close

टेलिकमद्धारा पर्वतको राम माविलाई कम्प्युटर सहयोग

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ १७:५४

टेलिकमद्धारा पर्वतको राम माविलाई कम्प्युटर सहयोग

नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका ३ पोखराचौरस्थित राम मावि स्कुललाई चार थान कम्प्युटर सहयोग गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरेको हो ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटर हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा कार्यालय प्रमुख सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसालले कम्प्युटर प्रदान गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सूचना प्रविधि क्षेत्रमा समेत टेवा पुग्ने गरी पठनपाठनमा सहजताका लागि सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्दै आएको छ ।

कम्पनीले यो वर्ष १५ थान कम्प्युटर वितरण गर्ने कार्यक्रम रहेकोमा डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसलाई ५ थान र दुर्गा माध्यमिक विद्यालयलाई २ थान तथा कपिलवस्तुको बाल माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिसकेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३