close

इन्टरनेट ग्राहकका लागि खल्लो दशैं !

टेकपाना टेकपाना

असोज २६, २०७७ १४:५०

इन्टरनेट ग्राहकका लागि खल्लो दशैं !

काठमाडौं । आफन्तसँग खुसी साट्ने, समय बिताउने र नयाँ-नयाँ ठाउँमा घुम्न जाने अवसरको रुपमा दशैंलाई लिइन्छ । साथै यो चाड नयाँ सामान जोड्ने सुनौलो समय पनि हो ।

कम्पनीहरूले ल्याउने विभिन्न अफरका कारण मानिसहरु यो समयमा सामान जोड्न आकर्षित हुन्छन् । यही कारण अफरको सामान वा सेवा किन्न चाहनेहरूको संख्या अन्य मौसमभन्दा ठूलो हुने गर्छ ।

याे भिडमा नयाँ इन्टरनेट जाेड्ने र दसै तिहारमा स्किम सहितकाे सेवा उपभाेग गर्ने चाहना आम उपभोक्ताको हुने गर्छ । काेभिड-१९ पछि सबैभन्दा बढी उपभाेग नै इन्टरनेट सेवाकाे भएका कारण दशैंकाे बेला ठूलाे संख्यामा इन्टरनेटकाे लाइन थपिने अपेक्षा गरिएकाे थियाे ।

अघिल्ला वर्षहरुमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना पुराना तथा नयाँ जडानमा निकै आकर्षण योजना ल्याएका थिए ।

गत वर्ष देशकै ठूलाे इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले इन्टरनेट तथा सीजीको ३२ इन्चको टिभीको योजना ल्याएको थियो । दाेस्राे ठूलाे प्रदायक सुबिसुले ९९ रुपैयाँमै इन्टरनेट र क्लियर टिभीको योजना ल्याएको थियो । भायनेटले पनि ग्राहकलाई टेभी सेट सहितको इन्टरनेट प्याकेज ल्याएको थियो ।

प्राय: सबै प्रदायकले आकर्षक स्किम पस्कँदै नयाँ ग्राहक थप्ने योजना ल्याएका थिए । तर, यो वर्ष अहिलेसम्म कुनै पनि सेवा प्रदायकले कुनै योजना सार्वजनिक गरेका छैनन् ।

भायनेटले ग्राहकको लागि टेलिभिजन सेट सहितको दशैंतिहार योजना सार्वजनिक गरेकाे दुई दिनमै फिर्ता लियाे ।

अन्य सेवा प्रदायक पनि यसपालीको दशैंमा नयाँ ग्राहकका लागि योजना ल्याउने तरखरमा नरहेको बुझिएको छ । वर्ल्डलिंक, भायनेट, सुबिसुका प्रतिनिधिले यो वर्ष त्यस्तो विशेष योजना केही नरहेको जानकारी दिएका छन् । क्लासिक टेकले पुराना ग्राहकका लागि रिचार्जमा छुट ल्याउने बताएपनि नयाँ इन्टरनेट जडानबारे याेजना ल्याएकाे छैन ।

सधैंजसो अफर ल्याउने इन्टरनेट सेवा प्रदायकले यो वर्ष किन सेवा ल्याएनन त ? इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्ट भन्छन, ‘परिस्थिति सबैभन्दा मुख्य कारण हो । कोरोनका कारण अहिलको अवस्था त्यति सहज छैन ।’

उनले अगाडि भने, ‘यो बेलामा अफर सञ्चालन गरेर ग्राहक ठूलो संख्यामा आउँदा जडानको लागि आवश्यक पर्ने पुर्वाधार पनि आवश्यक मात्रामा उपलब्ध नहुने खालको अवस्था छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४