close

भ्लगिङ र टिकटक बनाउन उपयुक्त स्मार्टफोन भिभो भी २१ को रिभ्यू (भिडिओसहित)

टेकपाना टेकपाना

साउन २४, २०७८ २१:२९

भ्लगिङ र टिकटक बनाउन उपयुक्त स्मार्टफोन भिभो भी २१ को रिभ्यू (भिडिओसहित)

काठमाडौं । अहिलेको बजारमा मिड तथा बजेट रेन्ज स्मार्टफोनको कुरा आउँदा नछुट्ने नाम हो, भिभो । भिभोको एउटा स्टाइलिस फोनको बारेमा मैले रिभ्यु गरेको छु । विश्वकै पहिलो ४४ मेगापिक्सेल अप्टिकल इमेज स्टेबलाइजेसन सेल्फी क्यामेरा भएको यो फोन के साँच्चिकै सेल्फी एक्सपर्ट हो त ?

रिभ्यूमा यस विषयमा समेत चर्चा  गर्नेछौँ । मैले यो फोन हातमा पर्दा यसको मूल्य सुन्ने बित्तिकै अलिक महंगो हो कि जस्तो ठानेको थिएँ । अनि म आफैँलाई पनि यो मूल्यको सवालमा त्यति चित्त बुझाउन सक्दिनँ कि जस्तो पनि लागेको थियो ।

तर, जब मैले यो फोन खोलेर चलाउँदै गएँ, त्यसपछि भने म एक किसिमले यो फोनमै भुल्न थालेको छु । त्यसैले अहिलेसम्म आइपुग्दा यो मेरो रोजाइ मध्येको एउटा फोन भएको छ ।

बडी डिजाइन तथा लुक्स

यो फोन हेर्ने बित्तिकै आकर्षक देखिन्छ । म्याट ब्ल्याक, ग्लास फ्रन्ट र प्लास्टिक फ्रेमले बेरिएको यो फोनमा अगाडि भागमा कर्निङ गोरिल्ला ग्लासको प्रोटेक्सन दिइएको छ । यो ग्लास हलुका, बलियो र टच स्क्रिनसँग कम्प्याटिबल पनि छ ।

तौल र यसको चौडाइ दुवै बोक्न सहज हुने किसिमको छ । त्यसैले बोकेर हिँड्न गह्रौं महसुस हुँदैन । यसको कलर अप्सनको कुरा गर्दा यो फोन डस्क ब्लु, सनसेट ड्याजल र आर्किटिक ह्वाइटमा उपलब्ध छ ।

समग्र कलर अप्सनमा ‘ग्ल्यारिङ इफेक्ट’ भएको सनसेट ड्याजल तथा मिनिमल डिजाइन मन पर्छ भने डस्क ब्लु अथवा आर्किटिक मन पर्छ भने ह्वाइट कलर ठीक हुन्छ । तर नेपालमा चाहिँ डस्क ब्लु र सनसेट ड्याजल अप्सन मात्र उपलब्ध छ ।

मसँग भएको यो फोन चाहिँ ड्याजल हो । यसको पछाडि भागमा रहेको तीन क्यामेरा सहितको आयातकार मोड्युल निकै लोभलाग्दो देखिन्छ । अगाडिबाट हेर्दा माथि ४४ मेगापिक्सेलको ओआईएस भएको सेल्फी क्यामेरा देख्न सकिन्छ ।

जसको बारेमा केही बेरमा चर्चा गर्नेछु । फोनको माथि शिरानी भागमा चाहिँ न्वाइज क्यान्सिलेसन माइक दिइएको छ । त्यसैगरी दायाँतर्फ हेर्ने हो भने यहाँ भोलुम बटन अनि त्यसैको तल पावर बटन छ ।

फिंगरप्रिन्ट सेन्सर स्क्रिनभित्रै रहेकाले पछाडि अथवा साइड तर्फ त्यसका लागि कुनै सेन्सर राखिएको छैन । फोनको तल्लो भागको कुरा गर्ने हो भने यसमा अन्य स्मार्टफोनमा भन्दा केही फरक किसिमको परिवर्तन देख्न सकिन्छ ।

सुरुमा हाइब्रिड डुअल सिम ट्रे छ । । जसले एक टीबीसम्मको एक्सटर्नल माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । धेरैजसो फोनमा बायाँ तर्फ सिम ट्रे हुन्छ । तर यसमा चाहिँ तल्लो भागमा छ । सिम ट्रे पछि क्रमशः चार्जिङ पोर्ट र स्पिकर ग्रिल छ ।

तपाईंलाई यहाँनिर हेडफोन ज्याक चाहिँ कहाँ छ भन्ने लाग्न सक्छ । तर यसमा चार्जिङ पोर्टले नै हेडफोन ज्याकको समेत काम गर्छ । त्यसका लागि भिभोले भी २१ सँगै बक्समा इयरफोन र टाइप सी अडियो ज्याक पनि दिने गरेको छ ।

कनेक्टरलाई चार्जिङ पोर्टमा कनेक्ट गरी हेडफोनमा जोडेर आनन्दसँग गीत सुन्न मिल्छ । त्यति मात्र होइन, कुनै एक्सटर्नल माइक्रोफोनलाई समेत यो कनेक्टरमा जोडेर फोनमा रेकर्ड गर्न पनि सकिन्छ ।

यसो भन्दैगर्दा तपाईंलाई लाग्न सक्छ, चार्ज गरिरहँदा वायर्ड इयरफोनबाट गीत नै सुन्न पाइन्न । मैले पनि सुरुमा यस्तै सोचेको थिएँ । तर चलाउँदै जाँदा मलाई चाहिँ त्यसको जरुरत खासै महसुस भएन ।

किन भन्ने विषयमा पनि म यसको ब्याट्री लाइफको बारेमा कुरा गर्दा भन्नेछु । यो रह्यो, बडी र डिजाइनको कुरा । अब फोनसँगै उपलब्ध हुने एक्सेसरिजको बारेमा पनि चर्चा गरौं ।

एक्सेसरिज

फोनसम्बन्धी कागजात तथा म्यानुअलसँगै बक्समा तपाईंले एउटा स्टाइलिस सिम ट्रे इजेक्टर, ३३ वाट एडप्टर, टाइप सी केबल, इयरफोन, इयरफोन कनेक्टर र एउटा पारदर्शी रबरले बनेको कभर पाउनु हुनेछ ।

यहाँनिर यो वायर इयरफोनको बारेमा एउटा कुरा भन्नैपर्ने हुन्छ । साँच्चिकै कानको लागि यो सहज छ । यसलाई हामीले ल्यापटप अथवा अन्य एन्ड्रोइड स्मार्टफोनमा सहजै प्रयोग गर्न सक्छौँ । यसमा भएको इयरफोन कनेक्टरमा एक्सटर्नल माइक राखेर रेकर्ड गर्न पनि मिल्छ ।

एक्सेसरिजमा रहेको एउटा अर्को महत्वपूर्ण कुरा भनेको ३३ वाटको फ्ल्याश चार्ज २.० हो । जसले भिभो भी २१ लाई शून्यबाट ६३ प्रतिशतसम्म चार्ज गर्न केवल ३० मिनेट मात्र लाग्छ भने फुल चार्ज हुन एक घन्टा पनि लाग्दैन ।

यसमा रहेको फोनको कभर पारदर्शी भए पनि फोनको डिजाइनलाई सुहाउने किसिमको छ । समग्रमा भिभोले यो स्मार्टफोनसँगै उपलब्ध गराउने एक्सेसरिज चाहिँ मलाई ‘ए वान’ लाग्यो ।

डिस्प्ले, यूआई तथा ब्राइटनेस

अब डिस्प्लेको कुरा गरौँ । पञ्ची तथा स्मुथ ९० हर्ज रिफ्रेश रेट, एमोलेड प्यानल, एचडीआर १० प्लस सर्पोट रहेको यो फोनमा ६.४४ इन्चको डिस्प्ले राखिएको छ ।

यसमा एचडीआर १० प्लस एउटा स्टेटिक प्रविधि हो, जसले फोनमा वास्तविक संसारमा जस्तै कलर र कन्ट्रास्ट देखाउन सहयोग गर्छ । यसको अर्थ भिडिओ हेर्दा वास्तविक जीवनमा हेरेको जस्तै अनुभव गर्न सकिन्छ ।

औसत २००/३०० निट्स सामान्य लाग्ने ब्राइटनेस यसमा चाहिँ ५०० निट्सको छ । इन डोर र रातिको समयमा यो ब्राइटनेसले गज्जब अनुभव दिन्छ ।

तर डे लाइटको लागि चाहिँ यो रेन्जको फोनमा ५०० निट्सको ब्राइटनेस अलि कम हो कि भन्ने लाग्यो । किन कि कतिपय बजेट फोनमा समेत अहिले ८०० निट्सको ब्राइटनेस आउन थालिसकेको छ ।

पर्फर्मेन्स तथा स्टोरेज 

भिभोले भी २० सिरिजमा एक्स्ट्रा पावरफुल प्रोसेसरको साथमा विस्तार गर्न सकिने र्‍याम प्रविधि पनि इनेबल गरेको छ । आठ जीबी र्‍याममा दुई ओटा भेरियण्ट छन् । जसमा एउटा १२८ जीबी तथा अर्को २५६ जीबी इन्टर्नल स्टोरेज छ ।

तर नेपालमा अहिले १२८ जीबीको मात्र उपलब्ध छ । यसमा पनि तीन जीबीसम्म बढाउन मिल्ने र्‍याम भएकाले कुल ११ जीबीले पर्याप्त हुन्छ । अनि एक टीबीसम्मको मेमोरी राख्नको लागि यसमा छुट्टै स्लट पनि छ ।

यति भइसकेपछि, फोटो भिडिओ, डकुमेण्ट्स, म्युजिक अनि एपहरूको लागि स्टोरेज कम हुने चिन्ता पनि लिनु पर्दैन । प्रोसेसरको कुरा गर्नुपर्दा यसमा अक्टाकोर मिडिया टेक डाइमेन्सिटी ८०० यू रहेको छ । यसले गेम खेल्दा, म्युजिक सुन्दा, कुनै हेभी एप चलाउँदा, कन्टेन्ट स्ट्रिमिङ गर्दा स्मुथ महसुस हुन्छ ।

अपरेटिङ सिस्टम

भिभोले ल्याएको भी २० फनटच अपरेटिङ सिस्टम ११.१ एन्ड्रोइड भर्सनमा चल्छ । अब पछिका दिनहरूमा त्यसमा अपडेटहरू आउने कुराहरू त छँदै छ । यो फोनको यूआई स्मुथ र प्रयोगकर्ता मैत्री छ । तर पनि फोनलाई तलमाथि स्वाइप गर्दा एप बारको तुलनामा माथिको नोटिफिकेसन बार चाहिँ छिटो स्क्रोल हुन्छ ।

ब्याट्री लाइफ

यो फोनको एउटा आकर्षक फिचर भनेको यसको ब्याट्री लाइफ हो । हुन त यसमा ४००० एमएएच क्षमताको ब्याट्री मात्र छ । अहिले सामान्य फोनमा पनि ६००० एमएएच ब्याट्री आउने भएकाले  ब्याट्री अली कम टिक्छ कि भन्ने लाग्न सक्छ ।

तर ३३ वाट फास्ट चार्जिङ सपाेर्ट गर्ने भएकाले यो फोन  एकदम छिटाे चार्ज हुन्छ । भिभाेले याे फाेनकाे विज्ञापन गर्दा पनि ३० मिनेटमा ६३ प्रतिशत चार्ज हुन्छ भनेको छ । मैले चार्ज गर्दा लगभग एक घण्टामा यो फोन फुल चार्ज हुँदो रहेछ ।

फुल चार्ज गरेर सामान्य रुपमा चलाउँदा एक डेढ दिन मज्जाले टिक्छ । त्यसैले एयरफाेन र चार्जकाे लागि एउटै पाेर्ट भए पनि आत्तिनु पर्दैन । किन कि ३० मिनेटको चार्जले याे फाेन दिनभर चलाउन पुग्छ । त्यसैले ब्याट्री लाइफले यो फोनलाई एउटा राम्रो स्वाद दिएको छ ।

क्यामेरा 

यो फोनको मुख्य र आकर्षक फिचर भनेकै यसको क्यामरा हो । ट्रिपल रियर क्यामेरामा आयातकार माेड्युल भएकाे डिजाइनले यो फाेन आकर्षक देखिन्छ । ६४ एमपीकाे प्राइमरी क्यामेराको साथमा यसमा ओआईएस ८ एमपी म्याक्राे शुटर पनि छ ।

आउट डाेर तथा इनडाेर फाेटाे खिचेर हेर्दा मेन क्यामेरा क्वालिटी गज्जब लाग्यो । काेठा भित्र होस् अथवा बाहिर, फाेटाे एकदम क्लियर आउँदो रहेछ । अल्ट्रा वाइड एङ्गलमा खिचेकाे फाेटाे क्वालिटी पनि कुनै एङ्गलले कम लाग्दैन । 

क्यामेराकाे केसमा मैले हाइप अनुसारकाे रिजल्ट पाएँ । प्राइमरी क्यामेरामा भएकाे ओआईएस तथा ईआईएस  (अप्टिकल इमेज स्टेबलाइजेसन तथा इलेक्ट्रिक इमेज स्टेबलाइजेसन) ले फाेन यता उता हुँदापनि शटहरू क्लियर बनाउन मद्दत गर्छ ।

यहाँ सेल्फी क्यामेरा चाहिँ अझ राम्रो महसुस हुन्छ । एक त ४४ मेगापिक्सेल, त्यसमाथि स्पटलाइटको रुपमा क्यामेराको दुवै साइडमा डबल फ्ल्याश राखिएकाे छ । जसले अँध्यारोमा सेल्फी खिच्दा पनि राम्राे क्वालिटी निस्किन्छ । यसको स्क्रिनमै धेरै अप्सनहरू चाहिँ छैनन् ।

सेटिङमा गएर यसको रेजोलुसन परिवर्तन गर्नुपर्ने हुन्छ । अब कुरा गराैँ भिडिओकाे । फाेनले फोरकेसम्मकाे भिडिओ खिच्न सक्छ । यो चाहिँ मलाई एकदमै मन पर्‍यो । फुल एचडी भिडिओ खिच्दा चाहिँ एकदम स्टिडी भिडिओ आउँछ ।

भिडिओकाे सेटिङमा गएर सबै कुराहरू मिलाउन सकिन्छ । याे फोनमा रहेको ओआईएस र ईआईएसले सिनर्जी कम गरेर भिडिओलाइ स्मुथ बनाउँछ । तपाईं कतै हिँड्दै भिडियाे खिच्दै हुनुहुन्छ भने स्मुथसँगले क्याप्चर हुन्छ । भ्लगिङ् गर्न त झन गज्जब नै हुने रहेछ ।

ब्याक क्यामेरामा स्टेबलाइजर भएकाे त धेरै फाेनमा देख्नु भएको होला । तर यसमा फ्रन्ट क्यामेरामा पनि स्टेबलाइजर छ । याे फाेनकाे स्पटलाइटले भिडियाेमा पनि मज्जाले सपाेर्ट गर्छ । त्यसैले जस्ताे अँध्याराे ठाउँमा पनि सेल्फी क्यामेराबाट भिडिओ तथा फाेटा‍े खिच्न मिल्छ ।

गेमिङ

मैले यो फोनमा पब्जी इन्स्टल गरेर खेलेकाे थिएँ । फुल एचडी माेड, हाई रिजाेलुसनमा खेल्दा पनि मैले त्यस्ताे लग भएकाे पाइनँ । त्यसैले भी २१ युजर एक्सपेरियन्सकाे हिसाबले मलाई गज्जब लाग्यो । यसरी गेम खेल्दा फोनहरू एकदमै तात्ने समस्या हुन्छ ।

तर लगभग दुई तीन घण्टा पब्जी खेल्दा पनि मैले त्यस्तो खासै तातेकाे पाइनँ । अनि अर्को कुरा गेम खेल्दा अरु फाेनकाे तुलनामा ब्याट्रीले पनि यसमा निकै साथ दिन्छ ।

तर अन्तिममा यसले गेमिङ ट्रिगरहरू चाहिँ सपाेर्ट गर्दैन । त्यसैले कुनै एक्सटर्नल डिभाइस चाहिँ  गेमिङकाे लागि भनेर याे फाेनमा राखिएकाे छैन । अरु सामान्य गेमहरूकाे लागि त याे फाेन उत्तम छ ।

कसका लागि हो यो फोन ?

याे फाेनकाे मुख्य आकर्षण भनेकै सेल्फी क्यामेरा र त्यसमा भएकाे ओआईएस प्लस ईआईएस हाे । ठ्याक्कै भन्नुपर्दा युट्युवमा ट्राभल भ्लग, इनडाेर शुटिङ र थाेरै इक्युपमेन्टमा एउटा इक्विप्ड भिडिओ खिच्नकाे लागि याे पर्याप्त छ ।

त्यति मात्र नभई टिकटक बनाउँदा स्पटलाइटले धेरै हेल्प गर्छ । इनडाेरमा टिकटक बनाउँदा क्वालिटिकाे कमी देखिँदैन । अनि स्टाेरेजले र ब्याट्री लाइफले सपाेर्ट गरेकाे देख्दा चाहिँ  याे फाेन अहिलेकाे युवा पुस्ताका लागि र कन्टेन्ट क्रियटरकाे लागि एउटा फुल प्याकेज हो जस्ताे लाग्छ ।

कुनैपनि फाेनमा नयाँ फिचर थपेपछि अरु कुरामा कम्प्राेमाइज हुन्छ हुन्छ । यसमा मलाई दुई ओटा कुरा भइदिएकाे भए राम्राे हुन्थ्याे जस्ताे लाग्याे । एउटा ५०० निट्सकाे ठाउँमा ८०० निट्स भइदिएको भए आउटडोरमा राम्राे साथ दिन्थ्याे ।

अर्काे भनेकाे स्टेरियाे स्पिकर नभएकाेले मलाई यसकाे साउण्ड अलि सानाे हाे कि जस्ताे लाग्याे । र ब्याट्री लाइफ पनि ४००० एमएएमकाे ठाउँमा ६००० एमएएच भइदिएकाे भए अझ राम्रो हुन सक्थ्याे । तर त्यस बाहेक यो फाेन एउटा उचित विकल्प हो ।

अब यसको प्राइस रेन्जको कुरा गरौं । ४९ हजार ९९९ रुपैयाँ मूल्य रहेको यो फोन लिने कि नलिने भन्ने कन्फ्युजन छ भने यसरी साेच्नुस्, तपाईंले फाेन केका लागि किन्दै हुनुहुन्छ ?

यदि क्वलिटी भिडिओ खिच्नका लागि र भ्लगिङकाे लागि लगानी गर्न खाेज्दै हुनुहुन्छ अथवा टिकटकमा क्वलिटी भिडिओ राख्न खाेज्दै हुनुहुन्छ भने एउटा प्राेफेसनल शुट, पर्याप्त स्टाेरेज र टिकाउ ब्याट्रीकाे लागि चाहिने लगभग सबै कुरा याे फाेनमा छन् । तर अब तपाईंको प्राथमिकतामा क्यामेरा, ब्याट्री र स्टाेरेज खासै पर्दैन भने अरु अप्सनहरू याे भन्दा कम मूल्यमा पनि पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३