close

यसरी स्क्यान गर्न सकिन्छ आफ्नै मोबाइल स्क्रिनमा रहेको क्यूआर कोड

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ ९:५९

यसरी स्क्यान गर्न सकिन्छ आफ्नै मोबाइल स्क्रिनमा रहेको क्यूआर कोड

काठमाडौं । अचेल सहजताका लागि क्यूआर कोडको प्रचलन निकै व्यापक भएको छ । अनलाइन भुक्तानी देखि विभिन्न वस्तु तथा सामग्रीको जानकारी, पुस्तक तथा कागजपत्र डाउनलोड आदि विभिन्न प्रयोजनमा क्यूआर कोड सामान्य भइसकेको छ । 

तर क्यूआर सधैँ स्ट्यान्ड, कागज तथा प्रिन्ट वा अर्को उपकरणको स्क्रिनमा नहुन सक्छ । आफूसँग रहेको मोबाइलको स्क्रिन वा ग्यालरीमा रहेको वा कसैले मेसेञ्जर तथा च्याटमा पठाएको अथवा कुनै वेब पेजमा रहेको क्यूआर कोड  स्क्यान गर्नु पर्दा कतिपयले मेसो नपाइरहेका हुन सक्छन् । 

यस्तोमा आज हामी तपाईँलाई आफ्नो मोबाइलमा रहेको क्यूआर कोड कसरी स्क्यान गर्ने भन्ने विषयमा बताउँदै छौँ । 

कसरी गर्ने स्क्यान ?

  • यसका लागि सबैभन्दा पहिला स्क्यान गर्न चाहेको क्यूआर कोड मोबाइलको ग्यालरीमा छ कि छैन चेक गर्नुहोस् । कुनै वेब पेजमा छ भने स्क्रिन शट लिनुहोस् र च्याट बक्समा छ भने ग्यालरीमा सेभ गर्नुहोस् ।

  • अब तपाईँले कुन प्रयोजनका लागि उक्त क्यूआर कोड प्रयोग गर्न खोज्नु भएको हो, सोही एप खोल्नुहोस् । उदाहरणको लागि अनलाइन भुक्तानी गर्न चाहनु भएको हो भने सम्बन्धित मोबाइल बैंकिङ वा डिजिटल वालेट एप खोल्नुहोस् । यदि कुनै वस्तु तथा सेवा सम्बन्धी जानकारीका लागि हो भने गुगल लेन्स एपमा जानुहोस् ।

  • मोबाइल बैंकिङ तथा डिजिटल वालेटमा क्यूआर कोड स्क्यानरका लागि स्क्यान एन्ड पे अथवा स्क्यान टु पे विकल्पमा जानुहोस् । र गुगल लेन्स हो भने सर्च सेक्सनमा थिच्नुहोस् । 

  • यति गरिसकेपछि मोबाइल बैंकिङ तथा डिजिटल वालेटको क्यूआर कोड स्क्यानरसँगै तपाईँले तस्वीरको आइकन वा एड क्यूआर कोड फ्रम ग्यालरीको विकल्प देख्नु हुनेछ । साथै गुगल लेन्समा साइडको ग्यालरी आइकनमा जानुहोस् । 

  • अब ग्यालरीबाट आफूले स्क्यान गर्न चाहेको क्यूआर कोड छनौट गर्नुहोस् । यस्तोमा गुगल लेन्स लगायत केही एपले क्यूआर कोड रहेको तस्वीर छनौट गर्ने बित्तिकै स्क्यान गरेर आवश्यक प्रक्रिया अगाडि बढाउँछन् भने केही एपमा तपाईँले तस्वीरसँगै त्यसमा क्यूआर कोड रहेको भाग छनौट गरेर अगाडिको बढ्नु पर्ने हुन्छ । 

  • यति गरेसँगै तपाईँ आफ्नो मोबाइलको ग्यालरीमा रहेको क्यूआर कोड स्क्यान गरी भुक्तानीका साथै अन्य जानकारी तथा सेवा प्राप्त गर्न सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १०:४