close

खल्तीका सीईओ भन्छन्ः विश्वकप टिभी प्याकेजको पैसा फिर्ता पाउनुपर्ने भए ढुक्क हुनुहोस्, आउँछ

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १६:२४

खल्तीका सीईओ भन्छन्ः विश्वकप टिभी प्याकेजको पैसा फिर्ता पाउनुपर्ने भए ढुक्क हुनुहोस्, आउँछ

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले रिफन्ड हुन बाँकी ग्राहकलाई पैसा फिर्ता हुनेमा ढुक्क रहन आग्रह गरेका छन् । कम्पनीको फेसबुक पेजमार्फत लाइभ आएका उनले यस्तो आश्वासन दिएका हुन् ।

सर्भरको सीमाले धान्ने भन्दा बढी ट्राफिक आउँदा विश्वकप सुरु हुँदाका केही दिन सिस्टममा समस्या आएको खड्काको भनाइ थियो । “आईओएसको मापदण्ड अनुसार सामान्य भन्दा बढी ट्राफिक आउँदा स्वतः रिजेक्ट हुन्छ,” उनले भने । केही सन्दर्भमा खल्तीमा भुक्तानी भइसक्दा समेत डीटीएच तथा आईपीटिभीमा प्याकेज एक्टिभेसन नभएको अवस्था समेत रहेको खड्काले बताए ।

“हाम्रो मात्र नभएर टेलिभिजन वितरक कम्पनीहरूको सर्भरको क्षमताले पनि उक्त ट्राफिक धान्न नसकेको अवस्था थियो,” उनले भने, “जसले गर्दा भुक्तानी सेवाप्रदायक र टेलिभिजन वितरकहरूको  सम्पूर्ण टिम सपोर्टमा लाग्नुपर्‍यो ।” तर अहिलेसम्म आइपुग्दा आफूहरूले लगभग सबै समस्या समाधान गरिसकेको खल्तीले जनाएको छ ।

“यदि तपाईँ कसैको रिफन्डिङ बाँकी छ भने ढुक्क भएर बस्नुहोस्, त्यो फिर्ता आउँछ । तपाईँको टिभी प्याकेज अझै पनि एक्टिभ भएको छैन भने खल्तीको सपोर्ट, ह्वाट्सएप, भाइबर जस्ता च्यानलहरूबाट पनि आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ,” उनले भने ।

खल्ती नेपालका लागि फुटबल विश्वकप लाइभ प्रसारणको अफिसियल पार्टनरको रूपमा रहेको छ । विश्वकप सुरु हुनु अघिदेखि नै आफूहरूको तयारी चलिरहेको  भए पनि अदालती झमेलाका कारण पर्याप्त तयारी हुन नपाएको उनको स्पष्टोक्ति छ ।

“नेपालमा १२/१३ लाख आईपीटिभी कनेक्सन छन्,” उनले भने, “त्यसको ५० प्रतिशतले मात्रै एकै पटक भुक्तानीको प्रयास गर्दा आफ्ना लागि सामान्यभन्दा हजार गुणा बढी हुन पुग्छ । हाम्रो मात्र होइन, अन्य पेमेन्ट गेटवे र टिभी प्रदायक सबैको हकमा यो समस्या थियो ।”

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १६:२४