close

टाइम ट्राभल अर्थात् बितेको अतीत र आउने भविष्यको यात्रा गर्न कति सम्भव ?

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १२:११

टाइम ट्राभल अर्थात् बितेको अतीत र आउने भविष्यको यात्रा गर्न कति सम्भव ?

काठमाडौं । २८ जुन २००९ का दिन बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा पार्टी सुरु हुँदै थियो । विश्वविद्यालयको एक हिस्सामा बेलुनहरू लगाइएका थिए । ग्लासमा स्याम्पेन भरिँदै थियो । तर पाहुनाहरू कोही आएका थिएनन् । यो पार्टीका आयोजक फिजिक्सका प्रोफेसर स्टिफन हकिङ पाहुनाहरूको पर्खाइमा थिए ।

पछाडि लगाइएको ब्यानरले उक्त पार्टीमा कसैको कुनै रुचि किन छैन भन्नेतर्फ इसारा गरिरहेको थियो । ब्यानरमा ठूला अक्षरमा लेखिएको थियो, "वेलकम टाइम ट्राभलर्स" । अर्थात् समय भित्रको यात्रामा (अतीत तथा भविष्यको यात्रा) निस्किनेहरूलाई स्वागत छ ।

हकिङले आफ्नो योजनाको विषयमा कसैलाई कुनै जानकारी दिएका थिएनन् । उनले निमन्त्रणमा पार्टी आयोजना गरिएको पछिल्लो दिन पठाए । उनको सन्देश थियो, "यदि कोही टाइम ट्राभलर अर्थात् समयको यात्रा गर्ने व्यक्ति छ भने अतीत अर्थात् बितेको हिजोमा आउनु होला ।" 

पार्टीमा कोही नआउनुले के वास्तविकतामा समयको यात्रा गर्न असम्भव छ भन्ने कुरा बताउँछ ? अथवा टाइम ट्राभलरसँग यो पार्टीमा आउनु भन्दा महत्त्वपूर्ण अर्कै काम थियो ? आज हामी यही विषयको चर्चा गर्दै छौँ । 

टाइम ट्राभलको इतिहास

तपाईँ सोच्नु हुन्छ होला टाइम ट्राभल प्राचिन समयको सोच होला । यसका युनानी मिथकहरू होलान् । अथवा सेक्सपियरका नाटकमा समयभित्र गरिएको यात्राको दाबी होला । तर त्यसो केही पनि होइन । यसलाई एचजी वेल्सले सन् १९९५ मा आफ्नो पहिलो उपन्यास 'द टाइम मसिन'मा उल्लेख गरेका थिए ।

लेखक जेम्स ग्लिकले विज्ञान र प्रविधिमा थुप्रै पुस्तक लेखेका छन् । टाइम ट्राभलको विचार र योसँग सम्बन्धित इतिहासको विषयलाई लिएर उनी यस‍री हैरान भए कि उनले 'टाइम ट्राभल एण्ड हिस्ट्री' नामक एक पुस्तक नै लेखिदिए । टाइम मसिन नामक उपन्यास छापियो र निकै धेरै बिक्री भयो । यो सोचमा अन्य व्यक्तिहरू पनि हराउन थाले ।

'टाइम मसिन' इच्छा आकांक्षालाई पूरा गर्ने, ऐतिहासिक नायकहरूसँग भेट्ने र गल्तीहरूलाई सच्याउने जस्ता कल्पनाको हिस्सा बन्यो । हामीसामु प्रश्न यही छ कि के किताब तथा फिल्महरूमा जसरी बताइएको हुन्छ, त्यसैै गरी समयभित्रको यात्रा अर्थात् टाइम ट्राभल सम्भव छ ?

जेम्स ग्लिक भन्छन्, "चाहे तपाईँ सयकडौँ साइन्स फिक्सन अर्थात् विज्ञानका काल्पनिक कथा एक ठाउँमा जोड्नुहोस्, म ग्यारेन्टी दिन्छु कि त्यसले यो एक फेन्टासी मात्र हो भन्ने कुरा बताउनेछ । यदि तपाईँ यो विचारमा काम गरेका सय जनासँग के यो साच्चिकै यो सम्भव छ त भनेर सोध्नु भयो भने उनीहरू मध्ये धेरैजसोले यसको सम्भावनालाई नकार्ने छैनन् ।” 

समयको गति

डा. नताशा हर्ले वाकरले बाल्यकालमा जे पढिन्, त्यसैले उनको करियरको दिशा तय गर्‍यो । उनी अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयकी रेडियो एस्ट्रोनोमल यानकी खगोलविद् हुन् । उनी भन्छिन्, "हाम्रो ब्रह्माण्ड कुनै पनि साइन्स फिक्सनको तुलनामा निकै अनौठो छ, अद्भूत ।"

यो कुरा स्पष्ट छ कि घटनाहरू समयको खास क्रममा हुने गर्दछन् । समयको आफ्नै आयाम छ भन्ने कुरामा वैज्ञानिकहरूको राय बन्दै गयो । जसलाई मापन गर्‍यौँ भने हामी थ्रीडीमा नभई फोरडीमा छौँ भन्न सक्छौँ । तर यो सोचको आफ्नै कठिनाइ छन् । र यसको कारण हो, प्रकाश यानकी लाइट । 

हामी एक ठाउँमा उभिनुको साटो प्रकाशसँगै दौडिरहेका छौँ भने प्रकाश निकै तीव्र गतिमा अगाडि बढ्नेछ भन्ने कुरा ठानिरहेका हुन्छौँ । तर त्यसो होइन । मानिसहरूले कयौँ दशकदेखि यो विषयमा खोज गरिरहेका छन् र उनीहरूले यसमा कुनै परिवर्तन भएको देखेका छैनन् । लाग्छ कि ब्रह्माण्डमा अचम्म लाग्दो निरन्तरता छ र त्यो समयको नभई रफ्तार अर्थात् गतिको हो ।"

तपाईँले स्कुलमा सायद एउटा समीकरण पढ्नु भएको थियो होला । चाल=दूरी/समय । यो साधारण समीकरणले समयले कसरी काम गर्छ भन्ने कुरा बताइदिन्छ । किन कि प्रकाशको चाल सधैँ एउटै हुने गर्दछ । चाहे तपाईँले हातमा टर्च बोकेर दौडिरहनु भएकै किन नहोस् ।

मानौँ तपाईँ एउटा घडी समातेर स्थिर बसिरहनु भएको छ । तपाईँको साथी छेउमा बसेको छ । "त्यसपछि उनीहरू हिँड्न थाल्छन् र छिटोछिटो जान्छन् । गति बढाउँदै जाँदा उनीहरू प्रकाशको गति समान पुगिरहेका छन् भने तपाईँले उनीहरूको घडीमा केही अनौठो भएको देख्नु हुन्छ । उनीहरूको घडीको रफ्तार सुस्त हुन लाग्छ," उनी भन्छिन् ।

तपाईँको साथी जति तीव्र गतिमा अगाडि बढ्ने छन्, उनको घडी त्यतिकै सुस्त गतिमा चलिरहेको हुनेछ । जब सम्म कि उनले प्रकाशको गति हासिल गर्दैनन् । तपाईँलाई थाहा हुनु पर्छ फोटोन प्रकाशको कण हो र त्यो प्रकाशको गतिभन्दा अगाडि जान सक्छ । नताशा भन्छिन्, "घडी एकदमै सुस्त हुनेछ ।

फोटोनका लागि यस्तो केवल एक पटकका लागि हुने गर्छ । फोटोनहरू ताराहरूको सतहभन्दा भिन्न हुने गर्दछन् र आकाशबाट यात्रा गर्दै धर्तीसम्म पुग्दछन् । यो कुराले दिमागलाई घुमाई दिन्छ ।" नताशा भन्छिन् कि केवल चालले मात्रै समयको मापन गर्दैन ।  यससँगै 'मास' हुन्छ, अर्थात् पिण्ड वा द्रव्य मान । ग्रह वा ब्ल्याक होल जस्ता ठूला पिण्ड यो ‘स्पेस टाइम’लाई बदलिदिन्छन् । 

उदाहरणका लागि ट्राम्पोलिनमा (बीचमा उफ्रिएर खेल्न मिल्ने गरी बनाइएको गोलो टेबल जस्तो वस्तु तथा खेलौना) तौल राखे जस्तै । "हामी धर्तीको वरिपरि रहेका स्याटलाइटलाई सञ्चारका लागि उपयोग गर्छौँ । ती स्याटलाइट १४ हजार किलोमिटर प्रति घण्टाको गतिमा घुमिरहेका हुन्छन् ।

जीपीएस स्याटलाइटलाई नै हेरौँ । ती स्याटलाइटले स्मार्टफोन मार्फत तपाईँ धर्तीमा कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन सक्छन् ।" हामीले यकिन गर्नु पर्ने हुन्छ कि उक्त निश्चित समयमा उक्त स्याटलाइट कहाँ छ । जब त्यसको घडीले फरक तरिकाले काम गरिरहेको छ भने यो काम गर्न सहज हुने छैन ।

"रफ्तारको असरले गर्दा हरेक दिन सात माइक्रो सेकेन्ड र गुरुत्वाकर्षणको प्रभाव हरेक दिन ४५ माइक्रो सेकेन्डको अन्तर लाग्नेछ । यस्तोमा हरेक दुई मिनेटमा जीपीएस स्याटलाइटको समय मिलाउनु पर्ने हुन्छ । अन्यथा सारा नेभिगेसन सिस्टम ठप्प हुनेछ ।"

हामी भन्न सक्छौँ कि समय समयको चाल सबैका लागि एकै प्रकारको हुँदैन । आफ्नो आसपासको दुनियाँमा हामी यसलाई देख्न सक्छौँ । के हामी यसको फाइदा उठाएर भविष्यमा जान सक्छौँ ?  
 

 फास्ट फरवार्डः 

प्रोफेसर केटी म्याकले कम उमेरमै आफ्ना लागि महत्वाकाङ्क्षी लक्ष्य तय गरिन् । उनी अमेरिकाको नर्थ क्यारेलाइना विश्वविद्यालयमा एस्ट्रो फिजिसिस्ट छिन् । "मैले टाइम मसिन बनाउने कोसिस गरेँ भन्ने मलाई लाग्दैन । मैले टेलिकेनेसिस बनाउने प्रयास गरेँ । किन कि चिजवस्तुलाई आफ्नो सोच अनुसार चलाउन सके राम्रो हुन्छ भन्ने लाग्यो । तर कयौँ प्रयास गर्दा पनि म सफल हुन सकिनँ ।"

जीपीएस स्याटलाइटका लागि समयको चाल अलग छ भने के मानिसहरूका लागि पनि यसको चाल अलग हुन सक्छ ? उदाहरणका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने अन्तरिक्ष यात्री धर्तीबाट निकै टाढा हुने गर्दछन् । उनीहरू निकै तिव्र गतिमा हाम्रो परिक्रमा गरिरहेका हुन्छन् । के उनीहरूको उमेर बढ्ने विषयमा यसको कुनै असर हुन्छ त ?

"हो, यदि सैद्धान्तिक रूपमा भन्ने हो भने यसको असर हुन्छ । उनीहरूको समयको चाल हाम्रो यहाँको तीव्रताको तुलनामा सुस्त हुने गर्छ । यदि तपाईँ अन्तरिक्ष केन्द्रमा एक वर्षका लागि बसिरहनु भएको छ भने त्यहाँ धर्तीको तुलनामा केही सेकेन्डको मात्र फरक हुनेछ," उनी भन्छिन् । भविष्यमा कयौँ वर्ष अघिको यात्रा गर्ने हाम्रो लक्ष्य छ । यो सेकेन्डको सानो हिस्साको कुरा होइन । यो कसरी सम्भव हुन सक्छ ?

"हाललाई हामीसँग जो रकेट उपलब्ध छन्, तिनीहरूलाई हेरेर भन्ने हो भने पनि तपाईँको र धर्तीबीचको समयमा धेरै त्यति धेरै अन्तर हुने देखिँदैन । सूर्य बाहेक आफ्नो नजिकको तारासम्म पुग्ने कोसिस गर्नु हुन्छ भने त्यसका लागि अहिलेको विद्यमान प्रविधिको सहयोगमा हामीलाई एक वर्ष लाग्नेछ ।"

तपाईँ फर्किएर आएर आफ्ना साथीलाई उनीहरूको तुलनामा आफ्नो उमेर कम छ भन्ने देखाउने विषय निकै लामो समयको कुरा हो । यदि हामीले अन्तरिक्ष यात्राका लागि सुपर फास्ट यन्त्र बनाउन सक्यौँ भने पनि यो यात्रा निकै जोखिमपूर्ण हुनेछ । यदि तपाईँ अन्तरिक्ष यान टुटेर खस्ने अवस्थामा तपाईँ एक लाख वर्षको यस्तो यात्रा सुरु गर्न चाहनुहुन्न भने एउटा अर्को बाटो पनि छ । जसमार्फत तपाईँ समयभन्दा अगाडि अर्थात् भविष्यमा जान सक्नु हुन्छ ।

"एक अर्को विकल्प यो हुन सक्छ कि तपाईँ कुनै एउटा यस्तो पिण्डको नजिक रहनु होस्, जसको गुरुत्व प्रभाव एकदमै धेरै होस् । तपाईँ यदि कुनै ब्ल्याक होलको नजिक गएर केही वर्ष रोकिनु हुन्छ भने तपाईँको समय धर्तीमा रहेका मानिसहरूको तुलनामा सुस्त चल्नेछ र तपाईँ भविष्यमा जान सक्नु हुनेछ । तर त्यसमा पनि जोखिम छ । यदि तपाईँ ब्ल्याक होल नजिक जानु भयो भने अवस्था खतरनाक हुन सक्छ," केटी भन्छिन् ।

चाहे यो जतिसुकै खतरनाक होस्, उनको भनाई छ कि यही बाटो हो, जसमार्फत तपाईँ समयभित्रको यात्रा गर्न सक्नुहुन्छ । "यदि कोही समयको चाल बदल्न चाहन्छ भने उसलाई तीव्र गतिमा कुद्नुपर्ने हुन्छ अथवा गुरुत्व क्षेत्रको नजिक रहनु पर्ने हुन्छ । यति गर्दा समेत तपाईँ केवल भविष्यको यात्रा मात्रै गर्न सक्नुहुन्छ । तर विगत वा अतीतमा जाने कुनै बाटो पत्ता लागेको छैन । हामीलाई लाग्छ कि कहिँ न कहिँ यो कुरा असम्भव नै छ ।" 

शर्टकट

डा ल्युक बुचर एडिनबरा विश्वविद्यालयका भौतिकशास्त्री हुन् । उनी के हामी अतीतको यात्रा गर्न सक्छौँ भन्ने विषयमा अनुसन्धान गर्छन् । ल्युक जस्ता भौतिकशास्त्रीहरू यही जानकारी जुटाउन लागिपरेका छन् कि यदि 'स्पेस टाइम' (अन्तरिक्ष समय) परिवर्तन भइहाल्यो भने के यसो गर्न सम्भव होला ? यसबाट मामिला केही सहज हुनेछ ।

यसका लागि भौतिक शास्त्री गणितका समीकरण लेख्छन् र आफ्नो सिद्धान्तको परीक्षण गर्दछन् । ल्युकले यसका लागि वार्म होलको समीकरण बनाए । यसको पहिलो कल्पना सन् १९३० को दशकमा अल्बर्ट आइन्सटाइन र न्याथन रोजनले गरेका थिए । 

"यो मूल रूपमा स्पेस टाइमको एउटा ट्युब हो, जसले दुई सिरालाई जोड्ने काम गर्छ । जो दुई सिरालाई यसले जोड्छ, ती निकै दूर हुन सक्छन् । ती अलग समयका पनि हुन सक्छन् । भन्ने हो भने यो एक समय र एक स्थानबाट अर्को स्थान पुग्ने एक शर्टकट हो ।" 

स्टार ट्रेक जस्ता साइन्स फिक्सनमा वार्म होलको दाबी कयौँ पटक गरिएको छ । फेरि पनि यसको अस्तित्व रहेको विषयमा कुनै पनि प्रमाण भने फेला पर्दैनन् । यसको कारण पनि छ ।  डा ल्युक बुचर भन्छन्, "एक पटक जब तपाईँ समीकरण लेख्नु हुन्छ र त्यसलाई हल गर्ने प्रयास गर्नु हुन्छ भने एक प्रमुख रोकावट आउँछ कि वार्म होल होस् र त्यो खुला समेत रहोस् ।

यो स्पेस टाइमलाई नेगेटिभ इनर्जीको आवश्यकता हुन्छ । सहज शब्दमा भन्ने हो भने भौतिकशास्त्रीहरूका लागि नेगेटिभ इनर्जीको अर्थ त्यस्तो कमसे कम ऊर्जा, जसको तपाईँ कल्पना गर्न सक्नुहुन्छ ।" यदि ल्युले यो सबै गर्न सके भने वार्म होल के होला ? त्यसपछि यसले प्रकाशको गति हासिल गर्नेछ र जसलाई पार गर्न मान्छेको बसमा हुने छैन ।

यसमार्फत सेक्सपियरसँग भेट्ने मेरो सपना पूरा हुने छैन । त्यसो हो भने हामी कहाँ पुगौँला ? "यदि हामी अतीतको यात्राको कुरा गर्छौँ भने अथवा भनौँ तपाईँले एक घण्टा पछाडि गएर आफूलाई हेर्न चाहनु भयो भने त्यो कुरा भौतिक शास्त्रमा सम्भव छैन । तर गणितीय हिसाबले यसलाई पूर्ण रूपमा खारेज गर्न पनि सकिँदैन । अर्थात् यो सम्भावना भएको प्रश्न हो । इतिहासले हामीलाई सिकाएको छ कि यस्ता आधारभूत सवालबाट धेरै किसिमका उपलब्धि हासिल हुन सक्छन् । २० औँ शताब्दीको सुरुवातमा हामी क्वान्टम मेकानिक्सको विचारको आसपासमा घुमिरहेका थियौँ । त्यतिखेर त्यो रोचक सवाल थियो, जब कि त्यसको फाइदाको विषयमा कुनै जानकारी नै थिएन । यसमा ट्रान्जिस्टर र कम्प्युटरको आविष्कार सामेल छन्," ल्युक भन्छन् ।

सवाल अझै उही छ । के टाइम ट्राभल अर्थात् समयभित्रको यात्रा सम्भव छ ? अथवा छैन ? वास्तवमा त्यस्ता जादुगरी मसिन छैनन् ता कि हामी तिनको बटन दबाऔँ र त्यसले हामीलाई समयभन्दा पार लैजाउन् । तर भौतिक शास्त्र भन्छ कि हामी जहाँ छौँ र जुन प्रकारले बढिरहेका छौँ, समय त्यसैको सापेक्ष अगाडि बढ्छ । यदि हामी जोखिम उठाउन तयार छौँ भने कहानीलाई अगाडि बढाउन सक्छौँ ।

तर जुन समय बितिसकेको छ, त्यसमा फर्किएर जाने कुरा निकै कठिन अथवा असम्भव नै छ । के कहिल्यै यो सम्भव होला, त्यो हामीलाई थाहा छैन । तर हामीले टाइम ट्राभलको विषयमा जुन जानकारी जुटाएका छौँ, त्यसले ब्रह्माण्ड प्रतिको हाम्रो बुझाईलाई उन्नत बनाउन सहयोग गर्न सक्छन् । प्रोफेसर स्टिफन हकिङ अब यो दुनियाँमा छैनन् । तर यदि कोही त्यस्ता टाइम ट्राभलर छन् भने सन् २००९ मा प्रोफेसर हकिङ स्याम्पिनका साथ पर्खिरहेका छन् ।  

बीबीसीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १२:१२