close

अमेरिका छोडी नेपाल फर्किएकी कर्विका, ५ वर्षमै बनिन् दुई आईटी कम्पनी र एक आईटी कलेजकी मालिक

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १९:१६

अमेरिका छोडी नेपाल फर्किएकी कर्विका, ५ वर्षमै बनिन् दुई आईटी कम्पनी र एक आईटी कलेजकी मालिक

काठमाडौं । रोजगार, उच्च शिक्षा, तालिम लगायत विभिन्न बहाना खोज्दै हजारौं नेपाली युवाहरू विदेशिने क्रम बढेको बढ्यै छ । वैदेशिक रोजगारीमा खाडी जानेहरूभन्दा पनि अमेरिका, युरोप लगायतका देशमा जानेहरू प्रायः उतै बस्ने गर्छन् ।

आफ्नो पढाइ अथवा काम सकेर नेपाल फर्कनेहरूको सङ्ख्या एकदम थोरै छ । 

आखिर परदेश कहिले सम्म ? यही प्रश्नले कर्विका थापा नेपाल फर्किएकी हुन् । अमेरिकाको १४ वर्षको बसाई पछि आईटी उद्यमी थापाले नेपाल आएर अहिले आईटी सोलुसन्स नामक कम्पनी खोलेकी छन् ।

त्यति मात्र होइन, उनी नेपालमै रहेर विभिन्न देशमा सूचना प्रविधि सम्बन्धि सेवा उपलब्ध गराउँछिन् । किम्बुटेक नामक आईटी कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेकी उनी सिमजुङ नामक अर्को फर्म आईटी सोलुसन्सको प्रमुख तथा भीएस इन्टरनेसनल कलेजको निर्देशकको जिम्मेवारी समेत निभाइरहेकी छिन् ।  

भविष्य खोज्दै अमेरिका पुगेकी उनी आफ्ना छोरीहरूलाई अमेरिकी बनाएर हुर्काउने कि नेपाली बनाउने भन्ने दुविधा चिर्दै नेपाल फर्किएकी हुन् । १४ वर्ष अगाडि कर्विका आफ्ना श्रीमानसँग उच्च शिक्षाका लागि अमेरिका गएकी थिइन् ।

यो १४ वर्षको दौरान उनले आफ्नो जीवनमा थुप्रै उतारचढाव भोगिन् । धेरै नेपालीहरूले देख्ने अमेरिकी सपना कर्विकाले बाँचिरहेकै थिइन् ।​कतिपयले अमेरिकामा पढ्नु र काम गर्नु एकदमै रमाइलो विषय हो भन्ने ठान्छन् ।

“तर यो बिल्कुलै फरक अनुभव हो,” उनी भन्छिन्, "विदेशी विद्यार्थीको हैसियतमा हामीले विश्वविद्यालय भित्र मात्र काम गर्न पाउँछौंँ । त्यसैले मेरो पहिलो काम कलेजको क्याफेटेरियामा थियो, जहाँ म बर्गर बनाउने काम गर्थेँ ।" 

बर्गर बनाउने कामदेखि एउटा प्रविधि कम्पनीको नेतृत्व गर्ने तहसम्मको कर्विकाको यात्रा रोचक छ । अध्ययन र कामलाई सँगसँगै लाने क्रममा उनी थुप्रै ठाउँमा काम गर्न पुगिन् । ती मध्ये केही सूचना प्रविधिसँग सम्बन्धित कम्पनी पनि थिए । 

यही दौरान उनले केही बहु राष्ट्रिय कम्पनीमा पनि काम गर्न पुगिन् । अमेरिकामा आरामदायी जीवन बिताइरहेकी कर्विका नयाँ सम्भावनाको खोजीमा पुन: नेपाल फर्कने भइन् ।  

“१४ वर्षको बसाईका क्रममा म अमेरिकी समाजमा भिजिसकेकी थिएँ । बोस्टनको समय राम्रैसँग बितिरहेको थियो,” उनी भन्छिन्, “लामो बसाईसँगै काम र आम्दानीको स्तर पनि राम्रो हुँदै गइरहेको थियो ।"

"तर मलाई त्यहाँको जीवनशैलीले लामो समयसम्म राम्रोसँग आकर्षित गर्न सकेन । विशेषगरी बच्चाहरूको लागि म त्यो ठाउँ छोड्ने विषयमा सोच्न  थालेँ ।” राम्रैसँग चलिरहेको आफ्नो जिन्दगीलाई पुनः सुरु देखि थाल्ने उनको अठोटलाई श्रीमानले पनि साथ दिने भए । 

उनीहरूले आफ्ना छोरीहरूलाई नेपाली संस्कारमा हुर्काउने निर्णय गरे र सन् २०१७ मा आफ्नै देश फर्किए ।

“मेरा छोरीहरूले अमेरिकाको भन्दा पनि यहीँको जीवनशैली सिकुन् भन्ने चाहन्थेँ । प्रवासी कामदार भएको हिसाबले आफ्ना बच्चाहरू अमेरिकनको रुपमा हुर्काउने कि नेपालीको बनाउने भन्ने मसँग दुई ओटा बाटा थिए । जसमा मैले नेपाल रोजेँ,” उनी भन्छिन् ।

कर्विकालाई नेपाल फर्किने निर्णय लिन जति सजिलो थियो, त्यति नै चुनौतिपूर्ण थियो अगाडिको जीवन कसरी चलाउने भन्ने प्रश्न ।  

नेपाल आउने निर्णय त गरिन्, तर यहाँ के गर्ने अनि बच्चाहरूलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो । त्यसपछि कर्विका र उनका श्रीमानले एक वर्षको आफ्नो कमाई बचत गरेर अनि अमेरिकामा भएको आफ्नो घर, गाडी बेचेको पैसा लिएर नेपाल आए ।

नेपालबाट अमेरिका जाँदा शून्यबाट सुरु गरेको यात्रालाई बीचैमा टुङ्ग्याएर उनीहरू फेरि नेपालमा शून्यबाटै नयाँ यात्रा थाल्न तयार भए । 

“नेपाल आएर के गर्ने भन्ने कुनै योजना थिएन । हामीलाई नेपालको बजारको बारेमा पनि थाहा थिएन । यहाँका व्यावसायिक अभ्यासहरू कस्ता छन् भन्ने पनि थाहा थिएन,” उनी भन्छिन् । 

नेपाल फर्किएर एक वर्षसम्म खाली बसेर उनीहरूले स्थानीय बजारको बारेमा अध्ययन गरे । त्यसपछि भने प्रविधि क्षेत्रलाई नै समातेर अगाडि बढ्ने निधोमा उनीहरू पुगे । “मसँग कामको फरकफरक अनुभव भए पनि मेरो श्रीमानले प्रविधिकै क्षेत्रमा काम गर्नु भएको थियो,” उनी भन्छिन् । 

प्रविधिको क्षेत्र अँगाल्नुमा यही एउटा कारण मात्रै थिएन । यसमा उनका लागि अर्को कारण थियो, सूचना प्रविधिको क्षेत्रमा नेपाली महिलाहरूको न्यून सहभागिता । नेपालका कयौँ क्षेत्रहरू यस्ता छन्, जहाँ महिलाहरू नेतृत्व तहमा छैनन् ।

प्रविधिको क्षेत्रमा पनि कर्विकाले खासै महिला नेतृत्व भेटिनन् । यो कुराले पनि उनलाई सूचना प्रविधि क्षेत्र अंगाल्न प्रेरित गर्‍यो । 

नेपालमा विभिन्न क्षेत्रमा महिलाको नेतृत्व हुनुपर्छ भन्ने धारणा बोकेर उनी सूचना प्रविधिको क्षेत्रमा अगाडि बढिन् । 

“प्रोग्रामरदेखि लिएर अन्य प्राविधिक क्षेत्रमा महिलाहरू न्यून सङ्ख्यामा छन् । अझै पनि यो अन्तर कम हुन सकेको छैन । मेरो उद्देश्य भनेको सूचना प्रविधि लगायतका व्यावसायिक क्षेत्रमा नेतृत्व गर्नसक्ने महिलाहरू तयार पार्नु हो,” उनी भन्छिन् । 

कर्विका आफैँ पनि दुई छोरीकी आमा हुन् । छोरीहरूले भविष्य बनाउने क्रममा आमा पुस्ताले भोगेका चुनौतीहरू सामना गर्नु नपरोस् भन्ने उनको चाहना छ ।

“एउटा समतामूलक समाजमा मेरा छोरीहरूले योगदान दिन सकून्,” उनी भन्छिन्, “यसका लागि कसै न कसैले त काम गर्नै पर्छ । समाज परिवर्तन होला र हामी अगाडि बढौँला भनेर पर्खन सकिँदैन । हामी आफैँ समाज परिवर्तनमा अघि बढ्ने हो ।” 

तर कुनै व्यवसाय सुरु गर्न सोचाई मात्र पर्याप्त हुँदैन । अमेरिकाबाट फर्केर नेपालको एक वर्षे बसाइका क्रममा उनी कम्पनी सुरु गर्नुभन्दा अगाडि सञ्चालन, ग्राहक व्यवस्थापन तथा मागको प्रत्याभूत गराउने तयारीमा जुटिन् ।

कम्पनीका लागि माग र लगानी निश्चित भइसकेपछि गुणस्तरिय काम कसरी गर्ने भन्ने विषयमा भने उनलाई आफूमा पहिले देखि नै पूर्ण विश्वास थियो ।

कर्विकाले अमेरिका छँदै काम गरेका विभिन्न कम्पनीमा अफसोरिङ सर्भिस अर्थात एउटा देशमा कम्पनी स्थापना गरेर अन्य देशहरूमा सेवा उपलब्ध गराउने मोडल देखेकी थिइन् । उनीसँग त्यसको अनुभव र काम गर्ने तरिकाको विषयमा धेरथोर ज्ञान थियो ।

यही विषयको अध्ययन गर्दै एउटा राम्रो कम्पनीसँगको सहकार्यको खोजिरहेकी थिइन् । यसैबीच उनका एक जना साथीले यही प्रकृतिको व्यवसाय नेपालबाट गर्ने विषयमा सोचिरहेको कुरा सुनाएपछि ढुङ्गा खोज्दा देउता भेटे जस्तै भयो । 

“यसैलाई मौकाको रूपमा लिएर मैले आफ्ना कुरा पनि राखेँ । मलाई काम गर्ने प्लेटफर्म चाहिरहेको थियो, उसले पनि अन्तर्राष्ट्रिय बजार बुझेको मान्छे खोजिरहेको थियो । यसैबीच हामीले सहकार्य गर्ने निर्णय लियौँ,” उनी भन्छिन् । 

कर्विकाले आफ्नो साथीको कम्पनीमा नेपालको लागि कन्ट्री मेनेजरको रुपमा काम गर्ने र नेपालबाट विभिन्न देशमा सेवा उपलब्ध गराउने किसिमले सम्झौता भयो । 

एक वर्षको तयारी पछि उनले आफ्नै प्रविधि कम्पनी सञ्चालन गर्ने भइन् । कम्पनीको लागि लगानीदेखि सबै कुरा जुटिसकेको थियो । अब बाँकी थियो नाम । उनले आफ्नो कम्पनीको नाम ‘किम्बुटेक’ राख्ने निर्णय गरिन् ।

यो कर्विका आफैँले जुराएको नाम हो । भैरहवामा रहेको आफ्नो गाउँ जाँदा उनले किम्बुका बोट जताततै देखेकी थिइन् । तर त्यसको महत्त्व धेरैले नबुझेको देखेपछि उनले आफ्नो कम्पनीको नाम किम्बुटेक राखिन् ।

कम्पनीको पहिलो वर्ष उनका लागि निकै असहज रह्यो । कुनै पनि उद्यमीका लागि व्यवसाय सुरु गर्दा अन्य कुरासँगै लगानी निकै महत्त्वपूर्ण हुन्छ । अझ पुरुषको तुलनामा महिलाको लागि आफ्नै व्यवसाय सुरु गर्दा लगानी जुटाउन निकै गाह्रो हुने उनको भोगाई छ ।  

नेपालमा स्टार्टअप कम्पनीहरूका लागि लगानी एकदमै समस्याको विषय भएको उनी बताउँछिन् । कुनै पनि उद्यमीले आफ्नो स्टार्टअप व्यावसाय सुरु गर्दा कि त आफ्नो जोगाएको पूँजी प्रयोग गर्नु पर्छ कि बैंकबाट ऋण लिनुपर्छ ।

सबैसँग बचत रकम हुँदैन । ऋणका लागि धितो राख्न सम्पत्ति पनि नहुन सक्छ । यसले गर्दा लगानीका लागि कर्विकाले पनि निकै समस्या भोगिन् ।

“महिला उद्यमीहरूलाई झन् धेरै गाह्रो छ । महिलाहरू लगानीका लागि आफ्नो घर वा माइती कतै पनि माग्न सक्दैनन् । यस्तोमा कम्पनी स्थापना गर्नु एकदमै गाह्रो विषय बन्छ,” उनी भन्छिन् ।

“धितो नभई ऋण पाइदैन । म आफैँ पनि तीन ओटा बैंकमा गएकी थिएँ । सरकारले दिने महिला उद्यमी ऋण पाउनको लागि पनि धितो राख्नुपर्ने बैंकको सर्त थियो । तर मेरो नाममा कुनै जग्गा थिएन ।”

लगानी जुटाउन गाह्रो परेको दिन सम्झिँदै उनी यस्तै कारणले धेरै महिलाहरूको व्यवसाय सुरु नै नभइ सकिने गरेको बताउँछिन् ।

यद्यपि किम्बुटेकमा केएमसी ग्रुपले लगानी गर्ने भयो । अन्ततः कर्विकाले आफ्नो कम्पनी सुरु गरिन् । आज उनको कम्पनीमा २० भन्दा बढीले रोजगारी पाएका छन् । किम्बुटेकले हाल तीन ओटा मोडलमा रहेर काम गरिरहेको छ ।

पहिलो, उनको यो कम्पनीले अन्य देशको कुनै प्रविधि कम्पनीलाई आवश्यक प्राविधिक कर्मचारीहरू उपलब्ध गराउँछ । अर्को काम भनेको ग्राहकको आवश्यकता अनुसार विभिन्न उत्पादनहरू विकास गर्नु हो । त्यस्तै तेस्रो मोडलमा किम्बुटेकले अन्य देशमा रहेका कम्पनीहरूलाई आईटी सोलुसन्स उपलब्ध गराउँछ । 

यसैबीच कर्विकाले सिमजङ नामक अर्को आईटी सोलुसन्स कम्पनी पनि स्थापना गरिन् । नेपालमा सूचना प्रविधिको क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै यो क्षेत्रमा एउटा इकोसिस्टम विकास गर्नुपर्ने उनको बुझाई छ ।

सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादन र खपत गर्नको लागि देशभित्रै इकोसिस्टम बनाउने पर्ने उनी बताउँछिन् । “व्यावसायिक कम्पनीहरू विद्यार्थीसम्म र विद्यार्थीहरू व्यावसायिक कम्पनीहरूसँग सोझो रुपमा जोडिनुपर्छ,” उनी भन्छिन् । 

यसका लागि उनले शैक्षिक क्षेत्रमा पनि हात हालिन् । जहाँ विद्यार्थीहरूलाई बजारका लागि आवश्यक जनशक्तिको रूपमा विकास गरिन्छ ।

हाल कर्विकाको कम्पनीमा काम गर्ने धेरै जसो महिलाहरू छन् । आफ्नो नेतृत्वले यो क्षेत्रमा काम गरेकोमा उनी सन्तुष्ट देखिन्छिन् । 

“धेरै कथाहरू सुनेकी छु, जसका लागि म प्रेरणाको रूपमा रहन सकेकी छु र मलाई यसमा खुशी लाग्छ । भोलि मेरा छोरीहरूले उनीहरूको कम्पनीमा काम गर्न पाउनेछन् भन्ने आशा पनि छ,” उनी भन्छिन् । 

गण्डकी विश्वविद्यालयमा प्रविधि विषयको अध्यापन सुरु गर्ने कार्यमा पनि कर्विकाको उत्तिकै योगदान छ । प्रदेश स्तरको विश्वविद्यालयमा आईटी शिक्षाका लागि हाई-टेक कक्षादेखि शिक्षा व्यवस्थापनमा उनले सहकार्य गरेकी थिइन् ।

उनी आफैंले भीएस इन्टरनेसनल कलेज पनि सञ्चालन गरिरहेकी छिन् । आउँदा दिनहरूमा थप महिला नेतृत्व उत्पादन गर्ने उनको लक्ष्य छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १७:३६