close

क्यूएलईडी वा ओएलईडी, तपाईँ लागि कुन टिभी डिस्प्ले प्रविधि राम्रो ?

टेकपाना टेकपाना

साउन १५, २०८० १२:४५

क्यूएलईडी वा ओएलईडी, तपाईँ लागि कुन टिभी डिस्प्ले प्रविधि राम्रो ?

काठमाडौं । क्यूएलईडी (QLED) र ओएलईडी (OLED) बारे तपाईँले पक्कै सुन्नु भएको छ होला । टिभीका विभिन्न डिस्प्ले प्रविधिमध्ये अहिले यी दुई प्रविधिकाे बढी चर्चा छ । आज हामी तपाईँका लागि कुन डिस्प्ले प्रविधि आवश्यक छ भन्ने विषयमा चर्चा गर्दैछौं ।

के हो क्यूएलईडी ?

क्यूएलईडीको अर्थ हुन्छ, क्वान्टम-डट लाइट इमिटिङ डायोड (Quantum-dot Light Emitting Diode) । क्यूएलईडी सामान्य एलईडी डिस्प्ले जस्तै हो । तर, यसमा एलईडीभन्दा केही भिन्न कुरा राखिएको हुन्छ । त्यो हाे क्वान्टम डट्स । यो त्यस्तो कण हो, जसले ब्राइटनेस र कलरलाई बढावा दिन्छ ।

सामान्य अर्थमा भन्ने हो भने क्यूएलईडी प्रविधिले उत्कृष्ट कलरको अनुभव दिन्छ ।

क्यूएलईडी सन् २०१३ मा पहिलाे पटक सोनीले परिचित गराएको थियो । हाल सामसङले सोनी, भिजिओ, हाइसेन्स, टीसीएल जस्ता निर्माता कम्पनीसँग सहकार्य गरेर क्यूएलईडी टिभी बिक्री गर्दै आएको छ ।

क्वान्टम डट्स भनेको यस्ता साना कणहरू हुन्, जसमा प्रकाश पर्‍यो भने त्यो कण चम्किन्छ । यी कण भाइरसभन्दा पनि साना हुन्छन् । सँगसँगै क्यूएलईडी डिस्प्ले एलईडी डिस्प्लेको तुलनामा बढी टिकाउ पनि हुन्छन् ।

के हो ओएलईडी ?

ओएलईडी अर्थात्, अर्गानिक लाइट इमिटिङ डायोड (Organic Light-Emitting Diode) । याे यस्तो डिस्प्ले प्रविधि हो, जसमा अर्गानिक कम्पाउन्ड प्रयोग भएको हुन्छ । यस्ताे कम्पाउन्डमा विद्युत दिइयो भने त्यसले प्रकाश उत्सर्जन गर्न गर्छ ।

परम्परागत एलसीडी (लिक्विड क्रिस्टल डिस्प्ले) प्रविधिमा पिक्सेलमा उज्यालो ल्याउनका लागि ब्याकलाइट आवश्यक पर्छ । तर ओएईडी पिक्सेल स्वतः चम्किन्छन् ।

यसको अर्थ ओएलईडीमा हरेक पिक्सेलले आफ्नो लाइट आफैं उत्सर्जन गर्छन् । जसले गर्दा यस डिस्प्ले कन्ट्रायास्ट र ब्ल्याक लेभल उत्कृष्ट हुन्छ । एलजीका अनुसार दैनिक ६ घण्टा ओएलईडी टिभी हेर्ने हो भने उक्त टिभी २२ वर्षसम्म टिक्छ ।

क्यूएलईडी र ओएलईडीमा कुन राम्रो ?

ओएलईडी र क्यूएलईडीबीच तुलना गर्ने हो भने ओएलईडी उत्कृष्ट छ । यसमा भएको उच्च कन्ट्रास्ट रेसियोले ओएलईडीलाई राम्राे बनाएको हाे । त्यसबाहेक पनि ओएलईडी डिस्प्लेले कम पावर खपत गर्छ । यसमा राम्रो भिविङ एङ्गल (Viewing Angle) हुन्छ ।

तुलनात्मक हिसाबले ओएलईडी डिस्प्ले अन्य डिस्प्लेको तुलनामा टिकाउ हुन्छ ।

क्यूएलईडीलाई ओएलईडीसँग तुलना गर्ने हो भने केही पक्षमा क्यूएलईडी पनि अगाडि देखिन्छ । क्यूएलईडी डिस्प्लेमा ब्राइटनेस बढी हुन्छ । यसमा स्क्रिनको साइज ठूलो हुन्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा यसको मूल्य कम हुन्छ । तर, गुणस्तर र अन्य विशेषताको सवालमा ओएलईडी अगाडि छ ।

कसले प्रयोग गर्ने क्यूएलईडी ?

धेरै रकम खर्च नगरेर आफूलाई उपयुक्त टिभी खरिद गर्न चाहनेहरूका लागि क्यूएलईडी राम्रो विकल्प हो ।

तपाईंले जति रकम खर्च गरेर क्यूएलईडी टिभी खरिद गर्नुहुन्छ, त्यसमा तपाईंलाई पश्चताप भने हुँदैन । सामसङले वर्षौंदेखि क्यूएलईडी डिस्पलेलाई उत्कृष्ट बनाउँदै आएको छ ।

कसले प्रयोग गर्ने ओएलईडी ?

बजेटमा सम्झाैता गर्नुहुन्न भने ओएलईडी तपाईंका लागि उत्कृष्ट हुन्छ । कम विद्युत खपत गर्ने, आकर्षक भ्युइङ एङ्गल भएको र उत्कृष्ट कन्ट्रास्ट भएकाले याे अन्य डिस्प्लेको तुलनामा धेरै माथि छ ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८० १३:१४