काठमाडौँ । आईफोन १७ सिरिज औपचारिक घोषणा नजिकिँदै जाँदा यससम्बन्धी विभिन्न अड्कल र लिकहरू फैलिन थालेका छन् । सेप्टेम्बर महिनामा सार्वजनिक हुने अनुमान गरिएको यस सिरिजबारे प्रविधिप्रेमीमा उत्सुकता देखिएको छ ।
नयाँ आईफोनका सबै मोडेलको विषयमा ब्याट्री क्षमतामाथि प्रश्न उठिरहेका छन् । विशेषगरी आईफोन १७ एयर मोडेलको पातलो डिजाइनका कारण ब्याट्री साइज सानो हुने आशंका गरिएको छ । अहिलेका आईफोनहरूमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीहरू पातलो डिजाइनमा उपयुक्त नपर्ने भएकाले यसपटक सिलिकन-एनोड ब्याट्री प्रयोग हुने एप्पल इन्साइडरले खुलासा गरेको छ ।
सिलिकन-एनोड ब्याट्रीले परम्परागत ग्रेफाइट एनोडको तुलनामा धेरै लिथियम आयन अंश समेट्न सक्ने भएकाले पातलो डिजाइन हुँदाहुँदै पनि ब्याट्री क्षमता कायम राख्न सकिने अनुमान गरिएको छ । यसले ब्याट्री चार्जको गति पनि बढाउने विश्लेषण छ ।
प्राविधिक विश्लेषणसम्बन्धी वेबसाइट नाइन टु म्याकका अनुसार आईफोन १७ प्रो म्याक्समा आईफोन १६ प्रो म्याक्सको भन्दा थोरै ठुलो ब्याट्री हुनेछ । यद्यपि, सबै जानकारी अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन ।
अर्कोतर्फ, हालै सम्पन्न भएको वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा एप्पलले आफ्नो ‘एप्पल इन्टेलिजेन्स’ कार्यक्रमअन्तर्गत एआई–सञ्चालित ब्याट्री व्यवस्थापन प्रणाली ल्याउने घोषणा गर्यो । यो फिचरले प्रयोगकर्ताको मोबाइल चलाउने शैलीअनुसार ऊर्जा उपयोग समायोजन गर्नेछ । नयाँ आईफोनसँगै आईओएस २६ अपडेट पाउने पुराना मोडेलहरूमा पनि यो सुविधा उपलब्ध गराइनेछ ।
त्यस्तै चिपको सन्दर्भमा पनि विभिन्न अड्कल भइरहेका छन् । आईफोन १७ र १७ एयरमा पुरानै ए१८ चिप राखिने र आईफोन १७ प्रो र प्रो म्याक्समा नयाँ ए१९ चिप राखिने चर्चा छ ।