close

निर्वाचन आयोगको वेबसाइटबाट सबै मतदाताको विवरण निजी वेबसाइटमा*

टेकपाना टेकपाना

मंसिर ४, २०७९ ११:५२

निर्वाचन आयोगको वेबसाइटबाट सबै मतदाताको विवरण निजी वेबसाइटमा*

काठमाडौं । देशभरका सम्पूर्ण मतदाताको व्यक्तिगत जानकारी एक निजी वेबसाइटमा राखेको पाइएको छ । निर्वाचन आयोगले लापरवाही पूर्ण तरिकाले सार्वजनिक गरेका मतदाताका निजी जानकारी दुरुपयोग हुन थालेको हो ।

मेरो भोट नामक एक वेबसाइटले मतदाताको नाम, मतदाता नम्बर, उमेर, लिङ्ग, बुबाआमाको नाम, पति-पत्नीको नाम, प्रदेश, जिल्ला, स्थानीय तह,वडा नम्बर र मतदान केन्द्र सबै जानकारी संकलन गरेर राखेको छ । यति मात्र होइन, सम्बन्धित मतदाता नम्बरको आधारमा मतदान केन्द्रसम्मको म्याप समेत मेरो भोट नामक साइटमा इम्बेड गरिएको छ । 

हामीले निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई मतदाताको विवरण दुरुपयोग भइरहेको विषयमा सोधेका थियौँ । तर उनले निर्वाचन आयोगले वेबसाइटमा सार्वजनिक गरेको र जिल्ला निर्वाचन कार्यालयहरूबाट समेत मतदाताको सूची खरिद गर्न मिल्ने भन्दै निजी वेबसाइटमा राख्नुलाई समेत सामान्य रुपमा लिनुपर्ने बताए ।

तर यो कार्य गोपनीयताको हक विपरीत भएको आईटी विज्ञ राजीव सुब्बाले बताए । “सरकारी निकायहरूलाई नै नागरिकको व्यक्तिगत विवरण गोप्य राख्नुपर्ने कुरा बुझाउनु पर्ने देखियो,” उनले भने, “सरकारले विद्युतीयमा सुशासन आयोग बनाएको छ, यो जिम्मेवारी त्यही निकायले लिनु पर्छ ।” 

नाम सहितको तीन पुस्ते विवरण, वैवाहिक स्थिति, ठेगाना, नागरिकता नम्बर, फोन नम्बर जस्ता विवरण सामाजिक सुरक्षादेखि बैंक, डिजिटल वालेट, सामाजिक सञ्जाल जस्ता विभिन्न सेवामा जोडिएको हुन्छ ।

यस्तोमा व्यक्तिगत गोपनीयता भङ्ग हुने गरी निजी डेटा सार्वजनिक हुँदा साइबर सुरक्षा जोखिम बढ्ने सुब्बाको चिन्ता छ । “आयोगले पनि सबैले देख्ने गरी मतदाताको विवरण अनलाइनमा सार्वजनिक गर्न मिल्दैन,” उनले भने, “यो सरासर मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य हो । अनलाइन तथा इन्टरनेटको अहिलेको समयमा सबैभन्दा चोरी हुने विषय नै डेटा हो ।”

यस्तो डेटा विभिन्न ठाउँमा दुरुप्रयोग हुन सक्ने सुब्बाको भनाई छ । “नेपालमा गोपनीयताको कानून छ र त्यसले नागरिकको हकको प्रत्याभूति गरेको छ,” उनले भने ।

“व्यक्तिगत विवरणमा सम्बन्धित नागरिकको मात्रै पहुँच हुने गरी आवश्यक व्यवस्था मिलाउनु पर्छ । मेरो व्यक्तिगत जानकारी अरुले किन हेर्नुपर्‍यो ? अबको समयमा साइबर तथा डिजिटल हाइजिनको कुरा सबैले बुझ्न जरुरी छ ।” 

*यस अघिको समाचार शीर्षक सच्याइएको छ । यसबाट पुग्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ । -स.

 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १३:०