close

शैक्षिक संस्थामा डिजिटल मार्केटिङ र ग्राफिक्स डिजाइनिङ सम्बन्धी निःशुल्क वर्कशप

टेकपाना टेकपाना

माघ १५, २०८० १८:१८

शैक्षिक संस्थामा डिजिटल मार्केटिङ र ग्राफिक्स डिजाइनिङ सम्बन्धी निःशुल्क वर्कशप

 

काठमाडौं । वर्ड अफ माउथ (WoM) मार्केटिङले काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक संस्थामा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, एसईओ तथा अन्य विषयसँग सम्बन्धित एकदिने कार्यशाला सञ्चालन गर्ने भएको छ । पछिल्लो समय बजारमा बढ्दै गएको डिजिटल मार्केटिङको मागलाई लक्षित गर्दै कम्पनीले निःशुल्क कार्यशाला आयोजना गर्न लागेको हो । 

डब्लूओएमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर क्षेत्रीले आवेदन दिने शैक्षिक संस्थामा कम्पनीले एक दिनको कार्यशाला गराउने बताए । “यो शैक्षिक संस्थामार्फत विद्यार्थीलाई केन्द्रित गरी आयोजना गर्न लागिएको वर्कशप हो,” उनले भने, “आवेदन दिने शैक्षिक संस्थामा हामी एक दिन डिजिटल मार्केटिङ, डिजिटल मार्केटिङमा एआई, ग्राफिक्स डिजाइनिङ, एसईओ र करिअरसँग सम्बन्धित अन्य विषयमा तालिम दिनेछौं ।”

कार्यशाला आयोजना गर्नका लागि डब्लूओएमले एसएसआईटी इन्स्टिच्युटसँग सहकार्य गरेको छ । वर्कशपका दौरानमा इच्छुक विद्यार्थीले इन्टर्नशिप अथवा रोजगारको अवसर पाउनेछन् । उनले भने, “हामीले यसका लागि विभिन्न १० कम्पनीसँग सहकार्य गरेका छौं । वर्कशपपछि विद्यार्थीलाई फारम भर्न लगाउँछौं । जो विद्यार्थीले सिकिसकेका छन् वा सिक्न इच्छुक छन्, उनीहरूले आफूले चाहेको कम्पनीको फारम भरेर इन्टर्नशिप वा रोजगारीका लागि आवेदन दिन सक्छन् ।” 

शैक्षिक संस्थाले यसका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । वर्कशपका लागि आवश्यक ठाउँ, इन्टरनेटको पहुँच तथा अडियो भिडिओ डिभाइस उपलब्ध गराए पुग्छ । इच्छुक शैक्षिक संस्थाले यहाँ क्लिक गरेर वा ९८२१८१२६९९ मा सम्पर्क गर्न सक्नेछन् । यो वर्कशपका लागि अन्तिम मिति भने तोकिएको छैन । काठमाडौं उपत्यकाका शिक्षण संस्थाले जहिले आह्वान गर्छन्, डब्लूओएमले त्यही बेला उक्त संस्थामा वर्कशप सञ्चालन गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८० १८:१८