close

नेपालमै एसेम्बल गरिएको बिजुली बाइक, मूल्य ६ लाख १५ हजार

टेकपाना टेकपाना

मंसिर २९, २०७९ १३:३९

काठमाडौं । ग्रिन बाहन प्राइभेट लिमिटेडले नेपालमै एसेम्बल गरिएको बिजुली बाइक 'सलः १००' का लागि बुकिङ खुलाएको छ । नेवारी भाषा सलः अर्थात् घोडाको नामबाट राखिएको यो स्पोर्टस बाइकको मूल्य छ लाख १५ हजार रूपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा २५ थान बाइक उत्पादन भएकोमा १५ थान बुकिङ भइसकेको छ । त्यस्तै वैशाखदेखि थप ७५ थान बाइक उत्पादन गर्ने कम्पनीकाे योजना छ ।

स्पोर्टी डिजाइनमा तयार पारिएकाे बाइकको ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । राइडरलाई खाल्डाखुल्डीमा बाइक चलाउँदा पनि अप्ठ्यारो नहुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले अधिकतम १२० किलोमिटरसम्मको रेन्ज दिन्छ, जसका लागि करिब ५ घण्टामा फुल चार्ज गर्नुपर्ने हुन्छ ।

यसमा ७ किलोवाट आवरको लिथियम पोलिबर ब्याट्री जडान गरिएको छ । त्यस्तै यसको मोटरकाे अधिकतम क्षमता ८ किलोवाट रहेको छ । कम्पनीले अधिकतम १२० किलोमिटर प्रति घण्टाको गतिमा बाइक गुडाउन सकिने जानकारी दिएकाे छ ।

कम्पनीले ब्याट्री र मोटर दुवैमा २/२ वर्षको वारेन्टी दिएको छ । अरू इलेक्ट्रिक कन्ट्रोलरहरूमा पनि थप एक वर्षको वारेन्टी पाउन सकिन्छ । बिजुली बाइक र विशेषगरी स्पोर्टस बाइक मन पराउनेहरूका लागि यो बाइक खरिद गर्न सकिन्छ ।  

यसमा चार ओटा ड्राइभ मोड र एउटा रिभर्स मोड गरी कुल पाँच ओटा मोड रहेका छन् ।

बाइक बुक गर्नका लागि कीर्तिपुर भत्क्यापाटीस्थित कम्पनीको शोरूम वा ईमेल ([email protected]) वा फोन नम्बर (9810289031) मा सम्पर्क गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ १३:४१