close

कम्पनी प्रोफाइलः कर्मचारीको आइडियाबाट सुरु भएको नेप्स, वार्षिक कारोबार ३ खर्बमाथि

अर्पना आले मगर अर्पना आले मगर

जेठ १७, २०७९ १९:१३

कम्पनी प्रोफाइलः कर्मचारीको आइडियाबाट सुरु भएको नेप्स, वार्षिक कारोबार ३ खर्बमाथि

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । बैंक तथा वित्तीय संस्थाहरूकाे डिजिटल भुक्तानी गतिविधिलाई केन्द्रीकृत रुपमा सहज बनाउने उद्देश्य सहित नेप्स सञ्चालनमा आएको हो ।

हाल नेप्सले देशका ११ वाणिज्य बैंक र चार विकास बैंकको एटीएम र पोस सेवाको केन्द्रीकृत व्यवस्थापनको काम गरिरहेको छ । कम्पनीले एटीएम कार्ड जारी गर्नेदेखि लिएर देशभर दुई हजार बढी एटीएम सञ्चालन गरिरहेको छ ।

नेप्सकाे अवधारणा कुनै बैंकका सीईओ अथवा लगानीकर्ताले ल्याएका हाेइनन् । बैंकमा काम गर्ने चार जना कर्मचारीको सुझावमा यो कम्पनीको सुरुवात भएको थियो ।

जसमध्ये सुरेश महर्जन हाल सिद्धार्थ बैंकमा काम गरिरहेका छन् । अशिष शर्मा म्यानमारमा छन् भने प्रणव दवाडी, जसले सुरुमा नेप्सकै सीईओको रुपमा काम गरेका थिए । अनिश ताम्रकार हाल कुमारी बैंकमा काम गरिरहेका छन् ।

तिनै कर्मचारीहरूको सुझावलाई बैंकका सीईओहरूले अनुमोदन गरेर नेप्स स्थापनाका लागि विभिन्न छलफल चलाए ।

हाल सिटिजन बैंकका अध्यक्ष रहेका राजनसिंह भण्डारीको नेतृत्वमा एउटा कमिटी बन्यो । उक्त कमिटीले यो कम्पनीलाई कसरी अगाडि बढाउने र कस्ताकस्ता प्रविधिहरूको आवश्यकता पर्छ भन्ने लगायतका विषयमा अध्ययन र छलफल थाल्यो । त्यसपछि सन् २०१३ मा यो कम्पनीको सुरुवात भयो ।

तर यसको औपचारिक रूपमा भने सन् २०१५ देखि मात्र सञ्चालनमा आयो । प्रविधि, व्यवसाय र बजारको मागलाई बुझेर कर्मचारीहरूले ल्याएको अवधारणा अनुरूप नेप्स स्थापना भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बा बताउँछन् । 

आबद्ध बैंक तथा वित्तीय संस्था 

हाल नेप्समा ११ वटा वाणिज्य र चार विकास बैंक आबद्ध छन् । 

१. बैंक अफ काठमाण्डू लिमिटेड

२. सिटिजन्स बैंक

३. ग्लोबल आईएमई बैंक लिमिटेड

४. कुमारी बैंक लिमिटेड

५. माछापुच्छ्रे बैंक लिमिटेड

६. नेपाल बंगलादेश बैंक लिमिटेड

७. एनआईसी एसिया बैंक लिमिटेड

८. प्रभु बैंक लिमिटेड

९. प्राइम बैंक लिमिटेड

१०. सिद्धार्थ बैंक लिमिटेड

११. सनराइज बैंक लिमिटेड 

१२. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

१३. ज्योति विकास बैंक लिमिटेड

१४. लुम्बिनी विकास बैंक लिमिटेड

१५. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

कम्पनीको सेवा तथा उत्पादन 

नेप्सको मुख्य काम भनेको बैंकहरूको एटीएम कार्ड सम्बन्धी गतिविधिहरूको व्यवस्थापन गर्नु हो । डिजिटल कारोबारको विकास तथा प्रोत्साहन गर्ने क्रममा नेप्सले अहिले विशेषगरी तीन ओटा क्षेत्रहरूलाई आधार मानेर आफ्ना विभिन्न उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूलाई सेवा दिइरहेको छ ।

पेमेन्ट स्विच व्यवस्थापन, एटीएम सेवा र पोस मसिन व्यवस्थापन कम्पनीका मूल कार्यक्षेत्र हुन् । कम्पनीमा आबद्ध बैंकहरूले उपलब्ध गराएका दुई हजारभन्दा बढी एटीएमको व्यवस्थापन नेप्सले गरिरहेको छ ।

जसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका छन् । यसैगरी कम्पनीले अहिले देशभर करिब २० हजार पोस मसिनमार्फत शपिङ मलहरूलाई सेवा दिइरहेको छ । 

बैंकहरूको भिसा, मास्टर कार्ड र युनियन पेको नेटवर्क अन्तर्गतको पेमेन्ट स्विचको व्यवस्थापन समेत नेप्सले गरिरहेको छ ।कार्ड व्यवसायमा नेप्सको बजार हिस्सा ४५ प्रतिशत रहेको सुब्बाको भनाइ छ ।

यसको अर्थ हो नेप्सले हाल १५ ओटा बैंकका ३५ लाख सक्रिय प्रयोगकर्ताहरूलाई सेवा दिइरहेको छ । यिनै क्षेत्रहरू अन्तर्गत रहेर अहिले नेप्सले निम्नलिखित सेवाहरू उपलब्ध गराइरहेको छ 

नयाँ सेवा

  • ग्रीन पिन 

यो सेवा सुरु भएसँगै बैंकका ग्राहकहरूले पहिलो पटक एटीएम प्रयोग गर्दा खाममा प्राप्त एउटा गोप्य पिन सहितको एटीएम कार्ड लिएर पहिलो कारोबार गर्दा परिवर्तन गरिरहनु पर्ने बाध्यता हटेको छ । नेप्स अन्तर्गत रहेका प्रयोगकर्ताहरूले अब एटीएम प्राप्त गर्दा मोबाइलमै ओटिपी आउँछ र त्यसको सहयोगमा एटीएम मसिनमा गएर आफ्नो पिन परिवर्तन गर्न सक्छन् । 

  • वेब सर्भिस 

वेब सर्भिसेस अन्तर्गत प्रयोगकर्ताले आफ्नै बैंकको मोबाइल एप मार्फत पिन जेनेरेट गर्ने, आफ्नो कार्ड ब्लक गर्ने वा अनब्लक गर्ने लगायतका कामहरू गर्न सक्छन् । जसले गर्दा एटीएम कार्ड हराएको खण्डमा एटीएमलाई ब्लक गर्ने लगायतका कामका लागि बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । 

  • कार्डलेस

नेप्स अन्तर्गत भएका बैंकहरूको एटीएममा गएर एटीएम कार्ड प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने गरी कार्डलेस फिचर पनि गत वर्ष सार्वजनिक भएको छ । यो फिचर प्रयोगकर्ताको मोबाइल बैंकिङ एपमा नै रहेको हुन्छ ।

प्रयोगकर्ताले एटीएममा गएर आफ्नो मोबाइलको कार्डलेस फिचर स्क्यान गरेर सबै प्रक्रिया पूरा गरेर एटीएमबाट कार्ड बिना नै पैसा निकाल्न सक्छन् । 

  • ट्याप एण्ड पे सर्भिस 

यो सेवा अन्तर्गत प्रयोगकर्ताले पोस मसिनमा कार्ड राखेर पिन थिच्दा प्रक्रिया पूरा नभएसम्म भुक्तानीको लागि कुरिरहनु पर्दैन । प्रयोगकर्ताले सोझै पोस मसिनमा कार्ड ट्याप मात्र गरे पुग्छ । आजको दिनमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पाँच हजार रुपैयाँसम्मको भुक्तानीमा ट्याप एण्ड पे सेवा प्रयोग गर्न सकिनेछ । 

  • भिजा डाइरेक्ट

नेपाल सरकारले केही समय अगाडि मात्र भिजा डाइरेक्ट प्रविधि सम्बन्धी घोषणा गरेको हो । यो व्यवस्था अनुसार प्रयोगकर्ताहरूले विद्युतीय कारोबार गर्दा दश प्रतिशत भ्याट रकम उपभोक्तालाई नै फिर्ता दिनुपर्ने हुन्छ ।

हाल यो प्रविधि सिद्धार्थ बैंकले सुरु गरिसकेको र आउने दिनमा अन्य बैंकहरूमा पनि लागू हुनेगरि नेप्सले काम गरिरहेको छ । 

मापदण्ड तथा प्रमाणीकरणः 

सूचना प्रविधिमा आधारित सेवाहरूको महत्त्वपूर्ण पाटो भनेको नै साइबर सुरक्षा हो । सुब्बा नेप्स साइबर सुरक्षाको विषयमा अग्रणी स्थानमा रहेको दाबी गर्छन् ।

नेप्स ‘पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड’ (पीसीआईडीएसएस) बाट प्रमाणित कम्पनी हो । यो पेमेन्ट कम्पनीहरूका लागि आवश्यक एउटा मापदण्ड हो । 

त्यसैगरि विगत डेढ वर्षदेखि कम्पनी अन्तर्राष्ट्रिय मापदण्डको ‘सेक्युरिटी अपरेसन सेन्टर’ (एसओसी) अन्तर्गत रहेर समेत सञ्चालित छ । यसले गर्दा कम्पनीको साइबर सुरक्षामा पनि सुधार भएको सुब्बाको भनाइ छ ।

एसओसी कुनै पनि संस्था वा कम्पनीभित्रको एउटा केन्द्रीकृत प्रणाली हो, जसले व्यक्ति, प्रक्रिया र प्रविधिलाई निरन्तर निगरानी र सुधारमा केन्द्रित हुन्छ । त्यस्तै यस्ता कम्पनीको सुरक्षा जोखिम पत्ता लगाउन, रोक्न, विश्लेषण गर्न र साइबर सुरक्षा घटनाहरूमा प्रतिक्रिया दिने काम समेत यसले गर्दछ ।

त्यसैगरी कम्पनीले साइबर सुरक्षाको लागि नै भनेर छुट्टै आन्तरिक ‘इन्फरमेसन सेक्युरिटी भर्टिकल’को पनि व्यवस्था गरेको छ । यो टोलीमा रहने कर्मचारीहरूले कम्पनीको साइबर सुरक्षाको काम गरिरहेका हुन्छन् ।

उक्त भर्टिकलबाट स्वीकृत नभई सीईओले समेत काम गर्ने अधिकार नराख्ने सुब्बाको भनाइ छ । साथै कम्पनीले बेलायतको यूकेएडको सहयोगमा साइबर सुरक्षाका लागि क्षमता अभिवृद्धि कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

यस अन्तर्गत पहिलो चरणको कार्यक्रम सम्पन्न भएर दोस्रो चरणको कार्यक्रमको लागि तयारी भइरहेको छ । यति धेरै प्रयास गर्दागर्दै पनि अहिले पनि संसारमा कुनै पनि कम्पनीहरू साइबर थ्रेटबाट पूर्ण रुपमा सुरक्षित नभएको सुब्बाको भनाइ छ ।

‘साइबर अपराधमा संलग्न व्यक्तिहरूको मुख्य काम नै साइबर कमजोरीहरू पत्ता लगाउनु हो । जति नै प्रयास गरेपनि उनीहरूले कम्पनीहरूको साइबर सुरक्षा कमजोरी फेला पार्न सक्छन् । त्यसैले आजको दिनमा जति नै ठूला कम्पनीले पनि साइबर सुरक्षामा अब्बल छौँ भनेर भन्न सक्ने स्थिति छैन,’ उनी भन्छन्, ‘नेपालको ठूलो चुनौती पनि त्यही नै हो । त्यसैले हामी पनि अछुतो छैनौँ । तर अन्य कम्पनीहरूको तुलनामा एक कदम अगाडि छौँ ।’

कम्पनीको संरचना 

एउटा कर्पोरेट संरचनाको स्वरुपमा नेप्सले काम गरिरहेको छ । नेप्समा हाल प्रोजेक्ट व्यवस्थापन, अपरेसन, आईटी व्यवस्थापन, वित्तीय तथा अडिट, बिजनेस र सूचना प्रविधि लगायत अन्य प्रशासनिक विभागहरू समेत रहेका छन् । आठ जना कर्मचारीबाट सुरु भएको कम्पनीमा आज ५५ जना कर्मचारी छन् । जसमध्ये ४० प्रतिशत महिला रहेको सुब्बाले बताए । 

कम्पनीको कारोबार 

संस्थापक बैंकहरू सनराइज, माछापुछ्रे, सिद्धार्थ, सिटिजन, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई, एनआईसी एसिया, बैंक अफ काठमाण्डू मिलेैर स्थापना गरेको कम्पनीको सुरुवाती पूँजी १७ करोड रुपैयाँ रहेको थियो । जुन अहिले पनि यथावत नै छ ।

बैंकहरूले सुरु गरेको संस्था भएका कारण बैंकको कारोबारमा जति वृद्धि भयो नेप्सको वृद्धि पनि सोही अनुपातमा हुन्छ । बैंकको कार्डको व्यवस्थापन नेप्सले गरेका कारण नेप्सको मुख्य कारोबार हुने क्षेत्र नै कार्ड व्यवस्थापन हो ।

सीईओ सुब्बाका अनुसार अहिले वार्षिक रुपमा २० देखि २५ प्रतिशतले बैंकहरूको कार्डको कारोबार वृद्धि भइरहेको छ । यो वृद्धिले कम्पनीलाई पनि असर गर्छ ।

हाल वार्षिक रुपमा कम्पनीले करिब तीन खर्ब रुपैयाँको कारोबार व्यवस्थापन गरिरहेको छ भने प्रति दिन भने एक लाखभन्दा बढी पटक कारोबार हुने गरेको छ ।  

कम्पनीको आम्दानी तथा खर्च 

स्विचिङ प्रविधि पेमेन्ट इन्ड्रस्ट्रीकै सबैभन्दा जटिल प्रविधि भएको सीईओ सुब्बाको बुझाइ छ । यद्यपि यो जति जटिल छ, त्यति नै सुरक्षित रहेको र खर्च पनि यसैमा नै धेरै हुने गरेको उनी बताउँछन् ।

यस्तो प्रकारको प्रविधिका लागि आवश्यक उपकरण पनि उत्तिकै महँगो हुने उनको भनाई छ । स्थापना भएदेखि आजसम्म कम्पनीले स्विचिङ प्रविधिको लागि मात्र ११ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ ।

यससँगै सबैभन्दा धेरै खर्च ट्यालेन्ट तथा टेक्नोलोजी र यसको सपोर्टको लागि आवश्यक अन्य कुराहरूमा हुने कम्पनीको भनाइ छ । 

कम्पनीका नीतिगत अपेक्षा

नेपाल राष्ट्र बैंकले डिजिटल पेमेन्ट क्षेत्रका लागि विश्वस्तरीय नीति लागू गरेको छ र विभिन्न नीतिगत सुधार पनि गर्दै आएको छ । कोरोनापछि नेपालमा पनि ह्वात्तै बढेको डिजिटल भुक्तानीको अभ्यासलाई सम्बोधन गर्दै राष्ट्र बैंकले अबको भविष्य डिजिटल भुक्तानी नै भएको कुरा मनन गरेको सुब्बा बताउँछन् । 

यद्यपि अझै पनि धेरै कामहरू गर्न बाँकी रहेको र त्यो सबै राष्ट्र बैंकको हातमा मात्र नभएको उनको भनाइ छ । “सबैभन्दा पहिलो कुरा भनेको डिजिटल भुक्तानीको क्षेत्रलाई सरकारले करमा सहुलियत दिनुपर्छ ।

साथै यो क्षेत्र भनेको डेटासँग खेल्नुपर्ने क्षेत्र भएका कारण सरकारले आफ्नो डेटा व्यवस्थापनको लागि क्लाउडमा जान सक्ने वातावरण बनाइदिनुपर्छ,” उनी भन्छन्, ‘साइबर सुरक्षाको क्षेत्रमा पनि सरकारले केन्द्रिकृत रुपमा सबै प्रकारका कम्पनीहरूलाई समेट्ने गरी व्यवस्थापन गर्नुपर्छ ।”

वित्तीय समावेशितालाई लिएर नै नेप्सको सुरु भएको बताउने सुब्बा ग्रामीण क्षेत्रसम्म डिजिटल भुक्तानीलाई पुर्‍याउनका लागि सरकारले नै अग्रसरता लिनुपर्ने ठान्छन् । “यससँगै प्रविधिसँग सम्बन्धित यो क्षेत्रको वृद्धिको लागि गाउँगाउँमा पनि इन्टरनेटको पहुँच पुग्नुपर्छ,” उनी भन्छन् । 

भविष्यको योजना 

नेप्सले प्रयोगकर्ताको दैनिकी र डिजिटल भुक्तानीलाई थप सहज बनाउन विभिन्न नयाँ उत्पादनहरूमा काम गरिरहेको छ । आजको दिनमा एकजना व्यक्तिले भुक्तानीका लागि दिनभर विभिन्न प्लेटफर्महरू प्रयोग गरिरहेको हुन्छ ।

यस्ता धेरै भुक्तानी प्रणालीहरू सहर केन्द्रित भएका कारण नेप्सले अब ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेर त्यहाँका प्रयोगकर्तालाई समेत समेट्ने योजना बनाएको छ । 

“डिजिटल वित्तीय सेवा भनेको प्रयोगकर्तामैत्री हुनुपर्छ । यो सेवा हुनेखानेहरूका लागि भन्दा पनि हुँदाखानेहरूका लागि बनेको सेवा हो । डिजिटल सेवा भनेको विलासिता भन्दा पनि आवश्यकता हो,” नेप्सका सीईओ सुब्बा भन्छन्, “डिजिटल वित्तीय सेवा वित्तीय गतिविधिमा सबैको पहुँचको लागि बनेको हो ।

जसले ग्रामीण क्षेत्रलाई विशेषगरी समेट्नुपर्छ । त्यो ठाउँसम्म पुग्नको लागि हामीले उत्पादन पनि त्यस्तै प्रकारको ल्याउनुपर्छ । जसलाई ताप्लेजुङको ओलाङचुङगोलादेखि दार्चुलाको टिङ्करसम्मका जनताले प्रयोग गर्न सकुन् ।”

सहर केन्द्रित उत्पादनहरू दीगो हुन नसक्ने भन्दै नेप्सले आउने दिनहरूमा ग्रामीण क्षेत्रका प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न उत्पादनहरू ल्याउने तयारी थालेको छ ।  

भर्चुअल कार्ड 

यो सेवा अन्तर्गत प्रयोगकर्ताले भौतिक एटीएम कार्ड प्रिन्ट गर्न तथा बोक्नुपर्ने बाध्यता हट्नेछ । यसका लागि एटीएम कार्डलाई क्यूआर कोडमा परिवर्तन गर्ने तयारी भइरहेकाे छ । याे प्रणाली अन्तर्गत प्रयोगकर्ताले कार्डकाे साटो क्यूआर स्क्यान गरेरै पैसा निकाल्न सक्नेछन् ।

सुपर एप 

कम्पनीले प्रयोगकर्ताको लागि एउटै एपबाट बैंकिङदेखि आफ्नो दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण कामहरू गर्नसक्ने गरी सुपरएपको काम समेत गरिरहेको छ । जसले सबै एपहरूलाई एउटै एपमा ल्याउनेछ ।

डिजिटल भुक्तानी जीवनशैलीको रूपमा परिणत हुँदै गइरहेको छ । यस्तो अवस्थामा छरिएर रहेको सम्पूर्ण प्रकारका खाने, लगाउने, राइड शेयरिङ लगायतका सबै एपहरूलाई नेप्सको सुपर एपमा आबद्ध गर्ने तयारी भइरहेको सीईओ सुब्बाले बताए । 

पोस मसिनमै ग्रीन पिन 

यो विशेषगरी ग्रामीण क्षेत्रका प्रयोगकर्तालाई लक्षित गरी ल्याउन लागिएको सेवा हो । यस अन्तर्गत प्रयोगकर्ताले एटीएमभन्दा पनि बैंकमा भएको रकम प्रयोग गर्न ग्रीन पिन इनेबल गरिसकेपछि आफ्नो पिन मात्र थिचेको भरमा पोस मसिनबाटै कारोबार सम्पन्न गर्न सक्नेछन् ।

यो प्रडक्ट बैंकमा मात्र नभई सहकारी र लघुवित्त संस्थाहरूमा पनि विस्तार गर्ने नेप्सको योजना छ । यसले गर्दा ग्रामीण क्षेत्रमा वितरण हुने विभिन्न प्रकारका भत्ता उपलब्ध गराउने कार्यमा समेत प्रयोग गर्न सकिने बताइएको छ । 

बाई नाउ, पे लेटर’ (अहिले खरिद गरेर पछि तिर्नुहोस्)

यो सेवा अन्तर्गत बैंकले प्रयोगकर्ताको मोबाइल बैंकिङमार्फत एउटा सीमित रकमसम्मको खर्च गर्न सक्ने सुविधा दिन सक्नेछन् । यो विशेषगरी तलबी कर्मचारीहरूको लागि ल्याउन लागिएको सेवा हो ।

जसअन्तर्गत प्रयोगकर्ताले आफ्नो तलब नआउँदासम्म मोबाइल बैंकिङमार्फत उधारोमा पैसा खर्च गर्न सक्नेछन् । जुन रकम तलब आएपछि बैंक खाताबाट काटिनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४