close

यसरी गर्न सकिन्छ नेपाली मौलिक प्रविधिको प्रवर्द्धन

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १४:२

यसरी गर्न सकिन्छ नेपाली मौलिक प्रविधिको प्रवर्द्धन

नेपाल कृषिप्रधान देश हो । हामीसँग हिमाल, पहाड र तराई छ । यही भौगोलिक विविधताले गर्दा यहाँ कृषि उत्पादनमा पनि विविधता छ । हिमालमा एक किसिमको, पहाडमा अर्कै किसिमको र तराईमा तीभन्दा पनि भिन्नै किसिमको कृषिबाली पाइन्छ । यसकारण नेपाल कृषिमा पनि विविधता भएको देश हो ।

वन्यजन्तु, बोटबिरुवा, चराचुरुङ्गी, मानिसको जातजाति, भाषाभाषी जस्तै कृषिमा पनि विविधता थियो । तर, विस्तारै आधुनिकीकरणको नाममा हाम्रो मौलिक तथा विविधतायुक्त कृषि प्रणाली हराउँदै जान थाल्यो । हाम्रो देशबाट विशेषगरी तीन चिज हराउँदै जान थालेका छन् । एउटा कृषि । हामीसँग कोदो, जुनेलो, फापर, पुराना धान थिए । पछिल्लाे दशकमा ती सबै हराउन थालेका छन् । हामीसँग भएका कृषिबाली नै भएन भने खाद्य सुरक्षा पनि नहुने भयो ।

त्यस्तै दोस्रो हो, सीप । हामीसँग समुदाय तथा भूगोल विशेष हाम्रा सीपहरू थिए । हामीसँग डोको, डालो, नाङ्गो, ढिकी, जाँतो, ओखल, गुन्द्री, घुम, छत्री आदि बनाउने सीप थियो । त्यस्ता सीपले मानिसहरूलाई स्वरोजगार बनाएको थियो । बिना सीपका मानिसहरू भए भने यी मौलिक कृषि प्रविधि लोप हुन्छन् ।

हामीसँग बाँस, निगालो, काँस, काठ थियो, जसमा हामी आफ्नो सीप प्रयोग गरेर मौलिक कृषि तथा खाद्यान्न उपकरण तयार पार्थ्यौँ । यस्ता सामग्री घरमै बनाउँदा बाहिरबाट केही किन्न पर्दैनथ्यो । केही कुरा खरिद नगर्दा हामी आत्मनिर्भर हुन्थ्यौँ । आधुनिकीकरण हुँदा त्यो पनि सकिँदै गयो ।

तेस्रो भनेको हाम्रो प्रविधि । समय परिवर्तन भयो, प्रविधिमय समाज व्यापक विस्तार हुँदै गइरहेको छ । अहिलेको जमानामा मानिसहरू प्रविधिमैत्री भएका छन् । नयाँ प्रविधिले हाम्रो काम सहज बनाइदिएका छन् । संसार नै नयाँ प्रविधिको पछि परिरहेको छ । यसो हुँदा हामीले हाम्रा मौलिक प्रविधि बिर्सियौँ । पुराना प्रविधि अलिकति ढिलो थिए होलान्, आकर्षक देखिँदैनथे होलान् । तर, त्यसलाई नयाँ प्रविधिसँग जोड्न त सकिन्थ्यो ।

हामीसँग दही जमाउने भाँडो ठेकी हुन्थ्यो । त्यसैमा माेही पार्न सकिन्थ्यो । मदानी प्रयोग गरेर माेही पार्न सकिन्थ्यो । मदानीको ठाउँमा बरु मोटर प्रयोग गर्न सकिन्छ होला । तर, हामी पूर्ण रूपमा नयाँ ग्राइन्डर प्रयोग गर्न थाल्यौँ । एउटै ठेकीलाई दुध, दही राख्न राखेर मही बनाउन सकिन्थ्यो । ग्राइन्डरलाई अरूमा प्रयोग गर्न सकिन्छ त ? सकिँदैन । यसले हाम्रो खर्च बढाइरहेको पनि छ ।

त्यति मात्र नभएर उक्त ठेकी बनाउने काठ हाम्रै वनजङ्गलमा पाइन्थ्यो । ती प्रविधि, हामीसँग भएका सीप तथा स्रोतले हामी आत्मनिर्भर भएका थियौँ । त्यस्तै जाँतोको सन्दर्भमा पनि हामी हाम्रै बगरमा भएको ढुङ्गा प्रयोग गरेर जाँतो बनाउन सक्थ्यौँ । जाँतो बनाउने सीप पनि हामीसँग थियो । त्यही जाँतोबाट हामी पिठो बनाउन सक्थ्यौँ ।

घरघरमा जाँतो हुँदा, त्यो जाँतोबाट पिसिएको पिठो हुन्थ्यो । जाँतोबाट पिस्दा त्यसले हाम्रो खाद्यान्नमा भएका तत्त्वलाई सुरक्षित राख्थ्यो । अहिले मिलमा बेस्सरी तात्तिएका ग्राइन्डरबाट पिठो निकाल्दा त्यसमा भएका पौष्टिक तत्त्व मरिरहेका छन् । यसको प्रभाव हाम्रो स्वास्थ्यलाई परिरहेको छ । यसरी कृषिबाली लोप हुँदै जाँदा यी तीन कुरा कृषिको बिउ, मौलिक प्रविधि बनाउने सीप, र प्रविधि हराउँदै गएका छन् ।

यी तीन ओटा कुरा सकियो भने बाँकी केही पनि हुने भएन । यसले गर्दा देशमा के बाँकी छ र भन्ने अवस्था सिर्जना भइरहेको छ । जसले गर्दा पढेलेखेका जनशक्ति युरोप अमेरिका जान थाले, बल भएका जनशक्ति खाडी मुलुक जाने प्रवृत्ति बढ्यो । मौलिक सीपको हराउँदा रोजगारको अभाव भयो । रोजगार नहुँदा उनीहरू बाहिर जान वाध्य भए ।

हामीले नेपाली प्रविधि, नेपाली सीप, नेपाली कला जोगाएन भने अरू कसले जोगाउने ? विकास त हामीलाई चाहिन्छ । तर, पुरै विनाश गरेर होइन । पुराना प्रविधि, सीप र कलाको संरक्षण गर्दै नयाँ प्रविधि आत्मसात गर्नुपर्छ ।

हाम्रो जस्तो देशलाई विकास चाहिएको छ । हाम्रो जस्तो देशमा अलि धेरै फल्ने बाली पनि चाहिएको छ । हाम्रो जस्तो देशमा पुराना मौलिक प्रविधिलाई उन्नत बनाउनु पनि आवश्यक छ । हाम्रा सीप, हाम्रो ज्ञान, हाम्रा क्षमतालाई संरक्षण गर्दै त्यसैलाई प्रवर्द्धन गर्दै अगाडि बढ्नुपर्छ । त्यसो हुँदा हाम्रो मौलिकता रहन्छ । पहिलेका हाम्रा बाली पौष्टिकयुक्त थिए, माटो पनि जीवित थिए ।

अहिलेका बाली न त पौष्टिकयुक्त छन् न त माटो नै जीवित छ । यो सबै कुराको पछाडि विषादी रहेको छ । अत्याधिक विषादी प्रयोग गर्दा हाम्रो वातावरण त बिग्रिँदै गयो साथै हाम्रो स्वास्थ्यमा पनि गम्भिर असर परेको छ ।

हामीले चिटिक्क परेको खाना खाएका छौँ । तर, त्यो खाना स्वस्थ छ त ? त्यस बखतका हाम्रा खाना देख्दा चिटिक्क परेका थिएनन् होला । तर, स्वस्थ, स्वादिलो तथा पौष्टिकयुक्त थिए । यसले स्वास्थ्यलाई बलियो बनाउँथ्यो । यी तीन कुरा लोप हुँदा हामी दिनानुदिन अस्वस्थ भइरहेका छौँ ।

पुराना प्रविधिले स्वास्थमा पारेका सकारात्मक प्रभाव

हाम्रा पुराना प्रविधि सोझै हाम्रो स्वास्थ्यसँग जोडिएको थिए । उदाहरणका लागि जाडो याममा गुन्द्री वा ठेकी बनाउने चलन थियो । जाडो महिनामा त्यसरी घाममा बसेर कृषि प्रविधि बनाउँदा न्यानो पनि हुने, घामबाट भिटामिन पनि पाइने, सीपको पनि सदुपयोग हुन्थ्यो ।

अहिले नयाँ प्रविधिले गर्दा हामी अल्छि हुँदै गएका छौँ । नयाँ प्रविधि आत्मसात गर्नुपर्छ तर, सँगसँगै हाम्रा पुराना र हाम्रो मौलिकपन बोकेका प्रविधि पनि बचाउनु पर्छ ।

पुरानो प्रविधि जोगाउन नयाँ प्रविधिको भूमिका

हामीले हाम्रा मौलिक प्रविधि जोगाउन नयाँ प्रविधिको साथ लिनुपर्छ । नयाँ प्रविधिसँग अघि बढ्न सकिएन भने हामी आफै पछि पर्छौँ । हामीसँग फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, वेबसाइटजस्ता विकल्प छन् । हाम्रा पुराना प्रविधिको प्रवर्द्धन गर्न नयाँ प्रविधिको साथ लियौँ भने मौलिकपन बोकेका प्रविधि जोगाउन सकिन्छ ।

नयाँ प्रविधि भन्नासाथ इन्टनेट र सामाजिक सञ्जालभन्दा पनि उन्नत प्रविधिको प्रयोग गर्न सक्छौँ । आफ्नो क्षेत्रमा भएका मौलिक तथा रैथाने प्रविधिको प्रवर्द्धन गर्न नयाँ प्रविधि प्रयोग गरौँ । 

(ढकाल रैथाने एग्री प्रडक्ट्स नेपाल प्रालिका अध्यक्ष हुन् ।)

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १७:६