close

जहाजमा हुने 'ब्ल्याक बक्स' के हो, अनि यसले कसरी गर्छ काम ?

टेकपाना टेकपाना

माघ २, २०७९ १८:२४

जहाजमा हुने 'ब्ल्याक बक्स' के हो, अनि यसले कसरी गर्छ काम ?

काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । यसका माध्यमबाट विमान दुर्घटनाको अनुसन्धान गर्न सहज हुने बताइएकाे छ ।

आखिर विमानमा हुने 'ब्ल्याक बक्स' के हो त ? विमान दुर्घटनामा पर्दा यसको खोजी गर्न किन आवश्यक हुन्छ ? जतिसुकै ठूलो विमान दुर्घटनामा 'ब्ल्याक बक्स'मा किन केही क्षति हुँदैन ?

आज हामी 'ब्ल्याक बक्स'सँग सम्बन्धित यी विषयका बारेमा जानकारी दिन्छौं ।

विमानमा रहेको ब्ल्याक बक्स त्यस्तो उपकरण हो, जसले फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डिभाइस भण्डारण गर्छ । ककपिट भ्वाइस रेकर्डरले चालक दलका सदस्य र एयर ट्राफिक कन्ट्रोलरबीच भएको कुराकानीलाई रेकर्ड गरेको हुन्छ ।

दुर्घटनापछि सोही ब्ल्याक बक्समा सुरक्षित ककपिट भ्वाइस रेकर्डरमा रहेको एयर ट्राफिक कन्ट्रोल र चालक दलबीचको कुराकानी (सीभीआर-ककपिट भ्वाइस रेकर्डर)का माध्यमले विमान दुर्घटना हुनुको कारण पत्ता लगाउन सकिन्छ । त्यस्तै ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर पनि हुन्छ ।

यसले विमानका हरेक गतिविधि जस्तै विमानको गति, विमान उडिरहेको उचाई, विमान कति डिग्री कोणमा ढल्किएको छ, कति डिग्री कोणमा माथि गएको वा तल आएको छ, इन्धन कति बाँकी छ, इन्धनको तापक्रम कति छ, इन्जिन कस्तो अवस्थामा छ, इन्जिनको तापक्रम कति छ, विमान बाहिर र भित्र तापक्रम कति छ, वायु कताबाट लागेको छ, वायुको वेग कति छ लगायतका विवरण भण्डारण गरेकाे हुन्छ ।

त्यस्तै विमानमा कति गुरुत्वाकर्षण बल लागेको छ, विमानमा वायु चाप कति छ, प्रोपेलर कति आरपीएम (रिभोलुसन पर मिनेट)मा घुमिरहेको थियो, ल्यान्डिङ गेरको अवस्था कस्तो थियो जस्ता महत्त्वपूर्ण विवरण पनि फ्लाइट डेटा रेकर्डरले भण्डारण गरेको हुन्छ ।

ब्ल्याकबक्स सामान्यतः विमानको पुच्छर खण्डमा राखिएको हुन्छ । किनभने दुर्घटना पर्दा पछाडिको भाग नष्ट हुने सम्भावना कम हुन्छ ।

दुवै डिभाइस बलियो तथा ताप प्रतिरोधी सामग्रीद्वारा बनाइएको हुन्छ, जुन दुर्घटनाका चरम अवस्थाको सामना गर्न डिजाइन गरिएको हुन्छ ।

केहिगरी यो बक्स पानीमा पर्‍यो भने त्यसमा पनि तैरिन सक्छ । र, सबैभन्दा महत्त्वपूर्ण ब्ल्याक बक्सको रङ्ग कालो नभई सुन्तला रङ्गको हुन्छ, जसले गर्दा जस्तोसुकै दुर्घटना वा विस्फोटमा पनि उक्त डिभाइस पहिचान गर्न सकिन्छ ।

ब्ल्याक बक्सको प्रयोगले उड्डयनमा दुर्घटना र घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउँछ । यसले दुर्घटनाको हुनुको कारणबारे महत्त्वपूर्ण जानकारी दिन्छ । यस्तै जानकारीलाई मध्यनजर गर्दै त्यसमा भएका कमजोरी सच्याइन्छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०७९ १९:१९