेजले वर्षमा जनवरी/फ्रेब्रुअरी र सेप्टेम्बर/अक्टाेबर गरेर दुई इन्टेकमा भर्ना लिने गरेकाे छ । हाल एक इन्टेकमा १०० जना विद्यार्थीहरुकाे भर्ना लिने गरेकाे छ ।

छात्रवृत्ति र शुल्क

याेग्य विद्यार्थीहरुलाई कलेजले प्रवेश परीक्षा र प्रत्येक सेमेस्टरमा छात्रवृत्ति उपलब्ध गराउने गरेकाे छ । प्रवेश परीक्षामा भने कक्षा १२ मा ल्याएकाे प्राप्ताङ्क, विद्यार्थीले गरेका विभिन्न शैक्षिक क्रियाकलाप लगायत अन्य आधारमा पाउँछन् ।

सेमेस्टरमा भने विद्यार्थीहरुले ल्याएकाे प्राप्ताङ्कका आधारमा पाउनेछन् । यी दुवै काेर्षकाे अध्ययन गर्न १० लाख रुपैयाँकाे हारहारीमा शुल्क लाग्दछ ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०७९ ८:२८